बिहे गर्न लगेर प्रेमिकाको घाँटी रेटेपछि...

 पुस ३, २०७५ मंगलबार १८:४१:२९ | प्रकाश धौलाकोटी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका–१, मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई मंगलबार दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो । भण्डारीले प्रेमिका छथर गाउँपालिका–२, कि ३० वर्षीया नमुना बोहराको घाँटी रेटेर फरार भएका थिए । बेहोस अवस्थामा फेला परेकी प्रेमिका नमुनालाई सोमबार स्थानीयले फेला पारेर उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएका छन् ।

प्रहरीका अनुसार बोहरा र भण्डारी आइतबार राति डङडङेस्थित कमल शेर्पाको घरमा बास बसेका थिए । बिहान उठेर मार्गापोखरी धाममा दर्शन गर्न गएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु एकआपसको सल्लाहमै विवाह गर्ने गरी गएको प्रहरीको भनाइ छ ।

घाँटी रेटेर बेहोस् रहेकी महिलासँगै युवतीको झोला, युवकको चप्पल, र झोलामा सिन्दुर पोते समेत फेला परेको थियो । प्रेमी भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा राखिएको प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले बताउनुभयो ।

प्रेमी भण्डारी विवाहित छन् भने महिला अविवाहित रहेको खुलेको छ । घाँटीमा गम्भीर चोट लागेकी बोहराको अहिले उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया