उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?
मंसिर ७, २०८१ शुक्रबार
डोटी – पुस्तौँदेखि हलिया बस्दै आएका सायल गाउँपालिका वडा नम्बर १, छपाली बिनेवाडाका ५६ वर्षीय जंगे भुल २०६५ सालमा हलिया मुक्तिको घोषणा भएपछि खुसी हुनुभयो ।
उहाँले सरकारबाट केही राहत पाउने आश गर्नुभएको थियो, रोजगारीको पनि आश गर्नुभएको थियो । तर उहाँका लागि त्यो मुक्ति उहाँलाई अहिले ‘कागलाई बेल पाग्यो हर्ष न विस्मात’ जस्तै भएको छ । पुस्तौँदेखि हलो जोत्दासमेत उहाँको ऋण मिनाहा नभएपछि उहाँले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकविरुद्ध उजुरीसमेत गर्नुभएको थियो ।
२०६५ साल भाद्र २१ गते सरकारले ऋण मिनाहासहितको हलिया मुक्तिको घोषणा गर्दा उहाँले मालिकको ऋण तिर्नु परेन । तर, उहाँलाई ऋण तिर्न दबाब भने पछिसम्म पनि आयो ।
पुस्तौँदेखि भूमिहीन जंगेको परिवारले यस पटक मुक्त हलिया पुनस्र्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै एक लाख २५ हजार सहयोग पाउने भएका छन् तर जंगेजस्तै भूमिहीन मुक्त हलियाहरुले भने जग्गा खरिद र घर निर्माणका लागि भन्दै पाँच लाख २५ हजार रुपैयाँ पाउँदैछन् ।
‘गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कस्को हो भनेर सोधे, मैले मेरो हो भनेको हूँ’ जंगे भन्नुहुन्छ, ‘मैले आफू बस्ने भएको हुँदा मेरो हो भनेँ तर उनीहरुले मेरै घर सोचेर ‘घ’ वर्गको परिचय पत्र बनाएछन् ।’ आफूलाई धेरै कुरा जानकारी नभएको र आफ्नै नाममा घर जग्गा छ कि छैन भनी कसैले नसोधेको उहाँ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘घरजग्गा दुवै भएका व्यक्तिहरुले भूमिहीन भन्दै ‘क’ वर्गको परिचय पत्र पाएको छ भन्ने सुनेको छु, मेरो त बोलिदिने कोही भएन, अनि यसो भयो ।’ उहाँ एउटै घरमा दुई–तीन जनाले समेत ‘क’ वर्गको परिचय पत्र पाएको आफूले सुनेको बताउनुहुन्छ ।
जंगेकी जीवनसाथी हिरा भुलको निधन भएको झण्डै १२ वर्ष भयो । उहाँका जेठा छोरा ईन्द्र तीन वर्षदेखि सम्पर्कमा छैनन् । मानसिक सन्तुलन ठीक नभएका उनी कता छन् वा छन् कि छैनन्, यसबारेमा जंगेलाई अहिलेसम्म पनि जानकारी छैन । २२ वर्षीया छोरी भानुमति आँखा देख्दिनन् । आँखा नदेख्ने भएकै कारण उनको बिहे पनि हुन सकेको छैन । भानुमति मात्रै होइन। जंगेका कान्छा छोरा १८ वर्षीय भक्त भुल पनि आँखा देख्दैनन् ।
जन्मजात अपाङ्गता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जंगेको काँधमा छ । आफू र छोराछोरीको छाक टार्नका लागि जंगे अचेल गाउँमा साँझबिहान पानी खोल्ने बन्द गर्ने काम गर्नुहुन्छ । करिब एक सय ५० दलित परिवार रहेको बिनेवाडा गाउँको खानेपानी खोलेबापत उहाँले वर्षको दुई पटक अन्न पाउनुहुन्छ । ‘जेठ र कात्तिकमा गरी दुई पटक प्रति परिवारले तीन माना अन्न दिन्छन्’, स्थानीय धनबहादुर नेपालीले भन्नुभयो, ‘यसैबाट उनको गुजरा चलेको छ ।’
भुललाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपाली बताउनुहुन्छ । जंगेका भाइ ४९ वर्षीय लाले पनि अविवाहित हुनुहुन्छ । उहाँको पालनपोषणको जिम्मा पनि जंगेकै भागमा छ । ‘घ’ वर्गको परिचयपत्रका कारण आफू समस्यामा परेको भन्दै जंगे भुल दिनहुँ निरास हुने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।