दाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो, ५ जनाको सनाखत

 पुष ७, २०७५ शनिबार ६:५०:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।  घाइतेलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउने मध्ये ५ जनाको पहिचान खुलेको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी,  शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय जी एम रहेका छन् ।

ज्यान गुमाउने र घाइते भएका सबै  घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी  हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरु सल्यानको मूलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटना भएको हो ।

दुर्घटनाको कारण

राप्ति राजमार्ग अन्तर्गत दाङको तुलसीपुर बजारबाट करिब १० किलोमिटर उत्तरतर्फपर्छ राम्री गाउँ । यो सडक सल्यानको कपुरकोटबाट दाङको तुलसीपुर आउँदा ओरालो पर्छ र थुप्रै साघुँरा घुम्ती पनि छन् ।  

शुक्रबार बस सडकबाट झण्डै सात सय मिटर तल खसेको र बस टुक्राटुक्रा भएको छ । दुर्घटनाको कारण खुलिनसेको भए पनि प्रहरीले घुम्ती भएकाले अगाडिको दृश्य प्रष्ट नदेखिने हुँदा दुर्घटना भएको हुनसक्ने बताएको छ ।

डीएसपी शाहीका अनुसार घटनाको प्रकृति हेर्दा तीव्र गतिमा चलेको बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्छ ।  गाडी सडकबाट खसेको ठाउँ नजिकै खाल्डो रहेको र गाडी तीव्र गतिमा आएकाले कन्ट्रोल नभएपछि दुर्घटना भएको हुनसक्छ । 
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया