रोचक कुराकानी – नारायण वाग्लेले खगेन्द्र संग्रौलालाई किन ‘साँढे’ भने ?

 पुस ८, २०७५ आइतबार ८:४८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ ।  शनिबार मनिषा कोइरालाको आत्मकथा सार्वजनिकदेखि ठाडै ठट्टासम्मका रमाइला सत्र आयोजना भए ।  

त्यस्तै एउटा विचारोत्तेजक सत्र थियो ‘सम्पादक र स्तम्भकार’ ।  सत्रमा सहभागी थिए सम्पादक नारायण वाग्ले अनि स्तम्भकार खगेन्द्र संग्रौला । अनौपचारिक शैलीमै एकअर्काको अन्तरकुन्तर खोतल्दै नेपालको राजनीतिक परिवेश र पत्रकारिता र साहित्यको समेत चर्चा गर्न भ्याए वाग्ले र संग्रौला । बेलाबेलामा रमाइला किस्सा त छन् नै । प्रस्तुत छ नारायण वाग्लेखगेन्द्र संग्रौलाबीच नेपाल साहित्य महोत्सवमा भएको रोचक कुराकानी :

संग्रौला – मेरो पहिचानका तीनवटा बुँदा छन् । निख्खर सेतो कपाल, ढ्याके चश्मा र त्यो रातो झोला । त्यो रातो झोला मजस्तै  खुइलियो र थन्काइयो । बिहानैदेखि दिनभरी हामी दुवैलाई सोधियो, तिमीहरुमध्ये कसले कसलाई प्रश्न सोध्ने हो ? हामीमध्ये कसले कसलाई प्रश्न सोध्ने र कसले उत्तर दिने भन्ने ठेगान छैन । हामी दुवै अन्यौलमा छौँ । त्यसै पनि हामी औपचारिक मान्छे होइनौँ । संरचनामा बाँधिएको, नियमको फ्रेमभित्र बस्ने मान्छे होइनौँ हामी । मैले कान्तिपुरका तीनजना सम्पादकलाई झेलेँ । युवराज घिमिरे, सुधिर शर्मा र नारायण वाग्ले । 

वाग्ले – मलाई अलि झेल्नुभयो । खगेन्द्र दाइ अलि बदमास मान्छे नै हो । बदमास कस्तो भने, मान्छेको अगाडि परेर च्याप्प समात्नुहुन्छ, फुर्क्याउनुहुन्छ अनि पुच्छर निमोठ्नुहुन्छ । खगेन्द्र दाइ तपाईँ पहिलेदेखि नै यस्तै बदमास होला है । म उहाँलाई पढेरै हुर्किएँ । त्यसपछि उहाँ स्तम्भकार हुनुभयो । स्तम्भकार पनि सजिलै हुनुभाको होइन । त्यसको पनि एउटा दुःख र इतिहास त छँदै छ । उहाँलाई भेट्दाखेरी व्यक्ति र त्यो लेखक एउटै नलाग्ने । मान्छे त्यस्तो लेख्नेचाहिँ प्रचण्ड, कहाँबाट आउँछ त्यो । हामी लेखक पत्रकारका रुपमा भेट भए पनि हाँसो ठट्टा र रमाइलो नै गरिरहेका हुन्छौँ । धेरैले सोच्नुहुन्छ होला यिनीहरु भेट्दा त गम्भीर कुरा गर्छन् होलान् । तपाईँ त्यस्तो किन लेख्नुहुन्न जुन हामी वार्ता गर्छौँ । तपाई लेख्नेबेला किन अर्कै खगेन्द्र संग्रौला बन्नुहुन्छ ।

संग्रौला – यो अखबारी लेखनमा प्रवेश गरेपछि मलाई सबैभन्दा बढी सोधिएको प्रश्न यही हो । मैले यो प्रश्नको जवाफ न त प्रश्न सोध्नेलाई चित्तबुझ्ने गरी दिन सकेँ नत आफ्नो जवाफबाट आफैलाई चित्त बुझ्यो । हरेक मान्छेका जीवनमा विरोधाभाषहरु हुन्छन् । प्रकृतिबाट संस्कृतिमा प्रवेश गरिसकेपछि जीवनमा ढोंग सुरु भयो । मान्छेका दुइटा रुप भए । म जन्मेको त नाङ्गै हो, यो लुगा त कृत्रिम हो । त्यसमा संहिता र अनुशासनका केही आवरणहरु छन् । त्यसैले हरेक व्यक्तिका विभिन्न रुपहरु हुन्छन् । ती मेरा दुइटा रुप हुन् । 

साहित्य लेखिरहेका बेलामा म लालित्यपूर्ण भाषाको प्रयोग गर्छु, म बिम्ब, प्रतीक, रुपक प्रयोग गर्छु । अनि मलाई शासन गर्ने मठाधीशहरु के भन्छन्, तिमीले साहित्य लेख्नु राम्रो तर अखबारमा नलेख । किनभने मेरो अखबारी लेखनबाट बज्र कहाँ पर्छ भन्ने तिनीहरुलाई थाहा छ । तिनलाई मेरो साहित्य चाहिँ मन पर्यो, अखबारी लेखन मन परेन । तर साहित्यको लेखन र अखबारी लेखनमा तात्विक रुपमा मेरो जीवन जगतसम्बन्धी मेरो दृष्टिकोणमा, समाजसँगको मेरो सम्बन्धमा, बाँच्नुको अभिप्रायमा खासै फरक छैन ।

मानिसहरु मलाई अत्यन्तै वीर सुरवीर ठान्छन् । तर म सुरवीर होइन । म पनि तपाईँहरुजस्तै सामान्य मान्छे हो । तर मेरा केही अभिष्टहरु छन्, मेरा केही प्रतिबद्धताहरु छन्, समाजमा अन्याय देखेपछि अथवा आफूले काँधमा बोकेर सत्तामा चढाएका मान्छे, मान्छेमान्छेजस्तो चढाइयो तर सत्तामा चढेपछि सुँगुरजस्तो देखियो । त्यस्तो देखेपछि मेरो मनमा आक्रोश र आवेग उत्पन्न हुन्छ । त्यसलाई नारायणले भनेजस्तो भाषामा लेख्ने हो । अखबारी लेखन भनेको सडकको गर्जन हो । साहित्य मैले एकान्तमा लेख्ने कुरा हो ।

वाग्ले – सडकको गर्जन हो तर सडकछाप होइन ।

संग्रौला – सडकछाप आफै नराम्रो कुरा होइन । मान्छेले प्रयत्नद्वारा परिपाटी, संस्कृति परिर्वतन गरेर यो जीवनलाई योभन्दा राम्रो बनाउन सकिन्छ भन्ने जसको अभिप्राय छ, त्यसले शब्दको पनि प्रयोग गर्छ । सडकछाप पनि हुन्छ । बोस(नारायण वाग्ले) ले मलाई सडकछाप नै भने पनि मेरो कुनै आपत्ति हुनेछैन । अब म सोधौँ, अब मेरो पालो । तीनवटा तत्व छन् । नेपथ्यमा प्रकाशक छन् त्यो साहु हो । बीचमा सम्पादक छ । सम्पादकको अगाडि स्तम्भकार वा लेखक वा पत्रकार कोही छ । नेपथ्यमा रहेको प्रकाशकले  लगानी गर्छ । लगानीको अभिप्राय लाभ नै हो । 

यो दुनियाँको कल्याण गरुँ भनेर कुनै पनि प्रकाशकले प्रकाशन गृह चलाउँदैन । कमाउनकै लागि चलाउने हो । सम्पादक बीचमा हुन्छ । प्रकाशकका आफ्नै स्वार्थहरु हुन्छन् । सबैभन्दा अप्ठ्यारो ठाउँमा सम्पादक बसेको हुन्छ । नारायणसँग मेरो प्रश्न के हो भने तपाईँ आफ्नो सम्पादकीय निर्णयमा कति स्वतन्त्र र स्वायत्त हुनुहुन्छ । यदि यहाँ किशोर नेपाल भएको भए एक प्रतिशत पनि स्वायत्त छैन भन्थे । 

वाग्ले – धेरै राम्रो प्रश्न । तपाईँले प्रकाशक वा प्रकाशन गृहलाई नेपथ्य भन्नुभयो । नेपथ्य भन्नेचाहिँ हुँदैन । प्रकाशन गृहमा कसले लगानी गरेको छ, उसले मिडियाबाहेक अन्त कतै लगानी गरेको छ कि छैन वा उसको व्यावसायिक स्वार्थ छ कि छैन भन्ने कुराले धेरै प्रभाव पारेको हुन्छ । त्यसकारण पत्रिका विशेषले पाठकको विश्वास त्यसै जितेको हुँदैन । त्यसको लामो इतिहास र कालखण्डमा के गर्यो भन्ने कुराले नै पाठकको मन जित्ने हो । 

अर्को कुरा सम्पादकले प्रकाशकको तर्फबाट जिम्मेवारी लिएको हुन्छ । प्रकाशकको तर्फबाट पाठकहरुसँग प्रतिक्रिया गर्न सम्पादक आउँछ । त्यसैले प्रकाशक र सम्पादकबीचमा एउटा विश्वासको वातावरण हुनुपर्छ । भएन भने छोड्ने हो । मैले दुइपटक राजीनामा दिएँ । एकपटक त सम्पादकसँगको सम्बन्धका बारेमा प्रकाशकले ‘छोड्न मिल्ने भएको भए मैले नै छोड्थेँ’ भनेपछि मैले नै छोड्नुपर्यो नि । जुन दिनसम्म विश्वासको वातावरण कायम हुन्छ तबसम्म न्यूजरुम र पाठकसँगको सम्बन्ध सम्पादकले नै कायम राखेको हुन्छ । म कति स्वतन्त्र छु भन्ने कुरामा पाठकको  अभिरुची, विज्ञापनदाता तथा पत्रिकाको सर्कुलेसन तथा लोकप्रिय भैराख्ने भन्ने कुराले चाहिँ अलिकति सम्झौता गर्नुपर्छ । म प्रकाशकबाट कति स्वतन्त्र र स्वायत्त छु भन्ने प्रश्नमा चाहिँ  यदि म काम गरिराखेकै छु भने मैले त्यसलाई आनन्द नै मानिरहेको छु । यसले सम्पादक र प्रकाशकबीचको सम्बन्ध व्यावसयिक नै छ भन्ने प्रष्ट पार्दछ । 

संग्रौला – नारायणजी अत्यन्तै रोमान्टिक देखिनुहुन्छ, रसिक हुनुहुन्छ । हरेक मानिसको  जीवनमा गरिने तर भन्न  नहुने केही कर्महरु हुन्छन् । तपाईँका प्रेम कतिवटा भए ?

वाग्ले – तपाईँले आत्मकथा लेख्दै हुनुहुन्छ ?

संग्रौला – मेरो त अर्कैले लेखिराखेको छ ।

वाग्ले – (हाँसो) आफ्नो कथा अर्कैलाई लेख्न लगाउनुभयो लेखक भएर पनि ? मैले कुनै दिन लेखे भनेँ, अलि उमेर जाओस् न है ।

संग्रौला – सबैले त्यसै भन्छन् । कृष्णचन्द्र सिंह भन्ने नामी लेखक हुनुहुन्थ्यो, उहाँलाई एक पटक सोधियो, ‘तपाईँका यस्ता सम्बन्धहरु कति भए ?’ उहाँको जवाफ गज्जब थियो, ‘म पनि अरु मनिसजस्तै भएकाले मेरा पनि अरुकै जस्तै केही कथाहरु भए होलान् ।’ यो नारायणको पनि जवाफ हो । 

नारायणले मलाई कठोर भन्यो, तर कुनैबेला उसले मलाई ‘साँढे’ भनेको छ । साँढे भन्नेबित्तिकै हिजोको असनको साँढे भन्ने बुझिन्छ । साँढे भन्नेबित्तकै एउटा बिम्ब आउँछ– छाडा, अराजक चौरस्तामा मैथुन कर्म गर्ने । सम्पादकले स्तम्भकारलाई साँढे भन्यो । यो के भन्या हो ?

वाग्ले – तपाईँ भाको भर भन्या नि । साँढे भाको भर भन्या नि । माघ १९ पछि सेनाले पत्रिकामै अड्डा जमाएर बस्यो । सानो ब्यारेकजस्तै भयो हाम्रो अफिस पनि । सैनिकले सेन्सरसिप गर्ने भएपछि त सम्पादक केवल निमित्त मात्रै हुने भयो । सैनिक गएपछि पनि उनीहरुले भने, ‘हामीलाई जसरी ‘टोलरेट’ गर्नुभएको छ त्यसलाई कायम राख्नुहोस् नत्र फेरि हामी फर्किनुपर्छ ।’ हामी एउटा संकुचित अवस्थामा थियौँ । त्यस्तो परिस्थितिमा हाम्रो सिद्धान्त नै त्यो स्पेसलाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै लैजाने थियो ।

त्यतिखेरको स्तम्भकार खगेन्द्र संग्रौला । उहाँको आर्टिकल यसरी आउँछ कि, सम्पादकको त जागिरै खाइँदिउँ भन्ने टाइपका । त्यही भएर मैले कठोर भनेको । यस्तो स्तम्भकार पनि झेल्न पर्छ । सोझै सम्पादकको जागिर खाने किसिमको लेखेर पठाउनुभयो । त्यसलाई मैले रोकेँ । त्यसपछि उहाँले खबर पठाउनुभयो, ‘मेरो लेख छाप्न नसक्ने सम्पादक त्यहाँ बसेर पत्रिका के चलाउँछ । त्यो झोलीतुम्बा बोकेर देवघाट गए हुन्छ ।’

स्तम्भकारलाई सम्पादकमाथिको दबाब थाहै हुँदैन । किनभने उहाँ समाचार कक्षमा पनि हुनुहुन्न । उहाँ कोठामा बसेरै पूरै फ्रीडम प्रयोग गर्नुहुन्छ । त्यसकारण एउटा स्तम्भकारको फ्रीडम र सम्पादकको फ्रीडम एकदमै फरक हो भन्ने मलाई लाग्छ । त्यतिबेला मैले स्पेस बढाउन चाहेकै हो ।  देशमै कू भाको बेला उहाँको एउटा आर्टिकलमाथि पनि कू भाको हो । त्यसपछि भने उहाँको लेखमा केही शब्द चलाएरै बिस्तारै हाल्दै गयौँ । त्यसपछि कार्टुनिस्ट वात्सायन(दुर्गा बराल) ले कस्तो कार्टुन बनाउने  भन्ने कुरा खगेन्द्र संग्रौलाको लेख कुन हदसम्म लेखिँदैछ, त्यो हेरेर म बनाउन थालेँ भन्नुभयो । त्यसकारण खगेन्द्र संग्रौलालाई साँढे भनेको हो । उहाँलाई अगाडि सारेर भए पनि हामीलाई घाँस मडाउनु थियो ।

संग्रौला – प्रत्येक सम्पादकले हातमा एउटा कैँची लिएर बसेको हुन्छ । सम्पादन भनेको के ? सम्पादन भनेको कैँची कटान हो कि, परिमार्जन हो कि ? उहाँ सम्पादक भएको बेला कतिपय अवस्थामा मेरो शीर्षक नै परिवर्तन भयो । म पूर्वको झर्रो भाषा बोल्छु । नेपाली भाषामा क्षेत्रीय विविधता छ । मेरो झर्रो पूर्वेली भाषा उसले बुझेन भने आफ्नो ढंगबाट अर्थ लगाउँछ र कैँची चलाउँछ । मैले एउटा गोपीक्याँस भन्ने शब्द बनाएको छु, यो भनेको सर्वनाश हो । ब्रोले त बुढो ठिस भयो भन्ठानेर गोपीनाथ बनाइदिएछन् ।

वाग्ले – खगेन्द्र दाइले कैँचीलाई यति रोमान्टिसाइज गरिदिनुभयो कि हाम्रो पत्रिकाको  लोगो पनि कैँची राख्नुपर्छ कि क्या हो ? कैँची लेख हेरी चल्छ । कुनै लेखलाई पूरै काटेर पुनर्संरचना गर्नुपर्छ । कुनैलाई अलिअलि काँटछाँट गरे पनि पुग्छ । कसैलाई केही काँटछाँट गर्नै पर्दैन । खगेन्द्र दाइको लेखलाई प्रूफ नै नहेरी हालिदिए नि हुन्छ । तर उहाँका केही शब्दहरु यस्ता हुन्छन् कि कैँची चलाउनै पर्छ । उहाँ आठराईमा जन्मेर तनहुँ लमजुङमा आएर पढाएकाले पनि दुइटा भाषाको मेलबाट धेरैले बुझ्ने भाष्य बनाउनुभयो ।

उहाँको भाषा आम नेपालीले बुझ्ने खालकै छ । उहाँ साहित्यकार र राजनीतिक टिप्पणीकार भएकाले पनि बेलाबेलामा तथ्यहरुलाई आफूअनुकूल बनाएर लेखिदिनुहुन्छ । त्यस्तोबेला हामी सम्पादकले पनि कैँची  चलाउनुपर्छ । उहाँका कुरा भए पनि माध्यम हाम्रो भएकाले हामीले कैँची चलाउनै पर्छ । गोपीक्याँस गोपीनाथ भएको चाहिँ प्रूफ मिस्टेक नै हो । 

संग्रौला – संसारका अन्य देशहरुमा सम्पादकीय कसरी लेखिन्छ मलाई ज्ञान छैन तर नेपालको कुरा गर्ने हो भने सम्पादकीय तमसुक लखेजस्तो देखिन्छ । सम्पादकले अल्पविराम र पूर्णविराममा कन्जुस्याईँ गर्छ । तमसुक लिखितम धनीका नामबाट सुरु भएर एकैचोटी शुभममा सकिएजस्तै हुन्छन् हाम्रा सम्पादकीय । सम्पादकीय  लेखिरहेका बेलामा सम्पादकले जति नबुझिने भयो  त्यति राम्रो भन्ने ठान्छन् होला । तर नारायणजीले पछिल्लो पटक सम्पादकीयमा क्रान्ति गर्नुभयो । निजात्मक निबन्धजस्तो । एउटै शब्दको वाक्य । धेरै सम्पादकहरु उहाँको शैली देखेर रिसाए रे । सम्पादकीय लेख्ने यसको ढंगै छैन भन्ने पनि सुनियो । मैले उहाँको तारिफ गरेर ट्वीट पनि गरेँ । मसँग पनि धेरै मान्छे रिसाए ।

वाग्ले – ट्विटरमा त तपाईँसग धेरै मान्छे रिसाउँछन् । 

संग्रौला – ट्विटरमा मात्रै होइन, जिन्दगीमै धेरै मान्छे रिसाउँछन् । स्वार्थ विभाजित समाजमा जिएपछि तपाईँले बोलेको प्रत्येक वाक्य भूइँमा खस्नेबित्तिकै केहीलाई प्रिय लाग्छ केहीलाई अप्रिय । त्यसले कसैको स्वार्थलाई बोक्छ त कसैको स्वार्थलाई ठोक्छ । एकपटक विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभयो, ‘जसको आलोचना हुँदैन, त्यो जिउँदो मान्छे होइन । 

वाग्ले – त्यसोभए हामी जिउँदो हुन पनि आलोचनाचाहिँ निम्त्याइरहनु पर्यो । 

संग्रौला – तपाईँले निम्त्याउनै पर्दैन, तपाईँको वचन खस्नेबित्तिकै कोही तपाईँलाई ठोक्न खुट्टा उचालिराखेका हुन्छन् । कहिलेकाहीँ प्रायोजित पाठकपत्र पनि लेखिन्छ भनिन्छ ।

वाग्ले – अब सम्पादकीयलाई यहीँ थाँती राखेर पाठकपत्रका बारेमा बोल्नुपर्ने भयो । खगेन्द्र दाइको एकपटक पाठकसँग ठूलो द्वन्द्व पर्यो त्यो पनि म सम्पादक भएको बेला । मैले उहाँको दुइटा मात्रै स्तम्भ रोकेको हूँ । एउटाचाहिँ माघ १९ लगत्तै, अर्कोचाहिँ राजा ज्ञानेन्द्रले नारायणहिटी छोडेपछि ।

त्यतिबेला उहाँले कडै लेख्ने । त्यसमा एकजना भक्तपुरका पाठकले यस्तो शानदार पाठकपत्र लेखेकी खगेन्द्र दाइको लेखलाई उत्तिकै शक्तिशाली भाषामा चुनौती दिए । हामीले लेखक पाठकलाई भिडाउनै खोज्यौँ । हामीलाई जति सशक्त रुपमा पाठक आए, त्यति नै राम्रो । त्यसलै हामीले त्यो पाठकपत्र छाप्यौँ । पाठकपत्र पढेपछि उहाँलाई त्यो पाठकसँग जंग चलेछ । त्यो पाठकपत्रपछि उहाँले त्यसमाथि अर्को पाठकपत्र लेख्नुभयो । उहाँले त्यो पाठकपत्रलाई नक्कली पनि हुनसक्छ भन्नुभयो । यो नक्कली पाठकपत्र छापेर स्तम्भ लेख्न छोड भन्न  खोजेको हो समेत भन्नुभयो । त्यसपछि मैले उहाँसग झगडा  गर्नै  परेन, पाठकहरुले नै गरे ।

संग्रौला – एक  समय थियो सबैले मेरो प्रशंसा नै गरिदिए हुन्थ्योजस्तो लाग्थ्यो । मलाई टिप्पणी, आलोचना, कटाक्ष मन पर्दैन थियो । अब त धेरै बुढो भएँ । जीवनलाई अलिकति बुझेँजस्तो लाग्छ । एकपटक फोटोपत्रकार चन्द्रशेखर कार्कीले मेरो लेख राम्रो लाग्ने भन्दै दुइटा काम नगर्न सुझाव दिए, एउटा ब्यूटी कन्टेस्टका सुन्दरीहरुको विरोध नगर्ने, अर्को पाठकपत्रको जवाफ नलेख्ने । मैले कान समातेँ । त्यसउप्रान्त पाठकपत्रको जवाफमा कहिल्यै पत्र लेखिनँ । मेरो दुइटा लेख छापिएन । एउटा  माघ १९ पछि,  एउटा राजा ज्ञानेन्द्रले  दरबार  छोडेपछि ।  राजा ज्ञानेन्द्रले  सिंहासन छोडेपछि उनको आलोचना गरेर लेखेको मेरो  लेखमा चाहिँ नारायणले बोसको चरित्र देखाएजस्तो छ ।

वाग्ले – मैले त्यसमा एउटा जिम्मेवार सम्पादकको चरित्र निभाएको हूँ । कुनै पनि स्तम्भ रोक्दा सम्पादकलाई चोट  नै पुग्छ । त्यो पनि खगेन्द्र दाइको । बुधबार पाठकहरुले स्तम्भ किन आएन भनेर त सोध्छन् नै । त्यसैले कुनै पनि  स्तम्भ त्यसै रोकिँदैन । उहाँले लेखमा राजा ज्ञानेन्द्रले दरबार छोड्नुअघि गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले  गरेको उपद्रोको पनि अलिअलि प्रशंसा गर्नुभएको थियो । त्यसबाहेक ज्ञानेन्द्रको बहिर्गमनका बारेमा यसरी लेख्नुभयो कि त्यसबेला त्यो लेख नछापे नि हुन्छजस्तो लाग्यो । 

संग्रौला – अच्छा, फेरि प्रेमका कुरा गरौँ । मलाई प्रायः सोध्ने गरिन्थ्यो, नारायण वाग्ले सम्पादक र मान्छेमा कुन राम्रो । मलाई त सम्पादकभन्दा मान्छे नै राम्रो लाग्छ । कहिलेकाहीँ लेख्दा शब्द चिप्लिन्छ । आफ्नो अभिव्यक्ति ठिकसँग गर्न सकिँदैन । भन्न खोजिएको कुरा एउटा हुन्छ । त्यो शब्दले ठ्याक्कै त्यसलाई व्यक्त गर्दैन । नारायणलाई एकपटक मैले हाइफाइ डेमोक्र्याटको संज्ञा पनि दिएँ । चलेगा टाइपको । मैले लेखिहालेँ । नारायणजीसँग भेट भयो । मलाई असहज महसुस भयो । तर उनको अनुहारमा कुनै विकार थिएन । त्यसैले मलाई सम्पादकभन्दा मान्छे असल लाग्यो । नारायणजीलाई एउटा प्रश्न, तपाईँलाई आफ्नो उचाइसँग असहमति छ कि छैन ?

वाग्ले – आन्दोलनमा जाँदाखेरी सडकमा ढुंगा लाग्यो भने, बस चढ्न पर्‍याे भने, टेम्पोमा कोच्चिनुपर्यो भने, सागसब्जी किन्न जानुपर्यो भने बजारमा हिँड्ने बाटो तपाईँले पाउनुहुन्न । मेरो शरीरमा यस्तो ठाउँ छैन जहाँ कुनै न कुनै बेला नठोक्किएको होस् । त्यो त बेफाइदा हो नि । 

संग्रौला – मैले भन्नुपर्ने कुरा उहाँले नै भन्नुभयो । मासुको वजनबाट मान्छेको जीवनको मुल्यांकन हुँदैन । अग्लो हुँदैमा ठूलो भइँदैन । लेनिन कति अग्लो थिए, देङ सियायो पिङ होचै थिए । होची मिन्ह सानै थिए । राजेश्वर देवकोटा गुरु त मिनी साइजमै थिए । तर उनीहरुले इतिहासमा अमूल्य छाप छाडेर गए । उचाइ आफै धेरै महत्वको कुरा होइन । नारायणलाई मेरो प्रश्न, तपाईँ र ममा को अग्लो ?

वाग्ले – (हाँसो) मै अग्लो नि । लेखकको रुपमा भन्नुभएको होला, तर मैले किन भन्ने ?

संग्रौला – मान्छेको एउटा शारिरीक उचाइ हुन्छ, चिन्तनशीलताको उचाइ हुन्छ । सिर्जनाको उचाइ हुन्छ । नारायण मभन्दा धेरै अग्लो । नारायण विश्वका धेरै भाषामा अनूदित लेखक । पहिचानका व्याप्तीका हिसाबले उ धेरै अगाडि । दोस्रो लेखकका रुपमा मेरो जिन्दगी त सकियो । मैले अब केही लेख्ने भनेको त अभिनय गर्ने हो । सामान्यतया ५५–६० कटेपछि मानिसमा कल्पनाशीलता, चिन्तन र सिर्जना गर्ने काम निकै कम हुन्छ । केही अपवाद होलान् । मैले लेखेका चिजमा न केही नयाँ सिर्जना हुन्छ, न नयाँ चिन्तन हुन्छ । म शब्दको खेलाडी भएकाले केही छ कि भन्ने भ्रम त दिन सकिएला । त्यसैले शारिरीक उचाइ पनि उसकै अग्लो, लेखनमा पनि उ अग्लै ।

वाग्ले – तपाईँ अझै उत्तिकै सक्रिय हुनुहुन्छ । हरेक बिहान आउन २५० अक्षरका तपाईँका ट्वीट कुनै स्तम्भजत्तिकै शक्तिशाली छन् । तपाईँले अब लेख्न सक्दिनँ भन्दै हुनुहुन्छ भने ढाँटिराख्नु भएको छ । लेखकलाई ढाँट्ने सुविधा छैन ।

संग्रौला – दुइ तीनवटा कुरामा मेरो सौभाग्य नै भन्नुपर्छ ।  मेरो उमेरका अधिकांश लेखकहरु भन्दैछन्, ‘मैले राष्ट्रलाई के मात्र दिइनँ, यो राष्ट्रले मलाई के दियो ?’ बिहानदेखि बेलुकासम्म गनगन गर्दै हिँडेका छन् । म तरुणहरुसँग भएको हुनाले, समयसँग भएको हुनाले ममा अझै पनि केही जीवन्तता छ कि जीवन्तताको अभिनय गरिरहेको छु । मेरा ट्वीटको प्रशंसा गरेकोमा बोसलाई धन्यवाद । 

वाग्ले – केदार शर्माले भनेझैँ लेखक बन्ने हो भने फेसबुकमा लेख्ने, सम्पादन सिक्ने हो भनेचाहिँ ट्विटरमा लेख्ने हो ?

संग्रौला – अखबारी लेखनमा आएपछि मैले केही कुरा सिकेँ । संक्षेपिकरणको कला सिकेँ । विस्तृतिकरणको कला सिकेँ । आफूलाई आठ सय शब्दको सीमा तोेकिएको थियो । सुरुमा त गाह्रो भयो, तर बिस्तारै बिस्तारै संक्षेपिकरणको कला सिकेँ । ट्वीटले पनि सिकाउने त्यही हो । ट्वीटमा पनि आफूले भन्न खोजेको कुरामा कति प्रष्ट हुनुहुन्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ । ट्वीट अप्ठ्यारो काम हो । त्यसैले धेरै मान्छे ट्विटरमा आउँदैनन् ।

वाग्ले – स्तम्भकारले ट्वीट गर्नु कतिको आवश्यकत्ता छ । ट्वीटले एउटा लेखक वा स्तम्भकारलाई आफ्नो लेखनमा सहयोग पुर्याउँछ । तपाईँ ट्विटरमा यति धेरै व्यस्त हुनुभयो कि लेख्न बिर्सनुभयो । 

संग्रौला – पछिल्ला केही महिना मेरो स्वास्थ्यका कारण अस्पताल धाउने काम गरेँ । झण्डै ६–७ महिना मेरो काम अस्पताल जानेआउने, कहिलेकाहीँ उतै बस्ने भयो । तेस्रो पटक मेरो प्रोस्टेटको अपरेसन गरेपछि  म यताउता केही गर्न सकिनँ । मैले गम्भीर कुरा केही पढ्न पनि सकिनँ । लेख्न पनि सकिनँ । त्यसैबेला एकजना मित्रले ट्विटर खोलिदिनुभयो । जसको अभिव्यक्तिको माध्यम छैन, उ ट्विटरमा हुनु त ठिकै हो । तर मेरो त अभिव्यक्त गर्ने सशक्त माध्यम छन् नि त । अब लेख्न सुरु गरेपछि ट्वीट कम हुन थालेको छ । अनि भेट भएपछि धेरैले भन्छन्, के हो कम भो नि । कम गरेकै हो ।

वाग्ले – सम्पादकीयकै कुरा बाँकी नै थियो । हामी सम्पादकीय मात्रै होइन, समाचार तथा विश्लेषणमा पनि सिकाईकै क्रममा छौँ । पहिले मैले सम्पादकीयमा त्यति जोड दिन सकिनँ । ल्याकत थिएन, ममा घमण्ड पनि थियो मलाई धेरै कुरा थाहा छ । तर पछि मलाई थाहा भयो मलाई धेरै कुरा थाहा थिएन र छैन । त्यसैले मैले थाहा पाउनकै लागि धेरै मेहनत गर्नुपर्ने भएकाले सम्पादकीय लेख्न थालेको छु । तर उल्लेखनीय घटना के भयो भने  सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकाशकलाई भनेर कार्यालय आउनुभयो ।

अनि उहाँले भन्नुभयो, ‘यत्रो जनमत पाएको सरकार छ । बल्ल काम गर्न खोज्दैछौँ । यस्तो पनि सम्पादकीय हुन्छ । यस्तो पनि पत्रकारिता हुन्छ ।’ उहाँले म, मेरा सहकर्मी र प्रकाशककै अगाडि यसरी हकार्नुभयो ।  

प्रस्तुती : उपेन्द्रराज पाण्डेय 
 

अन्तिम अपडेट: जेठ ३२, २०७६

तपाईको प्रतिक्रिया