बझाङ र बैतडीमा पीपीआर रोग फेला : सयौंको संख्यामा भेडा–बाख्रा मरे

 पुस ११, २०७५ बुधबार १५:३५:६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ र बैतडी जिल्लामा पीपीआर रोग फेला परेको छ ।

बाख्रा र भेडाका देखिने यो रोग केही समय अघि मात्रै फेला परेको हो । यस रोगका कारण बझाङ जिल्लामा ९५ भन्दा बढी भेडाहरु मरिसकेका छन् भने बैतडीमा ८६ वटा भेडा मरेको जनाइएको छ । 

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा रोग पत्ता लागेको हो । यो रोग बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बढी देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यलय प्रमुख बाल्मिकीप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार माधविर रोकाया, रामबहादुर जेठारा, वीरबहादुर बोहरा, कृष्ण बोहरा र नवराज बोहराले पालेको ९५ भेडाहरु पीपीआर रोगले मरेका छन्  ।

अहिले यो रोग बझाङ र बैतडीको सिमाना बढी देखा परेको जोशीले बताउनुभयो । यस्तै यस रोगका कारण बैतडीको सिगास गाउँपालिकामा ८५ भन्दा बढी भेडा बाख्रा मरिसकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिंह बिष्टले बताउनुभयो ।

उहाँका अनुसार रोग नियन्त्रण गर्नका लागि पीपीआरविरुद्धको भ्याक्सिन खरिद गरी मंगलबारबाट जिल्ला भरि भ्याक्सिन लगाउने  काम भैरहको छ । बैतडीका लागि २० हजार डोज भ्याक्सिन मगाइएको छ । जसमा १० हजार डोज बैतडीका लागि र १० हजार डोज दार्चुलाका लागि प्रयोग गरिने बिष्टले बताउनुभयो ।

दार्चुलामा यो रोग देखा नपरे पनि पूर्व तयारीका लागि भेडा बाख्रामा भ्याक्सिन लगाइने बिष्टको भनाई छ । यस्तै यता बझाङ जिल्लाका लागि समेत १० हजार डोज भ्याक्सिन भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङले खरीद गरिसकेको निमित्त कार्यालय प्रमुख बाल्मिकीप्रसाद जोशीले बताउनुभयो ।

साइपाल गाउँपालिकामा बढी जस्तो यो रोग देखा परेका कारण यसको रोगथामका लागि ८ हजार डोज भ्याक्सिन दिएर बुधबार ६ जनाको टोलीसहित साइपाल गाउँपालिकामा पठाइएको जोशीले जानकारी गराउनुभयो ।

यस्तै जिल्लाको तमैल बजार, डोड्याका खेतका समेत एक–एक टोली ६–६ सय भ्याक्सिनको डोजसहित परिचालन गरीएको छ । यो एउटा भाइरस भएका कारण एकै समयमा धेरैजस्तो भेडा–बाख्रामा यो रोग देखा पर्न सक्ने पशु स्वास्थ्य प्राविधिकहरुले बताएका छन् ।

यो रोग लागि सकेपछि उपचार गर्नुभन्दा पूर्व तयारी गरी भेडा बाख्रामा भ्याक्सिन लगाउन आवश्यक रहेको जोशीले बताउनुभयो । यसको लक्षण पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडाहरु मर्ने, भेडा बाख्रामा ज्वरो आउने, नाकबाट सिँगान बग्ने, आँसु फाल्ने गर्दछन् ।

यो लक्षण देखा परेको केही भेडा बाख्रा २४ घण्टा र केही भेडा बाख्रा ४८ घण्टाभित्र मर्ने बढी सम्भावन हुने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त कार्यलय प्रमुख जोशीले बताउनु भएको छ । 

साथै यस्ता लक्षण बाख्रा र भेडामा देखा परे, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा जानकारी गर्न समेत उहाँले सम्पूर्ण किसानहरुलाई अनुरोध गर्नु भएको छ । साइपाल गाउँपालिकामा मात्रै १९ हजारभन्दा बढी भेडा रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया