पहिले आत्मरक्षाका लागि प्रयोग हुने लौरो अहिले ‘स्टिक डान्स’

 पुस १६, २०७५ सोमबार १०:७:६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – थारु समुदायमा आत्मरक्षाका लागि प्रयोग हुने लौरो अहिले आएर ना“च (स्टिक डान्स)मा परिवर्तन भएको छ । जङ्गल आसपास बसोबास गर्दा विभिन्न जङ्गली जनावरको डर हुने हुँदा सुरक्षाका लागि थारु समुदायको हतियार बन्ने गर्दथ्यो लौरो ।

परापूर्वकालमा अन्य हतियार नहुँदा लौरोलाई नै हतियारको रुपमा उपयोग गर्दै आउने गरेकोमा अहिले त्यही लौरो थारु समुदायको सांस्कृतिक पहिचान  बन्न पुगेको छ ।

थारु समुदायको सांस्कृतिक पहिचान मात्रै होइन, अहिले ‘स्टिक डान्स’ यो समुदायको आम्दानीको श्रोत समेत बन्ने गरेको छ । थारु समुदायको बाहुल्यता रहेका  क्षेत्रमा हुने विभिन्न कार्यक्रममा ‘स्टिक डान्स’ प्रमुख आकर्षण बन्ने गरेको छ ।

‘गैंडा, बाघ, भालुलगायतका जनावरलाई खेतीबाली नष्ट गर्नबाट जोगाउन लौरो नै हतियारको रुपमा प्रयोग गर्ने गरिन्थ्यो, त्यो समय अरु हतियार त चलाउँदैन थियौं’, थारु समुदायका अगुवा ६४ वर्षीय सिताराम चौधरीले भन्नुभयो, ‘हामीले आफ्नो सुरक्षा कसरी गर्ने भनेर लौरो नचाउँथ्यौं, अहिले त्यही ‘स्टिक डान्स’ भयो ।’

चौधरीले आफूहरु वस्तुभाउ चराउन जाँदा खेल्ने गरेको सम्झँदै भन्नुभयो, ‘त्यो समयमा लौरोका विभिन्न कला–कौशल प्र्रस्तुत गर्ने गरिन्थ्यो । अहिले त्यसैको परिमार्जित रुप ‘स्टिक डान्स’ आएको हो ।’लौरो नाचलाई झण्डै १५ वर्षअघि सामान्य मनोरञ्जनको रुपमा देखाउने गरेकोमा पछिल्लो  ६/७ वर्षयता यसको व्यवसायिक प्रयोग भएको छ ।

लौरोलाई कसरी कलात्मक र रक्षात्मक रुपमा खेलाउन सकिन्छ भनेर लौरो खेलाउन थालिएको भन्नुहुन्छ थारु कल्याणकारीणी सभा नवलपरासीका पूर्व अध्यक्ष गणेशमान महतो । उहाँका अनुसार पहिला  रक्षात्मक रुपमा लौरो चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजासँग जोडेर  नाच्ने गरिन्छ । ‘बाजाको तालमा लौरो नचाउँदा रमाईलो हुन थालेपछि यसलाई ‘स्टिक डान्स’मा परिमार्जन गरियो’ महतोले भन्नुभयो, ‘पहिला पुरुषले मात्र नचाउने लौरो नाच  अहिले महिला र पुरुष दुवैले नाच्ने गरिन्छ ।’

लौरो नाच पनि बिभिन्न प्रकारको रहेको महतोले बताउनुभयो । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा लौरो नचाउने गरिन्छ । झर्रा नाचमा ठूला लौरोको प्रयोग हुन्छ र बलपूर्वक जुधाउने गरिन्छ  । ठेकरामा सानो बाँसको लौरो जुधाएर नचाउने गरिन्छ । लौरोको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउँदा आवाज निस्कने गर्दछ । मादल वा ढोलकको तालमा लौरोलाई जुधाउने गरिन्छ ।

लौरोकै प्रयोग हुने थारु समुदायको अर्को नाच हो मेडरी नाच । मेडरीको अर्थ गोल घेरा हो । महतोका अनुसार मेडरीमा गोली घेरा लगाई ठूला ठूला ढोलक बजाउने गरिन्छ । ढोलकको तालमा लौरो घुमाउने गरिन्छ । यस नाचमा लौरो नजुधाई एक्लैले घुमाउने गरिन्छ ।

पहिचान नै राष्ट्रियता भएको र थारु समुदायको पहिचान लौरो नाच बन्दै गएको महतोले बताउनुभयो । जोखिम र बलपूर्वक  खेलिने यही नाच हेर्न विदेशी पर्यटक नेपाल आउने गरेको समेत उहाँले बताउनुभयो । ‘नेपालमा लौरो नाच हेर्न पाईन्छ भन्ने सन्देश प्रवाह भएको छ’ महतोले भन्नुभयो ‘यसले नेपालकै लागि एउटा साँस्कृतिक पहिचान बनाउने विश्वास छ ।’

लौरो नाच अहिले धेरैको रोजीरोटीको माध्यम बनेको उहाँले बताउनुभयो । जिल्लामा हुने विभिन्न कार्यक्रममा लाठि नाच प्रस्तुत हुने गरेका छन् । लौरो नाच प्रस्तुत गर्ने विभिन्न समूहहरु गठन भएका छन् । उनीहरुले बिभिन्न कार्यक्रममा नाच प्रस्तुत गरेर आम्दानी गर्दै आएका छन् ।

‘लौरो नाच अहिले हाम्रो प्रमुख नृत्य भएको छ, यो थारु समुदायको परम्परागत नाच हो ’ लौरो नाच प्रस्तुत गर्ने एक कलाकार छन्नुराम महतोले भन्नुभयो, ‘लौरो नाचले धेरैलाई आकर्षित समेत गरेको छ ।’ महतो कावासोतीमा थारु समुदायले सञ्चालन गरेको  अमलटारी घरबासमा लौरो नाच प्रस्तुत गर्दै आउनुभएको छ ।

घरबासमा आउने हरेकले लौरो नाच हेर्न रुचाउने गरेको उहाँले सुनाउनुभयो । घरबासमा आउने  पाहुनालाई थारु सँस्कृति प्रस्तुत गर्दा निश्चित शुल्क लिएर लौरो नाच नै देखाउने गरिएको उहाँले बताउनुभयो । लौरो नाच अवलोकनकै लागि घरबासमा आउने पर्यटकको संख्या उल्लेख्य हुने गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया