‘लागुऔषधको दलदलमा युवा’

 पुस १६, २०७५ सोमबार १५:४१:१६ | दयाराम आचार्य
unn.prixa.net

फाइल तस्बिर

नवलपरासी – काभ्रेपलान्चोक जिल्ला मन्दन गाउँपालिका घर भएका २१ वर्षीय सागर ढकाललाई पुस ८ गते ना ५ ख ७६ ३३ नम्बरको बसमा नेपालमा  प्रतिबन्धित लागुऔषध लुकाएर ल्याउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले पक्राउ गर्यो ।

उनीसँगै रहेका खोटाङ घर भएका २१ वर्षीय बिनोद राई समेत लागुऔषध ल्याउँदै गर्दा पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले  डाइजापाम ९ एम्पुल, फेनरागन ९ एम्पुल, नुफिन ९ एम्पुल नाइट्राभेट १०  लेखिएको ३११ ट्याब्लेट बरामद गर्यो ।

पुस ८ गते नै लु २ ख २६६७ बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा लम्जुङ बेसीँशहर नगरपालिका बस्ने २० वर्षीय सुब्बा गुुरुङ नुफिन ५१ एम्पुल, फेनरागन ६१ एम्पुल, डाइजापाम ५९ एम्पुल र प्रयोग भइसकेको सिरिन्ज एक थानसहित पक्राउ परे ।

धादिङ ज्वालामुखी नगरपालिका घर भएका २६ वर्षीय केशव आले पुस ६ गते नुफिन बीस एम्पुल, फेनारगन बीस एम्पुल र डाइजापाम उन्नाइस एम्पुलसहित पक्राउ परे । नवलपरासीको अरुणखोलाबाट फेनारगन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल र फेन्सिडिल एक बोतलसहित गैडाकोट बस्ने बीस वर्षीय बादल गुरुङ र तनहुँ आँबुखैरेनी घर भएका २७ वर्षीय नबीन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पुस एक गते नवलपरासी, देवचुली नगरपालिका –१३, बस्ने २२ वर्षीय हेमबहादुर  राजबंशी  डाइजापाम बीस एम्पुल, फेनरागन बीस एम्पुल र नुफिन बीस एम्पुलसहित पक्राउ परे । पुस महिनामा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेका सबै बीसदेखि सत्ताइस वर्ष उमेर समूहभित्रका रहेका छन् । यो तथ्याङ्कले  लागुऔषधको प्रयोग र ओसार पसारमा युवाहरु फस्दै गएको देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको पुस नौ गतेसम्ममा  लागुऔषधसहित ४८ जनालाई पक्राउ गरेको छ । ४८ जनाको साथबाट प्रहरीले डाइजेपाम ८८४ एम्पुल, फेनारगन ९०१ एम्पुल, नुफिन ७९४ एम्पुल, टालजेसिक ९४ एम्पुल, नाइट्रोसन २२० ट्याब्लेट, नाइट्रोभ्याट २५०० ट्याब्लेट, स्पास्मो ४२६ ट्याब्लेट, फेन्सेडिल २०० बोतल ,गाँजा ७४० ग्राम बरामद गरेको थियो ।

पक्राउ परेका ४८ जना सबै १८ वर्षदेखि ३५ वर्ष उमेर सम्मका रहेको प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । पक्राउ परेका सबैले भारतीय बजारबाट लागुऔषध ल्याएर आउने गरेको बताउने गरेको थापाले बताउनुभयो ।

मुख्य नाकामा प्रहरीको उपस्थिति बाक्लो हुने कारण प्रायः साना नाकाबाट लागुऔषध नेपाल भित्र्याउने गरेको पाइएको छ । थोरै–थोरै मात्रमा लागुऔषध भारतबाट सीमा कटाएर नेपाल भित्राउने र कुनै एक स्थानमा जम्मा गरेपछि नेपालका अन्य स्थानमा पुर्याउने गरिएको पाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

नवलपरासीको त्रिवेणी, महेशपुर, भुजहवा, गुठी सूर्यपूरासहित भैरहवा नाकाबाट लागुऔषध भित्राउने गरिएको पक्राउ परेकाले बताउने गरेको उहाँले बताउनुभयो ।
यी नाकाहरुबाट लागुऔषध नेपाल भित्र्याएर पूर्व–पश्चिम राजमार्ग हुँदै सहज रुपमा  देशका अन्य शहरहरुमा पुर्याउन सकिने भएकाले लागुऔषध ओसारपसारकर्ताले यी मार्ग प्रयोग गर्ने गरेको पाइएको छ ।

पक्राउ परेका धेरैजसोले लागुऔषध आफूले पनि खाने र केही बेचबिखनमा मात्र संलग्न रहने गरेको पाइएको छ । प्रहरीको सक्रियतामा आकास्मिक रुपमा राजमार्गमा गरिएको जाँचका क्रममा पक्राउ परेको यो संख्या भए पनि लागुऔषधको ओसारपसारमा संलग्न युवाको संख्या अझै धेरै हुन सक्ने प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

बेरोजगार युवाहरु थोरै समयमा धेरै पैसा कमाउले सपना बुनेर लागुऔषधको कारोबारमा संलग्न हुने र पछि सेवनकर्ता बन्ने अधिवक्ता भुपेन्द्र खनालले बताउनुभयो । महत्वकाक्षी योजना बनाउने, अरुको देखासिकी आदी कारणले युवाहरु लागुपदार्थको दलदलमा फस्ने गरेको उहाँले बताउनुभयो ।

‘थोरै समयमा धेरै पैसा कमाउने सपना बुन्दा लागुपदार्थ ओसारपसार गर्नतर्फ लाग्छन्’, अधिवक्ता खनालले भन्नुभयो, ‘युवाहरु  धेरै महत्वकाक्षी हुँदा पैसा हुँदैन अनि के गर्ने भन्दा थोरै समयमा धेरै पैसा कमाउने सपनाले लागुऔषध व्यापारको दलदलमा फस्छन् ।’

साथीहरुको लहलही, देखासिकी, तनावका कारण पनि युवाहरुले लागुपदार्थ सेवन गर्ने गरेको स्वास्थ्यकर्मी जीवन सापकोटाले बताउनुभयो । १७÷१८  वर्षको उमेरमा नै लागुपदार्थ प्रयोग गर्ने क्रम बढेको देखिएको उहाँले बताउनुभयो ।

शहरउन्मुख क्षेत्रहरुमा अभिभावकले आफ्ना बालबालिकाको अवस्था, दिनचर्या, उसले गर्ने क्रियाकलापका बारेमा ध्यान नदिँदा लागुपदार्थको दलदलमा फस्ने गरेको उहाँले बताउनभयो । लागुऔषधको दलदलमा युवाहरु फस्दै जाँदा घरपरिवार र समाजमा समेत अशान्ति फैलिँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

‘युवाहरु लागुऔषको र्दुव्यसनीमा फस्दा समाज समेत अशान्त बनेको छ, यो निकै दुखदायी विषय हो’, सापकोटाले भन्नुभयो, ‘देश विकास र परिवर्तनको जिम्मेवारी बोक्नुपर्ने  युवाशक्ति लागुऔषधमा फस्नु देशकै लागि घाटाको कुरा हो ।’

लागुपदार्थको अवैध बिक्री वितरण, ओसारपसारमा कडाई गर्नुे, अभिभावकहरुले आफ्ना बालबच्चाको निगरानी गर्ने, यसका असरका बारेमा युवावर्गलाई जनचेतना जगाउने साथै विद्यालयस्तरमा नै यसको न्यूनिकरणका कार्यक्रम लैजाने हो भने युवाहरुलाई लागुऔषधको दलदलबाट जोगाउन सकिने सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया