अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – मौलिक कला, धर्म, संस्कृति र साहित्यसँगै प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर र धनी छ, लमजुङ । यसका साथै जलविद्युत, कृषि र पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जिल्ला पनि हो, पहाडी जिल्ला लमजुङ ।
पछिल्लो समय पर्यटन प्रवद्र्धनमा अघि बढिरहेको छ, लमजुङ । जिल्लाका विभिन्न ठाउँमा गरी दर्जनौँ होमस्टे अर्थात् घरबास सञ्चालनमा छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा छन्, ती होमस्टे ।
पर्यटकले खचाखच छन्, यहाँ सञ्चालित दर्जनौँ होमस्टे । सरोकारवालाहरु दावी गर्छन्, ‘नेपालमा सबैभन्दा धेरै होमस्टे सञ्चालनमा रहेको जिल्ला लमजुङ नै हो ।’
घलेगाउँ, पसगाउँ, काउलेपानी, राइनसकोट, तुर्लुङकोट, सिउरुङलगायतका थुप्रै गाउँमा होमस्टे सञ्चालनमा छन् । कतिपय गाउँ होमस्टे सञ्चालनमा अघि बढिरहेका छन् ।
अन्नपूर्ण पदमार्गमा पर्छ, लमजुङ । प्राय : सबैको ‘ड्रिम प्लेस’ मानिने मनाङ जिल्ला पुग्न (सवारी यात्राबाट) पनि यहीे बाटो भएर जानुपर्छ । विदेशी तथा स्वदेशी दुवै पर्यटक ओहोरदोहोर भइरहने ठाउँ भएकाले पनि लमजुङमा पर्यटनको विकास गरी जिल्लाको मुहार फेर्न सकिने सम्भावना छ ।
जिल्लामा पर्यटक लोभ्याउन, पर्यटकको आगमन संख्यामा वृद्धि गर्न व्यावसायिक ढंगले साहसिक प्याराग्लाइडिङ सञ्चालन गर्न सक्ने सम्भावना पनि रहेको छ ।
जिल्लामा हुने विभिन्न मेला, पर्व उत्सवका अवसरमा प्याराग्लाइडिङ उडान हुँदै आएको छ । मौसमी उडान हुँदै आए तापनि हालसम्म व्यावसायिक ढंगले प्याराग्लाइडिङ सञ्चालनमा आउन सकेको छैन लमजुङमा ।
लमजुङको बेसीशहर नगपालिका–३, गाउँशहरमा समेत प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । लमजुङ गाउँशहर दरबारस्थित गाउँशहर डाँडाबाट गरिएको प्याराग्लाइडिङ उडान बेसीशहरको शेरा दनाइँफाँटमा अवतरण गरिएको हो ।
स्काइ बर्ड प्याराग्लाइडिङ पोखराको नेतृत्वमा शनिबार परीक्षण उडान गरिएको हो । स्लो पाइलट सुनिल थापा, कुमार श्रेष्ठ, भुवन गाहा, राजेश गिरी र सुनिल रावलले प्याराग्लाइडिङको उडान परीक्षण गरेका हुन् ।
आयोजक अन्नपूर्ण ब्रदर्श ट्राभल एण्ड टुर लमजुङका सञ्चालक तथा पर्यटन व्यवसायी अमिर गुरुङका अनुसार गाउँशहरमा प्याराग्लाइडिङको उडान सफल भएको छ ।
‘गाउँशहर डाँडामा प्याराग्लाइडिङ उडान उपयुक्त छ, उहाँले भन्नुभयो । पहाडी जिल्ला लमजुङको गाउँशहर डाँडा, पुमा डाँडा, भाचोक डाँडा, राइनसकोट लगायतका स्थानमा प्याराग्लाइडिङको उच्च सम्भावना रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । ती क्षेत्रमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण भइसकेका छन् ।
पूर्वी लमजुङको राइनस नगरपालिकामा रहेको राइनासकोटबाट प्याराग्लाइडिङ सञ्चालनको झनै ठूलो सम्भावना रहेको जानकारहरु बताउँछन् । समुद्री सतहबाट १७ सय ५० मिटर उचाइमा रहेको छ, राइनसकोट ।
राइनसकोटबाट गरिएको प्याराग्लाइडिङ उडान सुरक्षित रहेको र प्याराग्लाइडिङ उडानको सम्भावना उच्च रहेको परीक्षणका क्रममा पाइलटले बताएको पर्यटनका साथै सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका कृष्णराज ओलिया बताउनुहुन्छ ।
पाइलटहरुले बताएअनुसार राइनसकोटबाट उडान गरिएका प्याराग्लाइडिङ गोर्खाको पालुङ्टार, सुन्दरबजार, राइनासटारमा अवतरण गर्न सकिन्छ । राइनसकोटबाट गरिएको प्याराग्लाइडिङबाट लमजुङ, गोरखा र तनहुँका मनोरम दृश्यको समेत अवलोकन गर्न सकिन्छ ।
‘यहाँको प्याराग्लाइडिङबाट चेपे, मस्र्याङ्दी, दरौँदी नदीका साथै थुप्रै मनमोहक हिमाली दृश्य अवलोकन गर्न सकिन्छ’, ओलियाले भन्नुभयो।
जिल्लामा प्याराग्लाइडिङ सञ्चालनको सम्भावना छ । लमजुङ पोखराको विकल्प बन्न सक्छ । ‘सम्भावना छ । तर प्याराग्लाइडिङको विकासमा राज्यस्तरबाट खासै पहल हुन सकेको छैन’, उहाँले अघि थप्नुभयो, ‘यहाँ प्याराग्लाईडिङ सञ्चालन गर्न सकिए लमजुङ पोखराको विकल्प बन्न सक्छ ।’
जिल्लामा प्याराग्लाईडिङ सञ्चालनका लागि निजी क्षेत्र इच्छुक छ । राज्यस्तरबाट प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरी उचित ठाउँमा प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिन सके जिल्लामा प्याराग्लाईडिङ सञ्चालन गरी पर्यटक तान्न सकिने उतिक्कै सम्भावना रहेको लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा बताउनुहुन्छ ।
‘जिल्लाका केही ठाउँमा प्याराग्लाइडिङ सञ्चालनको सम्भावना छ ।
व्यावसायिक रुपमा सञ्चालन गर्नको लागि निजी क्षेत्र इच्छुक छ’, उहाँले भन्नुभयो, ‘सरकारी तवरबाट थप सम्भाव्यता अध्ययन गरी उचित ठाउँमा व्यावसायिक ढंगले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिन सके, यसको सञ्चालन हुन सके जिल्लामा पर्यटक तान्न सकिन्छ । यसैको माध्यमबाट जिल्लाले आर्थिक फड्को मार्न सक्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।