नयाँ क्रान्तिको सुरुआत भयो : प्रचण्ड

 पुस २२, २०७५ आइतबार १९:३८:३७ | रासस
unn.prixa.net

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उहाँले यस अवसरलाई खेर पाल्न नहुने बताउनुभयो ।

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आइतबार बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र नागरिकलाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले दुई तिहाईको बहुमतको सरकारले नागरिकको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धि गुम्ने खतरा रहेको र सरकारले नागरिकका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औँल्याउनुभयो ।

नागरिकलाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी छ ।’

अध्यक्ष दाहालले विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया