षडानन्द नगरपालिकाका कर्मचारी एक वर्षदेखि तलबबिहीन

 असार ३, २०७५ आइतबार १५:४८:५० | बुद्ध तामाङ

भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाका कर्मचारीहरुले गएको एक वर्षदेखि तलब नपाएको खुलास भएकोे छ ।

नगरपालिकाको विभिन्न वडामा करारमा कार्यरत पाँच जना कर्मचारीले २०७४ साउन महिनाबाट मासिक तलब नपाएको खुलेको हो । एक वर्षदेखि तलब नपाएपछि पीडितहरुले तलब माग गर्दैै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, विभिन्न राजनीतिक दलहरुलगायत सरोकारवाला निकायमा निवेदन दिएका छन् ।

षडानन्द नगरपालिकाको वडा–११ र १२ साविकको देउराली गाविसमा २०६६ सालबाट करारमा काम गर्दै आएका खरिदार मुक्तीप्रसाद घिमिरे, २०७० सालबाट काम गर्दै आएका कार्यालय सहयोगी खगेन्द्रकुमार घिमिरे, सोही वडामा २०७६ सालबाट काम गर्दै आएका  सन्तोष कार्की र  वडा नम्बर १० साविकाको सामपाङ्ग गाविसमा २०६३ सालबाट काम आएका कार्यालय सहयोगी धर्मानन्द काफ्लेले तलब नपाएपछि निवेदन दिएका हुन् ।

ती कर्मचारीहरु कार्यरत रहेको  वडा कार्यालयले करारका कर्मचारीहरुको हाजिरी खाताको प्रमाणीकरणसँगै अन्य कागजात नगरपालिकामा पठाएइसकेको भए पनि तलब नपाएको उनीहरुको गुनासो छ ।  निवेदक मध्येका एक सन्तोष कार्कीले भने, ‘हामीले २०७४ साउनबाट तलबका साथै नियुक्ति पत्र समेत पाएका छैनौं ।’

यता, नगरपालिकाका प्रमुख विरबल राईले करारका कर्मचारीहरुले पाउने तलब दिने व्यवस्था मिलाउने प्रयास भइरहेको बताए । नगरपालिकाले २०७४ साउन महिनाबाट नै नियुक्ति दिएर जाने निर्णय गरेको भए पनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको कारण समस्या उत्पन्न भएको नगर प्रमुख राईले बताउनुभयो । 

‘हामी उनीहरुलाई तलब दिलाउने पक्षमै छौं, यसअघि सरुवा भएर गएका  प्रशासकीय आधिकृतहरुले उनीहरुलाई नियुक्ति पत्र समयमा नदिँदा केही समस्या भएको हो’, प्रमुख राईले भन्नुभयो, ‘सरुवा भएर गए पनि अब पहिलाका  प्रशाकीय अधिकृतलाई भेटेर उनीहरुको नियुक्ति पत्रमा हस्ताक्षर गराएर तलब दिने लक्ष्यका साथ काम भइरहेको छ ।’ 

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतहरु जयनारायण खनाल र चन्द्र कार्कीको कार्यकालको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि नगरपालिकाको काममा केही  ढिलाइ भएको नगरप्रमुख राईले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया