धर्म, कर्म र इलममा दैलेखका कैदीबन्दी

 पुस २४, २०७५ मंगलबार १२:१४:५९ | अमर सुनार
unn.prixa.net

दैलेख – काँडेतारले घेरिएको ३ हजार वर्गमिटर क्षेत्रफल ओगटेको सुरक्षा घेराभित्रको दैलेख कारागार जिल्ला सदरमुकामको बाइरोडको बाटो छेउमा छ । जिल्ला प्रशासन कार्यालय र कारागारबीचको मूल सडक हुँदै दिनहुँ सयौँ यातायातका साधनहरु ओहोरदोहोर गर्छन् । यात्रुहरु सबैजसोले कारागार भवन देख्छन् । 

यो नयाँ कारागार भवनमा २०७१ कात्तिकमा कैदीबन्दी सारिएको थियो । पूर्वी मोहडामा फर्किएकोले अचेल हिउँदको बेला विहान सातै बजे पारिलो घाम लाग्ने भएकोले दैलेखका कारागारका कैदीबन्दीहरुलाई स्वास्थ्यलाई राम्रो भइरहेको छ । 

क्षमताका हिसाबले ८० जना मात्र राख्न सकिने भए पनि कारागार व्यवस्थापनको मित्रवत व्यवहार र सक्दो सुविधा उपलब्ध गराउने प्रयत्नले एक–तिहाई बढी अर्थात १ सय २२ जना कैदीबन्दी हुँदा पनि बस्न खान सहज नै बन्न पुगेको छ । 

कारागार प्रशासन र कैदीबन्दीहरुको आफ्नै तत्परताले पनि वातावरण सहज बनेको हो । कैदीबन्दीहरुकै अग्रसरतामा कारागारभित्र शान्ति सुव्यवस्था र मीत्रभाव विकासका लागि बिहानै योगा अभ्यास, धार्मिक पूजाआजा, दिउँसो कामकाज र सीप इलममा व्यस्त गराउन थालिएको छ । 

अशक्त र बिरामी बाहेक सबै जना बिहान ५ बजे नै पुस्तकालय कक्षमा जम्मा भएर योगा गर्छन् । एक–डेढ घण्टा योगा चल्छ । त्यसपछि झिसमिसे उज्यालो हुँदै गरेको हुन्छ, घण्ट बज्छन् पूजाआजा चल्छन् । अनि बिहान झण्डै साढे सात बजे चौरमा घाम लाग्नेबित्तिकै घाम ताप्दै गफिन थाल्छन् ।

घाम ताप्दै गर्दा पालो तोकिएकाहरुले खाना तयार पारिसकेका हुन्छन्, आफैँले पकाउनेहरु पनि घाम ताप्न बाहिर निस्कने अनि भित्र भान्सामा पुग्दै जिउ तातिसकेको हुन्छ । बिहान ९–१० बजे खाना खाइवरी ११ बजेदेखि इलम जानेहरु आफ्नै धुनीपानीमा लाग्छन् ।

अचेल कारागारभित्रको चौरलाई चौडा गराउने काम चलिरहेको छ, यो काम गरेर ज्याला पाइने त होइन तर आफैलाई खेल्न सजिलो हुन्छ भनेर स्वतःस्फूर्त तरिकाले युुवाहरु ढुङ्गामाटोमा धसिएका हुन्छन् । दिउँसो त्यति काम सकेपछि इच्छुक युवा भलिबल खेल्छन्, अरुले हुटिङ्ग गर्दै रमाउँछन् । 

सीप इलम जान्नेहरु दिउँसोको समयमा ढाका बुनाई, मुडाबुन्ने, सिलाइकटाई, सुइटरलगायतका ऊनबाट बनाइने कपडा बुन्न जुटेका हुन्छन् । यो बेला कोही बुद्धिचाल, क्यारेमबोर्डलगायतका खेल खेल्दै हुन्छन् त कोही पुस्तकालयमा पुस्तक पढ्दै हुन्छन् । 

नयाँ भनवमा सरेलगत्तै सुरु भएको यो पुस्तकालय कोठा ठूलो हल भएको कारण बिहान गरिने योगा अभ्यास, बेलाबेला गरिने तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु पनि यही सभाहलमा हुन्छन् । पुस्तकालयका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोसेक लगायतका संस्था र विभिन्न निकायबाट पुस्तकहरु प्राप्त भएका हुन् ।

यहाँ दैलेख उद्योग वाणिज्य संघले उपलब्ध गराएको ३२ इञ्चको ठूलो टेलिभिजन सेट पनि राखिएको छ । बुढापाकाहरु टेलिभिजन हेर्न रुचाउँछन् । देश विदेशमा भएका घटना–दुर्घटना, मानव अभिरुची विषयबस्तु, मनोरञ्जन र ज्ञानगुनका कुरा सिक्न कैदीबन्दीहरुलाई टेलिभिजनले सजिलो पारेको छ ।

कारागारमा थुनिएका कैदीबन्दीहरुलाई सकारात्मक हुन, संयमित हुन र असल चालचलनको विकास गर्न उनीहरुलाई भावनात्मक हिसावले तयार पार्न मित्रवत व्यवहार र सक्दो सुविधा उपलब्ध गराउन जेलर जितबहादुर खत्रीको क्रियाशीलताले सबै क्षेत्रका सहयोग जुटाउनु भएको छ ।

जेलर खत्रीले कारागार सुरक्षा चुनौती कम गर्न, उद्यम र उत्पादनशील क्रियाकलापमा सक्रिय रहन  बानी पार्नको लागि कैदीबन्दीहरुलाई योगा, धार्मिक क्रियाकलापलगायतका काममा लगाइएको बताउनुभयो ।

परिवन्द वा परिवेशले कुनै घटना भएर थुनामा परेका कैदीबन्दीहरुलाई सधैँ अपराध मात्र गर्छन् होला भन्ने समाजको बुझाई चिर्दै सकारात्मक भावनाको विकास, रचनात्मक कामको सिकाइ र कैद सकिएपछि समाजमा पुनस्र्थापन हुन सहजताका लागि कारागारभित्र सरस्वतीको मन्दिर बनाउन लागिएको कैदी नाइके कृष्ण खत्रीले सुनाउनुभयो ।

कारागार हातामा बनाउन लागिको सरस्वती मन्दिरको नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले हालै शिलान्यास गर्नुभएको छ । धार्मिक शिक्षा लिन चाहने कैदीबन्दीहरुको रुचीप्रति खुशी व्यक्त गर्दै मन्दिर निर्माणमा नगरपालिकाले सहयोग गर्ने उपमेयर मल्लले वचन दिनुभएको छ । 

जेलर खत्रीकै आग्रहमा पतञ्जली योग समितिका शंकर थापा, नरेश्वर जैसीलगायतका योग शिक्षकले निःशुल्क सहयोगमा योगा अभ्यास गराइदिनुभएपछि अभ्यासकै क्रममा सिकेर अहिले कैदी नाइके मानबहादुर नेपालीले योगा सिकाइरहनु भएको छ ।

यी धेरै सकारात्मक प्रयासहरु पुस्तकालय, मन्दिर बनाउने काम पुरुष बन्दी गृहतर्फ मात्र गरिएका छन् । महिला र पुरुषसंगै राख्न नमिल्ने भएकोले त्यहाँ भइरहेका क्रियाकलाप महिला कैदीबन्दीहरु सहभागी हुन पाएका छैनन् । नयाँ कारागारमा महिला र पुरुष फरक–फरक भवनमा राखिएको कारण देखभेट समेत हुँदैन ।

अनुगमन तथा निरीक्षणमा आउनेहरु कोही महिला बन्दी गृहमा गए मात्र भेट हुन्छ । ‘तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरु हुँदा पनि महिलाहरुका लागि भनी छुट्टै कार्यक्रम भए मात्र महिलाले अवसर पाउँछन्, नत्र यो सुविधा आएका छ भन्ने सुनेर बस्नु परेको छ’, महिला नाइके गोमा पुलामी मगरले गुनासो गर्नुभयो ।

दैलेख कारागारमा अहिले ८९ कैदी, १९ जना मुद्दा किनारा नभइसकेका बन्दीहरु समेत १ सय ८ जना पुरुषहरु छन् । अनि १२ कैदी र २ जना थुनुवा समेत १४ जना महिला बन्दी जीवन बिताइरहेका छन् । कैदीबन्दी महिलाहरुमध्ये २ जना ३ वर्ष मुनिका आश्रित बालक पनि संरक्षणमा छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया