'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
सल्यान – नौ दिनअघि ज्यान गुमाएका एक अपरिचित युवकको आज जिल्ला प्रहरी कार्यालय सल्यानले लाशको सद्गत गरेको छ ।
जिल्ला अस्पताल सल्यानको पछाडि रहेको सामुदायिक जंगलमा वडा नम्बर ३ का वडाध्यक्ष टोपबहादुर थापाको रोहबरमा स्थानीयको सहभागितामा शवको सद्गत गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरिराज भण्डारीले जानकारी दिनुभयो ।
पुस १७ गते दिउँसो ज्यान गुमाएका अपरिचित युवकको पहिचान खुल्न नसक्दा प्रहरीले आज दशौँ दिनमा शवको सद्गत गर्नु परेको उहाँले जानकारी दिनुभयो । विभिन्न सञ्चार माध्यम, पत्रपत्रिका र स्थानीय एफएम रेडियोबाट जिल्लामा अपरिचित युवक भेटिएको समाचार प्रकाशन तथा प्रसारण गरिएको भए पनि कसैले खोजीकार्य नगरेपछि युवकको पहिचान समेत खुल्न सकेको थिएन ।
सल्यानको शारदा नगरपालिका –१४,ढांरखानी जंगलमा पुस १५ गते अचेत अवस्थामा फेला परेका अन्दाजी २६ वर्षका युवकलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घाइते युवकको अस्पताल सल्यानमा उपचार गराएको थियो । नाम ठेगाना नखुलेका ती पुरुषलाई कसैले चिनेको खण्डमा आफन्तलाई वा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो ।
शव गृहमा शव राख्ने फ्रिज नहुँदा समस्या
जिल्ला अस्पताल सल्यानमा शव राख्ने फ्रिज नहुँदासमस्या हुने गरेको छ । विभिन्न कारणले ज्यान गुमाएका र मृत्यु भएका व्यक्तिको शव पोष्टमार्टम गर्न जिल्ला अस्पतालमा ल्याइन्छ । तर शवगृहमा लाश राख्ने फ्रिज नहुँदा समस्या हुने गरेको जिल्ला अस्पताल सल्यानका डाक्टर अर्जुन बुढाले भन्नुभयो ।
‘जिल्ला अस्पतालमा ल्याइने शव कहिलेकाँही चार–पाँच दिनसम्म राख्नु पर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले भर्खरै मात्र अपरिचित युवकलाई दश दिनसम्म राख्नुपर्यो, फ्रिज नहुँदा तीन–चार दिनमै शव गन्हाउन थाल्छ, वातावरण दुर्गन्धित हुन्छ, यो अवधिमा अर्को शवको पोष्टमार्टम गर्नु परेमा गर्नै सकिँदैन, कम्तीमा दुईवटा फ्रिज मात्रै राख्न सकियो भने पनि सहज हुन्थ्यो ।’
जिल्ला अस्पताल सल्यानका प्रमुख बुढाले दुईवटा लाश राख्ने फ्रिजलाई करिब ६ लाखको लाग्ने बताउनुभयो । ‘अस्पतालमा अहिले रकम अभाव छ’, उहाँले भन्नुभयो, ‘कतैबाट सहयोग प्राप्त भएमा अस्पताललाई ठूलै राहत पुग्ने थियो ।’
शव गृहमा लाश राख्ने फ्रिजको व्यवस्था गर्छौँ : मेयर अधिकारी
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले जिल्ला अस्पतालको शव गृहमा छिट्टै लाश राख्ने फ्रिजको व्यवस्था गर्ने बताउनुभयो । मेयर अधिकारीले यस विषयले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।
‘अस्पतालको शव गृहमा लाश राख्ने फ्रिजको आवश्यकता रहेछ’, उहाँले भन्नुभयो, ‘यतातिर हामी कसैको ध्यान गएको थिएन्,यो गम्भीर विषय हो जस्तो मलाई महसुस भयो, अब छिट्टै अस्पताल विकास बोर्डसँग बसेर यस विषयमा छलफल गरी कुरा अगाडि बढाउछौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।