चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – पाटन संयुक्त क्याम्पसमा स्नातकोत्तरमा पढ्ने सागर राईलाई स्ववियु चुनावबारे चासो नै छैन । उहाँ जाडो बिदामा विद्यार्थी संगठनहरुले सुरु गरेको ‘प्रपोजल राइटिङ’मा सहभागी हुनुहुन्छ र घर फर्कनुहुन्छ ।
‘जाडो बिदाभन्दा अगाडि क्याम्पसमा विभिन्न कार्यक्रमबारे प्रचारप्रसार भएको थियो’, राईले भन्नुभयो, ‘बिदाको सदुपयोग गर्न ‘प्रपोजल राइटिङ’ क्लासमा सहभागी भएको हूँ । कार्यक्रम आफूलाई उपयोगी भएकाले सहभागी हुन आएको हूँ । चुनाव र राजनीतिमा ‘इन्ट्रेस’ भएर होइन ।’
स्नातकोत्तरमै पढ्ने अर्की विद्यार्थी श्रेषा विष्टलाई पनि राजनीतिक मन पर्दैन । ‘म पढ्न क्याम्पस आउने होे’, विष्ट भन्नुहुन्छ, ‘मलाई राजनीतिमा कुनै चासो छैन ।’
पछिल्लो पुस्ताका धेरै विद्यार्थी राजनीतिको कुरा गर्दा यसैगरी नाक खुम्च्याएर हिँड्ने गरेका छन् । केही विद्यार्थी भने राजनीतिक संगठनमा सहभागी पनि हुन्छन । स्ववियु चुनावको तयारी सुरु भए पनि पछिल्लो विद्यार्थी पुस्ता विद्यार्थीलाई यसबारे खासै चासो छैन ।
क्याम्पसभित्र अराजकता, गुण्डागर्दी, भौतिक संरचना तोडफोडजस्ता गतिविधि विद्यार्थी संगठनबाट बेलाबेला हुने गरेका छन् । त्यसो त स्ववियु चुनावकै बेला पनि आगजनी र तोडफोड हुने गरेको छ । गएको दुई वर्ष अघि भृकुटीमण्डपमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसको चुनावका बेला सुरक्षा दिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
स्ववियु चुनावका बेला चक्कु र खुकुरी प्रहार सामान्य घटनाजस्तै हुने गरेका छन् । यी अराजक गतिविधिबाट वाक्क भएका विद्यार्थीलाई राजनीतिप्रति खासै चासो हुँदैन ।
वैकल्पिक राजनीतिका रुपमा उदाएको विवेकशील साझा पार्टीले विद्यार्थी राजनीति गर्न नहुने बताउँदै आएको छ । केही शिक्षाविद्ले पनि विद्यार्थी राजनीतिका कारण शिक्षामा विकृति बढ्दै गइरहेको चिन्ता व्यक्त गर्ने गरेका छन् ।
राणा शासनदेखि प्रत्येक राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको विद्यार्थी संगठनलाई खारेज गर्न नहुने अर्काथरीको तर्क छ । त्रिविले भने आउँदो फागुनमा स्ववीयूको चुनाव मिति तोकिसकेको छ ।
देशका प्रमुख राजनीतिक दलका आ–आफ्नै विद्यार्थी संगठनहरु छन । दलगत रुपमा विभाजित विद्यार्थी संगठनले दलको स्वार्थ अनुसार काम गर्ने गरेको भन्दै धेरैले आलोचना गर्ने गरेका छन् ।
विद्यार्थी राजनीति र स्ववियू चुनावबारे विद्यार्थी संगठन र दलका भिन्न–भिन्न विचार छन ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डे – हामीले चाहिँ शैक्षिक संस्था तथा पेशागत संगठनमा राजनीति हुनु हुँदैन भनेका छौं । दलिय भागबण्डाको आधारमा स्ववियु चुनाव हुने गरेका कारण यसमा हाम्रो कुनै संलग्नता रहँदैन । यो चुनावको औचित्य छैन ।
मैले केही अगाडि विद्यार्थी संगठनका नेतालाई स्ववियुका तीनवटा मात्रै उपलब्धि बताइदिनुस् भनेको थिएँ । उहाँले बताउन सक्नुभएन । यसको अर्थ २०४६ सालपछि विद्यार्थी संगठनको केही उपलब्धि छैन । त्यसैले यसको आवश्यकता छैन ।
हामी एजेण्डाको आधारमा विद्यार्थीसँग हातेमालो गर्न सक्छौं । हामी आफ्नै संगठन बनाएरभन्दा पनि स्वतन्त्र विद्यार्थीलाई सहयोग गरेर शिक्षा क्षेत्रको सुधारमा सहभागी हुन सक्छौं । जस्तो पुस्ताकालय निर्माणमा हाम्रो सहभागिता हुन सक्छ ।
दलीयकरणकै कारण विश्वविद्यालयका उत्तर पुस्तिका च्यातिन्छ । प्राध्यापकदेखि पिएनसम्मको नियुक्ति हुन्छ । एकजना ‘पिएन’ नियुक्त गर्न दलअनुसारका तीनवटा कोटा खोल्नुपर्ने बाध्यता छ । यसकारण शिक्षा क्षेत्रमा विकृति आएको हो ।
हाम्रो एजेण्डा भनेको पेशागत र शैक्षिक क्षेत्रमा दलीय संगठन खारेज गर्नु नै हो । नेकपा र कांग्रेसलाई विद्यार्थी संगठन हटाउन अप्ठ्यारो छ । अहिलेका धेरै नेता विद्यार्थी संगठनबाटै माथि पुगेका हुन । उनीहरुले त्यही कारण विद्यार्थी संगठन खारेज गर्न सक्दैनन् ।
हामीहरुले शिक्षा र पेशागत क्षेत्रका संगठन खारेजको एजेण्डा उठाएको हो । यो एजेण्डालाई अबका विद्यार्थीहरुले पनि सहयोग गर्छन् । उनीहरुले विद्यार्थी संगठन खारेज गरेनन् भने अहिलेका प्रमुख स्थानमा रहेका राजनीतिक दलहरुलाई हामीले प्रतिस्थापन गर्छौं । मलाई लाग्छ अबको पाँच वर्षपछि शिक्षा क्षेत्रमा परिवर्तन हुन्छ ।
हामीहरुले शिक्षा क्षेत्रमा विद्यार्थीका अधिकारका विषय उठान गर्न विद्यार्थी, अभिभावक, शिक्षक मिलाएर कमिटी गठन गर्न सक्छौ । शिक्षा क्षेत्रको सुधार गर्न राज्यबाट मुख्य त शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने हाम्रो योजना हो । तर अहिले भइरहेका विद्यार्थी संगठनका नेताहरु भने विद्यार्थी संगठन खारेज गर्न नहुने बताउँछन् ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ – सरकारी पक्षलाई विद्यार्थीको अधिकार, हक, हितबारे खबरदारी गर्न पनि विद्यार्थी आन्दोलन आवश्यक छ । विगतमा स्ववियु विकृत पनि भएको थियो । सबै आस्था बोकेमा विद्यार्थीहरुबीच वैचारिक एकता थिएन ।
राजनीतिक परिवर्तनका लागि खबरदारी गर्दा विद्यार्थी आन्दोलन ध्वंसात्मक भएको हो । त्यसलाई सुधार गरेर जानुपर्छ । विद्यार्थीले प्रतिपक्षको जस्तो आन्दोलन गर्नुपर्छ । अब व्यवस्था परिवर्तन भएको छ । अब रचनात्मक सुधार गर्न विद्यार्थी संगठनले काम गनुपर्छ । शैक्षिक व्यवस्था, सीपमूलक शिक्षा र अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गर्न विद्यार्थीले महत्वपू्र्ण भूमिका खेल्नुपर्छ ।
विद्यार्थी संगठनका कारण शिक्षा क्षेत्रमा विकृति आएको होइन । सम्पूर्ण दोष हामीलाई लगाउन आवश्यक छैन । हो, केही गलत अध्यासहरु भएका छन् । सुधारेर जानुपर्छ । प्राध्यापक, कर्मचारी पनि सुध्रिनुपर्छ । समस्या छन, करेक्सन गर्नुपर्छ । विद्यार्थी संगठनबिना शिक्षा क्षेत्र सुधार हुन सक्दैन ।
केहीले पदको दुरुपयोग गरे भन्दैमा संगठन नै खारेज गर्ने कुरा जायज हुँदैन । हामीले संगठनभित्र रहेका विकृतिहरुलाई राजनीतिक प्रशिक्षणका रुपमा निराकरण गर्नुपर्छ । हामीले पद्धतिअनुसार चल्न सिक्नुपर्छ । हामी त्यही बाटोमा छौं ।
हामीलाई विद्यालय क्षेत्रभित्र ल्याब चाहिएको छ । नयाँ डिजिटल लाइब्रेरी चाहिएको छ । २१ औं शताब्दिअनुसारको शिक्षा चाहिएको छ । सीपसहितको जनशक्ति आवश्यक छ । सबै नागरिकहरुले पढ्न पाउने व्यवस्था आवश्यक छ । यी सबै विषयको लागि स्ववियु आवश्यक छ ।
मान्छेहरुले कुरो बुझेका छैनन् । विश्वको कुनै पनि विश्वविद्यालयमा विद्यार्थीको प्रतिनिधित्वका लागि संगठन हुन्छ र त्यसले विश्वविद्यालयमा सहभागिता जनाउँछ । नेपालमा २०३६ सालपछि स्ववीयूले निकै अग्रस्थानमा रहेर काम गरेको छ ।
नेतृत्व विकास गर्न र शैक्षिक उन्नतिका लागि स्ववियु विश्वविद्यालय क्षेत्रमा रहिरहन आवश्यक छ । जुनसुकै क्षेत्रमा पनि नेतृत्व आवश्यक हुन्छ । नेतृत्व निर्माण गर्न विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षाका भौतिक संरचना निर्माणदेखि लिएर शैक्षिक गुणस्तर स्थापना गर्न विद्यार्थी संगठनको विकल्प छैन ।
केही गल्ती भएको छ, त्यसैलाई देखाएर सबै गलत छ भन्ने हुँदैन । एक्टरको कार्यशैलीमा कमजोरी होला । तर संस्था कहिल्यै गलत हुँदैन । केही गल्ती भएका छन् । सुधार गरेर जानुपर्छ ।
संगठनमा केही गलत काम भएको छ । प्रध्यापक, कर्मचारी, विद्यार्थी सबै आफ्नो कामप्रति जिम्मेवार हुनुपर्छ । विद्यार्थी संगठनै खारेज हुने कुरा होइन । प्रजातन्त्रमा समस्याहरु आउँछन् । समस्या हल गरेर अगाडि बढ्नु नै उत्तम विकल्प हुन्छ ।
१० प्रतिशत समस्यालाई देखाएर ९० प्रतिशत गलत छ भन्न मिल्दैन । विद्यार्थी राजनीतिबाट लिडरसिपको विकास गर्ने हो । अब भौतिक पूर्वाधार र शैक्षिक विकास दुवै सँगै लैजानुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।