पृथ्वी जयन्तीमा राप्रपाकाे चियापान कार्यक्रम: नेकपा र कांग्रेसका वरिष्ठ नेताहरुसमेत उपस्थित

 पुस २७, २०७५ शुक्रबार १८:१३:५० | उज्यालो सहकर्मी

काठमाण्डौ - राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘२ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर शुक्रबार काठमाण्डौमा चियापान कार्यक्रम आयोजना गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आयोजना गर्नुभएको चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी हुनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँले सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सरकारले राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक बिदा नदिए पनि राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर राष्ट्रिय सम्मान गरेको उल्लेख गर्दै आफूलाई खुशी र सन्तोष लागेको बताउनुभयो ।

अध्यक्ष थापाले आगामी वर्षबाट सरकारले राष्ट्रिय सम्मानका साथ पृथ्वी जयन्ती मनाउने र यस दिनमा सार्वजनिक बिदा दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी ओली र सरकारका मन्त्रीहरु भने सहभागी भएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिक व्यवस्थाको रुपमा नभई मुलुक एकीकरण गर्ने योद्धाको रुपमा स्मरण गर्न आग्रह गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया