दैलेखको गढी सबैका लागि खुल्ला गरिने

 पुस २७, २०७५ शुक्रबार २०:५:५१ | अमर सुनार
unn.prixa.net

दैलेखको गढी

दैलेख – दैलेखको कोतगढी अब सबैले हेर्न पाउने गरी खुल्ला गरिने भएको छ । नेपाली सेनाको नाममा नापी भएको कारण कोतगढीमा सार्वजनिक रुपमा आवागमन हुन सकेको थिएन ।

२९७ औं राष्ट्रिय एकता दिवसको अवसरमा दैलेखको कोतगढीमा आयोजित उत्तरपश्चिम पृतना सुर्खेतका निमित्त पृतनापति सहायक रथी अर्जुन श्रेष्ठले गढी सबैका लागि खुल्ला गरिने बताउनुभएको हो ।

ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनलाई साझेदारी गरेर अघि बढाउने उद्देश्यले सम्बन्धित स्थानमै अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा शुक्रबार कोतगढीमा आयोजना गरिएको कार्यक्रम स्थानीयहरुले गढी सबैका लागि खुल्ला गरिनुपर्ने माग राखेपछि सहायक रथी श्रेष्ठले खुल्ला गरिने बताउनुभएको हो ।

नारायण नगरपालिकाले कोतगढीको मर्मत सम्भारका र सजावटका लागि काम गर्न चालु आर्थिक वर्षमा १० लाख रुपैंयाँ विनियोजन गरेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्ला समन्वय समितिले प्रदेश सरकार र रक्षा मन्त्रालयलाई कोतगढी सर्वसाधारणका लागि खुल्ला गराउन गरेको आग्रह बमोजिम सेनाले कोतगढी खुल्ला गराउन सहमत भएको दाबी गर्नुभयो ।

दैलेखको कोतगढी खुल्ला गराउँदा दैलेखको पर्यटन प्रवद्र्धनमा यसले सघाउने पूर्व जिविस उपसभापति एवं नागरिक समाजका अगुवा खड्गबहादुर सिजापतीले बताउनुभयो । बाइसे चौबिसे राज्यताका आफ्नो किल्ला रक्षाको निम्ति ढुंगैढुंगाले सानोमा एक क्वीण्टलदेखि पच्चीस क्वीण्टलभन्दा बढी तौलसम्मका ढुंगाहरुले १३ बुर्जामा प्याकौडा शैलीमा दैलेख सदरमुकामको दक्षिण किनाराको अग्लो स्थानमा कोतगढी बनाइएको छ ।

प्रमाणिक अभिलेख नभेटिए पनि यो कोतगढी झण्डै ३ सय वर्ष अघि बनेको हुन सक्ने इतिहासकारहरुको अनुमान छ । दैलेखमा एकै समयमा बनेका अनुमान गरिएका चारभन्दा बढी गढीहरु सुरक्षाको अभावमा जीर्ण भग्नावशेषमा परिणत भएका छन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Netra kathayat

    Jan. 11, 2019, 8:14 p.m.

    यस्ता पर्यटकिय स्थल कुन्ठित पारेर राखियको थियो ढिलै भयपनि सही निणॅय भयछ

  •  0 Reply

तपाईको प्रतिक्रिया