दैलेखी उपभोक्ताको क्रय शक्ति कमजोर

 पुस २८, २०७५ शनिबार १९:५४:५९ | अमर सुनार
unn.prixa.net

दैलेख – नेपाल राष्ट बैंकले गरेको ६० वटा मुख्य बजार केन्द्रको अध्ययनमा दैलेखका उपभोक्ताहरुको क्रय शक्ति सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागले मूल्य तथ्यांक सम्बन्धी दैलेखमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । सहायक निर्देशक गणेशप्रसाद गौतमले लगातार ६ वर्षदेखि गरिएको मूल्यस्थिति अध्ययनको आधारमा ६० वटा बजारलाई एक सय मानेर गरिएको कुलभारमा दैलेख सबैभन्दा कम शून्य दशमलव १८ प्रतिशत, दिपायल शून्य दशमलव १९, जुम्ला शून्य दशमलव ६० अनि सबैभन्दा धेरै काठमाण्डौमा ७ प्रतिशत क्रयशक्ति रहेको बताउनुभयो ।

हिमाली क्षेत्रका ५, पहाडीमा ३२ र तराईका २३ वटा मुख्य बजारमा दिनहुँ मूल्य अन्तर पर्ने तरकारी लगायतका ६८ वटाका साप्ताहिक, दैनिक उपभोग हुने खाद्यन्न समेतका १ सय ४१ को मासिक र ठूला–ठूला निर्माण सामग्री अनि बिलासिताका २ सय ८७ बस्तुहरुको त्रैमासिक रुपमा मूल्यस्थिति संकलन गर्ने गरिएको छ ।

ती तीन प्रकारका बस्तुहरु गरी जम्मा ४ सय ९६ बस्तुहरुको संकलित बिक्री मूल्य विश्लेषणका आधारमा उपभोक्ता मुद्रास्फिति पत्ता लागेको नेपाल राष्ट बैंकका अनुसन्धान शाखा निर्देशक दिपकराज लामिछानेले जानकारी दिनुभयो ।

देशभरको आर्थिक गतिविधि पत्ता लगाउन, आर्थिक स्तर सुधार गर्न योजना बनाउन, मौद्रिक उपकरणकरणको प्रयोग, मूल्यस्थिति बिचलन हुनबाट रोक्ने, मौद्रिक नीति तय गर्न, व्यापारलाई सुधार गर्न र उपभोक्ता हितलाई ध्यान दिन मूल्य तथ्यांक संकलन गर्ने गरिएको अन्तरक्रियामा बताइएको थियो ।

दैलेखमा दुईजना शिक्षकहरुले सदरमुकामका ५१ वटा तरकारी पसल हरेक शनिबार साप्ताहिक, १ सय १ वटा खाद्यन्न पसलमा मासिक र २ सय ६ वटा बिक्रेताहरुको पसलमै पुगेर त्रैमासिक बिक्री मूल्यको विवरण लिने गर्दछन् ।

फरक फरक ६० वटा बजार केन्द्रबाट संकलित तथ्यांक विश्लेषण, सफ्टवयर पोष्टिङ्ग, तथ्यांक प्रमाणीकरण गरेको आधारमा नेपाल राष्ट्र बैंकले मूल्यस्फिति मापन गर्ने गरेको सहायक निर्देशक रामचन्द्र आचार्यले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया