डोटी दरबारको संरक्षण गरिँदै

 पुष २९, २०७५ आइतबार १३:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा रहेको ‘डोटेली राजाको दरबार’ संरक्षण गर्ने भएको छ । यो दरबार संरक्षण तथा सम्बर्द्धनका लागि दिपायल सिलगढी नगरपालिकाले यस आर्थिक वर्षमा १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको यो दरबार संरक्षण सम्बर्द्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ । 

नेपालको राष्ट्रिय सम्पदाका रुपमा सूचिकृत यो दरबारको स्तरोन्नती गरी सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक संग्रहालयका रुपमा स्थापित गर्ने उद्धेश्यले दरबारको संरक्षण तथा सम्बर्द्धन गर्न लागिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘दरबार भग्नावशेष अवस्थामा छ, हामी यसको संरक्षण र सम्बर्द्धन गरेर नमुना संग्रालय बनाउने छौँ ।’

डोटी दरबार झण्डै १५ औं शताब्दीतिर निर्माण भएको हुन सक्ने अनुमान छ । यो ठाउँमा दुईवटा भग्नावशेष दरबार भवन, भैरव मन्दिर रहेका छन् भने दरबार क्षेत्रको जमिन भित्रभित्रैबाट सेती नदिमा नुहाउन जाने गुफासमेत रहेको छ । दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, बासुधारा जस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । दरबारमा ११ फिटभन्दा लामो ढुंगाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुंगा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भैसकेको स्थानियबासीन्दाहरु बताउँछन् ।

भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले पनि स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ । दरबारको स्थलगत अवस्था अवलोकनबाट प्राप्त भएका यथार्थ तथ्यहरु र दिपायल सिलगढी नगरपालिकाले गरिरहेको पहलबारे तत्काल पूरातत्व विभागमा प्रतिवेदन पेश गरी थप काम अगाडि बढाइने पुरातत्व विभागका अधिकृत विष्णु पाठकले बताउनुभयो ।

तत्कालका लागि दिपायल सिलगढी नगरपालिकाले छुट्याएको बजेटका आधारमा दरबारको भग्नावशेष अवस्थालाई उत्खनन् गरी बाँकी संरचना निर्माणको काममा अगाडि बढाइने पुरातत्व विभागका सब–इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया