भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिय...
बैशाख ८, २०८१ शनिबार
दोलखा – दोलखाको जिरी नगरपालिकाले व्यवसायिक रुपमा किवी खेती गर्ने कृषकलाई स्टेकिङ (थाङ्ग्रा) सहयोग गर्ने भएको छ ।
नगरपालिका क्षेत्रभित्र ३ रोपनीभन्दा बढी जग्गामा किवी खेती गर्ने किसानलाई थाङ्ग्रा सहयोग गर्ने भएको हो । नगरपालिकाको ५० प्रतिशत सहयोग र कृषकको ५० प्रतिशत लगानीमा किवीलाई थाङ्ग्राको व्यवस्था गरिनेछ ।
थाङ्ग्रा सहयोग कार्यक्रम अन्तरगत अहिले किसान छनौट गरी लाभग्राही किसान र नगरपालिकाबीच सम्झौता भइरहेको छ । सम्झौतापछि नगरपालिकाले उपलब्ध गराएको इस्टिमेट अनुसार किवीलाई फलामको थाङ्ग्रा दिएपछि नगरपालिकाले कूल लागतको ५० प्रतिशत भुक्तानी उपलब्ध गराउने नगरपालिका कृषि शाखाका नायव प्राविधिक सहायक इन्द्रकुमार राइले जानकारी दिनुभयो ।
थाङ्ग्रा सहयोग कार्यक्रमका लागि नगरपालिकाले ५५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै किसानले पनि ५५ लाख ५० हजार लगानी गर्नेछन् ।
जसअनुसार कूल एक करोड ११ लाख रुपैयाँ बराबरको थाङ्ग्रा यस वर्ष किवी कृषकलाई दिइनेछ । यति रकममा ११ हजार ९ सय ५० किवीका विरुवाले फलामको थाङ्ग्रा पाउनेछन् ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।