आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – चालु आर्थिक वर्षको ६ महिना सरकारको लागि निराशाजनक देखिएको छ ।
दोस्रो त्रैमासिक सकिँदा सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन भने विकास खर्चको अवस्था पनि उत्साहजनक रहेको छैन । जसबाट सरकारले भन्दै आएको समृद्धिमा सरकार नै गम्भीर नभएको देखिएको छ ।
लक्ष्यअनुसार उठेन राजश्व
सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४ खर्ब २९ अर्व रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । तर दोस्रो त्रैमासिकमा जम्मा ४ खर्ब १ अर्ब रुपैयाँ मात्रै राजश्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पोहोरको तुलनामा यो आर्थिक वर्षको पहिलो ६ महिनामा राजश्व संकलन २५ प्रतिशतले बढेको छ । तर राजश्व संकलनको लक्ष्य भने पूरा भएको छैन । सरकारले यो आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब रुपैया राजश्व संकलनको लक्ष्य राखेको छ ।
विकास खर्चको अवस्था पनि निराशानजक
सरकारले यो आर्थिक वर्षको लागि ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजिगत अर्थात विकास बजेट छुट्याएको थियो । तर पहिलो ६ महिनामा विकास खर्चको अवस्था अत्यन्तै निराशाजनक देखिएको छ ।
३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँमध्ये ६ महिनामा जम्मा ५३ अर्ब २९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम कुल विकास खर्चको जम्मा १७ प्रतिशतको हाराहारी मात्रै हो । सरकारले यो वर्ष विकास खर्चमा जोड दिने र असारे विकासलाई रोक्ने योजना बनाए पनि त्यो सफल नहुँदा यो वर्ष पनि विकास खर्चको अवस्था निराशानजक देखिएको छ ।
गएको आर्थिक वर्षको पहिलो ६ महिनामा ४८ अर्ब रुपैयाँ मात्रै विकास बजेट खर्च भएकोमा यो आर्थिक वर्षको ६ महिनामा ५ अर्बले खर्च बढेको छ । तर सरकारले राखेको लक्ष्य अनुसार भने यो खर्च सन्तोषजनक होइन ।
चालु खर्च ३५ प्रतिशत
सरकारले यो आर्थिक वर्षको लागि ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ चालु खर्च छुट्याएको थियो । तर पहिलो ६ महिनामा जम्मा ३५ प्रतिशत मात्रै रकम खर्च भएको छ । पुसको अन्तिमसम्म जम्मा २ खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँ चालु खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
‘समृद्धिका गफले देश चल्दैन भन्ने प्रमाण’
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले सरकारले काम नगर्ने तर गफ मात्रै गर्ने गरेको प्रमाण अहिले देखिएको बताउनुभएको छ ।
उज्यालो अनलाइनसँगको कुराकानीमा डाक्टर महतले भन्नुभयो, ‘सरकारले लोकप्रिय हुने नाममा बिनातयारीका योजना अघि सार्यो, दोस्रो कुरा प्रशासनिक क्षमतामा पनि वृद्धि गर्न सकेन र तेस्रो कुरा विगतमा सुरु गरिएका ठूला आयोजना पनि अलपत्र अवस्थामा छन्, यही कारणले नै विकास खर्च भएन ।’
यो आर्थिक वर्षको ६ महिनाको अवस्था हेर्दा समृद्धिका गफले मात्रै देश बन्दैन भन्ने पाठ सिकाएको पूर्व अर्थमन्त्री डाक्टर महतले बताउनुभयो ।
‘गफले मात्रै समृद्धि आउने भए पहिल्यै आइसक्थ्यो, समृद्धिको लागि ठूलो भिजन चाहिन्छ, योजना चाहिन्छ, तर अहिले त गफ मात्रै भयो अरु कुरा हुन सकेन’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।