भक्तपुरकाे पाँचतले दरबार क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध

 माघ १, २०७५ मंगलबार १९:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । 

विश्व सम्पदा सूचीमा सूचिकृत पाँचतले मन्दिर परिसरमा मंगलबारदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाइएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । 

नगरप्रमुख प्रजापतिले सिक्रीमा ताला लगाएर चारपाँग्रे सवारी रोक्न औपचारिक सुरुवात गर्नुभएको हो । सवारी साधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलको अवलोकनमा आउने  पर्यटकलाई सवारी साधनको अव्यवस्थित पार्किङ्ग, अनावश्यक भीड, अनावश्यक हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पुगेको र पर्यटकलाई तस्बिर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चार पाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो । 

नगर प्रमुख प्रजापतिले विश्व सम्पदास्थलको संरक्षण गर्न भक्तपुर घुम्न आउने पर्यटकलाई बाधा नपुगोस भनेर सवारी प्रवेशमा रोक लगाएको बताउनुभयो । 
सवारी साधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथको मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो । 

पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रम्ह्र महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोका यताको चार किलाभित्र बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपांग्रे सवारी साधन प्रवेश निषेध गरिएको नगरप्रमुख प्रजापतिले बताउनुभयो । 

नगरपालिकाले अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, शववाहन, दमकल लगायतका साधनलाई भने सञ्चालनमा रोक लगाइएको छैन । 
यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो ।

स्थानीय जनताको सल्लाह र सुझाव लिएर अन्य सम्पदास्थलमा समेत सवारी प्रवेश रोक लगाउन सकिने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया