प्रधानमन्त्रीको निर्देशन  : विकास रोक्ने त्यो अभागी रुखलाई जरैदेखि उखेल्नू

 माघ २, २०७५ बुधबार २१:४५:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – ठूला विकास आयोजनामा देखिएका समस्या र तिनको समाधानको लागि बुधबार राष्ट्रिय योजना आयोगमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री, सचिव, प्रदेश योजना आयोगका प्रमुख लगायतको उपस्थिति थियो । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले ठूला विकास आयोजनाका समस्या सुनाउनुभयो । यस्तै मन्त्रीहरुले पनि समस्या सुनाए । 

समस्यामध्येको एक थियो वनका कारण विकास निर्माणमा भएको समस्या । बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै छलफल गरेका वनमन्त्री शक्ति बस्नेतले विकास निर्माणका काममा रुखको विवाद धेरै आएको बताउनुभएको थियो । 

बैठकमा सबैका कुरा सुनेपछि जवाफ दिने पालो थियो प्रधानमन्त्री केपी शर्मा ओलीको । उहाँले बजेट खर्च हुन नसकेको, विकास निर्माणमा विनाकारण ढिलासुस्ती भएको, सरकारका विरुद्धमा अफवाह फैलँदासमेत सम्बन्धित मन्त्रालयले खास कुरा सार्वजनिक नगरेको लगायतका गुनासो गर्नुभयो । 

त्यसपछि उहाँ प्रवेश गर्नुभयो वनको प्रसंगमा । प्रधानमन्त्री ओलीले वनका कारण विकास रोकिन नहुने र विकासका नाममा अन्धाधुन्ध वन विनाश हुन नहुने बताउनुभयो । 

‘हामीले रुख काटिन्छ कि भनेर विकास रोक्ने कुरा पनि भएन, अनि अन्धाधुन्ध रुख काटेर पनि विकास गर्न हुन्न, वातावरणको मामलामा संवेदनशील हुनैपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

केही समयअघि धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने सडक खण्डमा ३१ वटा रुख  काट्न नमिलेपछि रुख छलेर बाँकी भागमा पिच गरिएको नागरिक दैनिकमा समाचार नै प्रकाशित भएको थियो । सडकको बीचमै रुख भएकाले दुर्घटना हुने गरेको पनि स्थानीयले बताएका थिए । 

बुधबारको बैठकमा त्यै रुखप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा रुखले विकास रोकेको र बाटो बनाउन बाधा भएको कुरा सुुनियो,  कुन चाहिँ अभागी रुख हो त्यो, वन मन्त्रीजी तात्तिएर त्यसलाई जरैबाट उखेल्नुपर्यो ।’

ओलीले ठट्टा गर्न छाड्नुभएन । ‘त्यो अभागी रुख मात्र होइन, अरु कति रुखले उभिएर विकासको दुर्गति हेरेका छन्, तिनलाई पनि काट्दा फरक पर्दैन ।’


 


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया