आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएकाे छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई सम्मान गरेको हो ।
काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
२०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले ब्यहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नुभएकाे थियाे । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल हुनुभएको छ ।
घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गर्नुभएको छ । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उहाँकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेको जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताउनुभयो । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उहाँले बताउनुभयो ।
भृकुटीमण्डपको प्रदर्शनीस्थलमा सुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताउनुभयो ।
एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।