विश्वकप फुटबल : जापानी प्रशिक्षक भन्छन्, कोलम्बियालाई जितेर ‘सानो जादु’ देखाउँछौं

 असार ५, २०७५ मंगलबार १२:५४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा कोलम्बियाले जापानलाई ४–१ ले हराएर प्रिक्वार्टरफाइनल पुगेको थियो ।

नकआउट चरणमा उरुग्वेलाई हराएर पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको कोलम्बिया घरेलु टिमसँग भने पराजित भएको थियो । ब्राजिलबाट घर फर्किनु अघि कोलम्बियाले करोडौं खेलप्रेमीको मन जितेको थियो ।

स्टार खेलाडी जेम्स रोड्रिग्वेज र रामाडेल फाल्काओको प्रेरणामा अर्जेन्टाइन प्रशिक्षक जोसे पेकरम्यानको टोली कोलम्बिया यसपटक पनि जापानकै समूहमा परेको छ । र, कोलम्बिया यसपटक विश्वकपको अघिल्लो संस्करणभन्दा माथि जाने प्रयासमा छ । अघिल्लो संस्करणमा घाइते भएका कारण खेल्न नसकेका फाल्काओ फर्किँदा कोलम्बिया टिममा उर्जा थपिएको छ ।

समूह ‘एच’मा रहेको जापान र कोलम्बियाको खेल सारान्स्कस्थित मोर्डोभिया एरेनामा नेपाली समय अुनसार बेलुकी पौने ६ बजेपछि सुरु हुनेछ । जापानलाई अघिल्लो संस्करणको हारको बदला लिने मौका आएको छ । अघिल्लो संस्करणमा कोलम्बियासँग भोगेको हारका कारण समूह चरणबाटै बाहिरिएको जापान नकआउट चरण खेल्ने लक्ष्यमा रहेको छ । सन् २००२ र २०१० मा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको ‘सामुराई ब्लू’ रसियाली मैदानमा प्रभाव जमाउने प्रयासमा हुनेछ । 

एसियाली छनोट प्रतियोगिता पार गर्न संघर्ष गरेको जापानले विश्वकपको दुई महिनाअघि प्रशिक्षक भाहिल हालिलहोजिकलाई बर्खास्त गर्दै अकिरा निशिनोलाई नियुक्त गरेको थियो । जापानी राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर निशिनोले कोलम्बियालाई जितेर एउटा सानो ‘जादू’ देखाउने प्रतिक्रिया दिएका छन् ।

उनले एक सयभन्दा धेरै खेल खेलिसकेका भेट्रान खेलाडीहरु युतो नागातोमो, शिन्जी ओकाजाकी र कप्तान माकोटो हासाबेलाई टिममा समावेश गरेका छन् । त्यस्तै स्टार खेलाडीहरु शिन्जी कागावा र काइसुके होण्डा पनि टिममा छन् ।

२०१४ का गोल्डेन बुट विजेता जेम्स रोड्रिग्वेज र फाल्काओको जोडी रहेको कोलम्बिया फिफा वरियतामा १६ औं नम्बरमा छ भने जापानको बरियता ६१ हो । दुवै टिम आजको खेल जित्दै समूहका अन्य टिम पोल्याण्ड र सेनेगलसँगको भिडन्तका लागि तयार रहन चाहन्छन् ।

‘हामी जित्नका लागि रसिया जाँदैछौं’, रसियाका लागि उड्नुभन्दा अघि कोलम्ब्यिाका खेलाडी फाल्काओले इन्टाग्राममा पोस्ट गरेका थिए । कोलम्बियाको विश्वकप छनोट भने केही धरमराएको थियो । १८ खेलमा २१ गोल गरेको कोलम्बिया पेरुभन्दा एक अंकमात्र अघि रहँदै चौथो स्थानमा विश्वकपका लागि छनोट भएको थियो ।

विश्वकप छनोट पछि पाँच खेल खेल्दा कोलम्बियाले दुई जित, दुई बराबरी र एक हारको नतिजा हात पारेको थियो । यस क्रममा उसले कोरियासँग २–१ को पराजय भोग्यो भने चीनलाई ४–० ले फ्रान्सलाई ३–२ ले हरायो । अष्ट्रेलिया र इजिप्टसँगको खेलमा भने गोल गर्न नसक्दा बराबरीमा रोकियो ।

अर्जेन्टाइन प्रशिक्षक जोसे पेकरम्यानलाई फुटबल रणनीतिका धुरन्धर मानिन्छ । उनकै प्रशक्षिणमा कोलम्बियाले अघिल्लो संस्करणमा क्वार्टर फाइनलको यात्रा तय गरेको थियो । र यो संस्करणमा पनि कोलम्बियालाई दाबेदारको सूचीमा उभ्याउन सफल भएका छन् ।

कोलम्बिया भर्सेस जापान

–यसअघि खेलेका तीन खेलमा कोलम्बियालाई जापानले हराउन सकेको छैन । दुई खेल कोलम्बियाले जितेको थियो भने एक खेल बराबरी भएको थियो । 

–यी दुई टिम यसअघि सन् २०१४ को विश्वकपमा आमनेसामने भएका थिए, जुन खेलमा कोलम्बिया ४–१ ले विजयी भएको थियो ।

–अघिल्लो संस्करणमा कोलम्बियाले चार खेल जितेको थियो । त्यसअघि उसले खेलेको चारवटा विश्वकपमा तीनवटामात्र जित हात पारेको थियो ।

–विश्वकपमा कोलम्बियाले १८ खेल खेल्यो, तर कुनै पनि खेल गोलरहित बराबरीमा सकिएन ।

प्लेयर्स टू वाच

  • जेम्स रोड्रिग्वेज –कोलम्बिया

जेम्स रोड्रिग्वेज अघिल्लो संस्करणको विश्वकपमा गोल्डेन बुट जित्दा जम्मा २२ वर्षका थिए । त्यसबेला उनले ६ गोल गरेका थिए । रियल मड्रिमा स्थान बनाउन नसकेपछि लोनमा बायर्न म्युनिख गएका रोड्रिग्वेजले गत सिजन क्लबमा ७ गोल गर्दै ११ एसिस्ट गरेका थिए ।

विश्वकप छनोट प्रतियोगितामा ६ गोल र चार असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि ६३ खेलमा २१ गोल गरिसकेका छन् ।

  • शिन्जी कागावा–जापान

जर्मन क्लब बोरुसिया डोर्टमण्डमा खेल्दै आएका कागावाले जापानका लागि ९० खेल खेलेका छन् । अघिल्ला प्रशिक्षक भाहिदले टिमको रणनीतिमा फिट नहुने बताएपछि कागावा प्रशिक्षकसँग रुष्ट थिए ।

युरोपेली लिगको राम्रो अनुभव भएका कागावाले जापानका लागि २९ गोल गरेका छन् । प्रमुख गोलकर्ता ओकाजाकीले ११२ खेलमा जापानका लागि ५० गोल गरिसकेका छन् ।

कोलम्बिया टिम

प्रशिक्षकः जोसे पेकरम्यान । 

गोलकिपरः डेविड ओस्पिना, कामिलो भर्गास, जोसे क्वाड्राडो । 

डिफेन्डरः क्रिष्टियान जापाटा, ओस्कार मुरिल्लो, सान्टियागो एरियाज, यरी मिना, जोहान मोजिका फारिज डियाज, डेभिनसन सान्चेज । 

मिडफिल्डरः विल्मार बारियोस, कार्लोस सान्चेज, अबेल अगुइलार, जेम्स रोद्रिगेज, जुवान क्वाड्राडो, माटियस उरिब, जेफर्सन लेर्मा, जुवान क्वीन्टेरो, जोसे इज्क्वेरडो ।

फरवार्डः कार्लोस बाक्का, रामाडेल फाल्काओ, लुईस मुरियल, मिगेल बोर्जा ।

जापान टिम

प्रशिक्षकः अकिर निशिनो ।

गोलकिपरः इजी कावाशिमा, मासाकी हिगाशिगुची, कोसुके नाकामुरा ।

डिफेन्डरः नाओमिची ऐदा, गेन शोजी, युतो नागातोमो, वातारु इन्दो, हिरोकी साकाई, तोमोआकी माकिनो, गोतोकुु साकाइ, माया योसिदा ।

मिडफिल्डरः गाकु शिबासाकी, शिन्जी कागावा, होतारु इामागुची, माकोतो हासाबे, र्‍योता ओशिमा ।

फरवार्डः काइसुके होण्डा, गेन्की हारागुची, शिन्जी ओकाजाकी, ताकाशी उसामी, योशिनोरी मुतो,ताकाशी इनुई, युया ओसाको ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया