विभिन्न टेण्डरबाट बचेको रकमबाट गाउँपालिकाले किन्यो तीन एम्बुलेन्स

 माघ ७, २०७५ सोमबार १७:३९:२१ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यानको छत्रेश्वरी गाउँपालिकाले विभिन्न समयमा आह्वान गरेको टेन्डरबाट बचेको रकमबाट एम्बुलेन्स खरिद गरेको छ । 

यसरी बचेको रकमबाट तीनवटा एम्बुलेन्स खरिद गरिएका हुन् । प्रति एम्बुलेन्स १० लाख ५० हजार रुपैयाँका दरले जम्मा ३१ लाख ५० हजार रुपैयाँमा तीनवटा एम्बुलेन्स खरिद गरेको अध्यक्ष सन्ताेष केसीले बताउनुभयो । 

‘ग्रामीण क्षेत्रमा उपचार गर्नको लागि एम्बुलेन्स तथा यातायातका साधनको उचित ब्यवस्था नभएका कारण कैयौं बिरामीले ज्यान गुमाउने गरेका कारण यस्ता समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘अब भने गर्भवती महिला र सिकिस्त विरामीलाई समयमै उपचार गर्न सहज हुनेछ ।’

गाउँपालिकाले खरिद गरेका एम्बुलेन्स अति गरिब परिवारका लागि पनि सहज बन्नेछन् । पैसाको अभावमा कतिपय घर परिवारले एम्बुलेन्सको खर्च समेत उठाउन सक्दैन थिए तर अब भने सबैले एम्बुलेन्स प्रयोग गर्न सक्ने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका यहाँका बिरामीहरुको पहिचान गरी एम्बुलेन्सको शुल्कमा पनि छुट दिइनेछ ।’

गाउँमा कोही बिरामी भएको समयमा उपचारको लागि एम्बुलेन्स चाहिएमा श्रीनगर र खलंगाबाट बोलाउनु पर्ने समस्या हटेको भन्दै स्थानीय रमेश रेग्मीले खुशी व्यक्त गर्नुभयो ।

गाउँपालिकाले एम्बुलेन्स सञ्चालनसम्बन्धी बनाएको कार्यविधि अनुसार स्वास्थ्यचौकीले एम्बुलेन्स संचालन गर्न पाउने स्वास्थ्य शाखा प्रमुख अम्मर शर्माले बताउनुभयो । 

खरिद गरिएका एम्बुलेन्स गाउँपालिकाले तीनवटा संस्थानमा सञ्चालनमा रहेका बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकीलाई आज सोमबार हस्तान्तरण गरिएको छ । 

छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर-१ मा रहेको दमाचौर स्वास्थ्यचौकी, वडा नम्बर-४ मा रहेको झिम्पे स्वास्थ्यचौकी र वडा नम्बर ६ मा रहेको भोटेचौर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया