डोटीमा हिमपात, यातायात अवरुद्ध

 माघ ८, २०७५ मंगलबार १२:३०:१० | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै भएको वर्षाका कारण डोटीका लेकाली बस्तीहरु हिउँले सेताम्मे भएका छन् । 

हिमपातका कारण स्थानीयहरु घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदार धुरा, उदैनीलगायतका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपात अहिले भैरहेको स्थानीय दीपक खवासले बताउनुभयो । 

हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने भेगका किसानहरु खेती सप्रिने आशामा खुशी भएका छन् । त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करिब दुई फीट बाक्लो हिउँ परेको नेपाली सेनाले जनाएको छ । 

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा वर्षा भैरहेको छ । हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भिमदत्त राजमार्ग पनि बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

डोटीको गैरा र डडेल्धुराको हगुल्टेमा हिमपात भएका कारण दर्जनौँ सवारी साधन स्याउले र डोटीको गैरामा जम्मा भएको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । हिउँ हटाउन र बाटो सुचारु गराउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर मगाइएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया