पशुपतिबाट चोरी भएकाे मोटरसाइकल सिन्धुलीमा भेटियाे, चालक प्रहरी नियन्त्रणमा

 माघ १५, २०७५ मंगलबार १६:४७:२५ | बाबुराम देवकोटा

सिन्धुली – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चोरीको मोटरसाइकलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । 

बीपी राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका–४ हिरापानीमा गरिएको जाँचका क्रममा चोरीको मोटरसाइकलसहित तीनपाटन गाउँपालिका–२ भीमस्थानका १९ वर्षीय रोशन सुनुवारलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी नायब निरीक्षक विष्णु बस्नेतका अनुसार जाँचका क्रममा सवारी दर्ता प्रमाणपत्र अनुसार मोटरसाइकलको नम्बर प्लेट नभएपछि मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइएको हो । 

सुनुवारले नक्कली नम्बर प्लेट राखेर चलाएको बा ८७ प ८९७४ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिइएको हो । मोटरसाइकलको वास्तविक नम्बर प्लेट बा ९३ प ८५१७ रहेको खुल्न आएको छ । 

पक्राउ परेका सुनुवारले आफूले साथीको मोटरसाइकल मागेर चलाएको बताएको र आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाइएको नायब निरीक्षक बस्नेतको भनाइ छ । 

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको मोटरसाइकल नुवाकोट, थानपति घर भएका केदार पाठकको भएको र गएको साउन २८ गते पशुपति क्षेत्रबाट हराएको उजुरीका आधारमा खुलेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया