आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको भन्दै त्यसको विरोध गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता रिजालले प्रतिपक्षी दलको विरोधको आवाजलाई दुई तिहाईको दम्भबाट दबाउने गरी सरकार अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको भन्दै कांग्रेसले सरकारलाई अधिनायकवादी बाटोमा हिँड्न नदिने चेतावनी दिनुभएको हो ।
‘कांग्रेस त देखेकै छैन भन्छ सरकार । कांग्रेस देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्री’, रिजालले भन्नुभयो, ‘कांग्रेसलाई राणा र राजाले पनि नदेख्दा के हालत भयो हेर्नुहोला ।’
लोकतन्त्रलाई उपहास गर्नेहरु इतिहासमा सीमित हुँदै गएको भन्दै उहाँले त्यो बाटोमा नहिँड्न सरकारलाई सचेत गराउनुभयो । ‘कांग्रेसलाई राणाले पनि देखेनन् । जुन बेला देखे धेरै ढिला भइसकेको थियो । कांग्रेसलाई महेन्द्रले पनि देखेनन् । महेन्द्रको व्यवस्थालाई प्रजातन्त्र पुनःस्थापना गरेर बिदा गर्यो । ज्ञानेन्द्रले देखेनन् कांग्रेसलाई । ज्ञानेन्द्रलाई बिदा गरियो । राजतन्त्रको अन्त्य भयो ।’ नेता रिजालले भन्नुभयो, ‘कांग्रेस नदेख्नेहरुको लाममा कोही पनि उभिएको छ भन्दा हामीलाई धेरै ठूलो चिन्ता लाग्दैन । कांग्रेस नदेख्नेहरुले कांग्रेसलाई देख्नै पर्छ । लोकतन्त्रलाई नदेख्नेहरुले लोकतन्त्रलाई देख्नै पर्छ । त्यो भन्दा अर्को बाटो निर्माण हुन सक्दैन ।’
दुई तिहाईको दम्भमा रहेको सरकारले निरीह सत्याग्रही डा.गोविन्द केसीको बोली दबाउन शक्ति प्रयोग गरेको आरोप लगाउनुभयो ।
सरकारकै प्रवक्ता एवं मन्त्रीले गोविन्द केसीसँग कुरा गर्न आवश्यक छैन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएर अंहकार र दम्भ देखाएको भन्दै उहाँले लोकतन्त्रको सही मार्ग समात्न सरकारलाई सचेत गराउनुभयो ।
उहाँले दुई तिहाईको दम्भको सरकार सत्याग्राहीसँग लडाई गर्न उद्धत रहेको देखिएको बताउनुभयो ।
‘अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले सरकारले डा. केसीसँग वार्ता गर्न नखोजेको हो’, भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘होइन भने अझैसम्म डा.केसीको जीवन रक्षाको पहल किन हुन सकेन ?’
उहाँले वार्ता र संवादबाट तत्काल समस्या समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सरकारले विधिलाई कुल्चिएर प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व नभएको बेला आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको भन्दै उहाँले आपत्ती पनि जनाउनुभयो ।
यस्तै सभामुखको भूमिका उत्तरदायी नभएको भन्दै उहाँले सरकारको निर्देशनमा नभई संसदीय मर्यादालाई उचाइमा पुर्याउने बाटोमा अघि बढ्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सरकार गठन र विघटनका लागि मात्रै संसद नबनेको भन्दै सरकारलाई जनउत्तरदायी र प्रभावकारी बनाउन पनि संसदको भूमिकामा महत्वपूर्ण रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।