आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
चितवन - पर्साको ग्रामिण क्षेत्र ठोरीमा बसेर पत्रकारितामा सक्रिय पत्रकार प्रेम लामा अमेरिकाबाट प्रदान गरिने ‘कामदा–मिलन’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
चितवनको पटिहानीमा आयोजित नेपाल महिला पत्रकारको राष्ट्रिय भेलामा लामालाई सम्मानसहित ४ सय अमेरिकी डलर (४४ हजार ६ सय १५ नेरु) नगदले पुरस्कृत गरिएको हो ।
पत्रकार लामालाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा सम्मानसहित नगदले पुरस्कृत गर्नुभएको हो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान्सफ्रन्सिसकोबाट प्रकाशित हुँदै आएको हलिउड खबर डटकमले मोफसलमा रहेर पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना बमोजिम लामालाई यस वर्ष पुरस्कार प्रदान गरेको हो ।
पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारितामार्फत समाज परिवर्तन गर्न लागि परेको भन्दै लामालाई पुरस्कृत गरिएको हलिउड खबर डटकमका सम्पादक कृष्ण केसीले जानकारी दिनुभयो ।
लामालाई पुरस्कार दिने भनेर हलिउड खबर डटकमको २०१८ डिसेम्बर ९ तारिखका दिन आयोजित वार्षिकोत्सव कार्यक्रममा घोषणा गरिएको थियो । ग्रामिण क्षेत्रमा बसेर पत्रकारितामा लागेकाहरुको मनोवल उच्च बनाउन पुरस्कारको स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारका संस्थापक रोशन अधिकारीले बताउनुभयो । स्वर्गीय माता पिताको सम्झनामा अधिकारीले अमेरिकामा ‘कामदा मिलन’ पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका–१, सरस्वतीनगर घर भएका लामालाई पत्रकारिता माध्यमद्वारा समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै सम्मानसहित नगदले पुरस्कृत गरिएको सम्पादक केसीले जानकारी दिनुभयो ।
मोफसलमा रहेर पत्रकारिता मार्फत समाज परिवर्तनका लागि योगदान पुर्याउने पत्रकारको हौसला बढाउन प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मानित गरिँदै आएको हलिउडखबरका नेपाल प्रतिनिधि सोनी शर्माले जानकारी दिनुभयो ।
डेढ दशकदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर पत्रकारितामा सक्रीय लामालाई थप हौसला मिलोस् भनेर पुरस्कार प्रदान गरिएको फाउन्डेसनका रेशम अधिकारीले बताउनुभयो । पत्रकार लामा स्थानीय एफएम रेडियोसहित वीरगंजबाट प्रकाशित हुने प्रतिक दैनिकमा आवद्ध हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।