आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – संघीय संसदको कानुन, न्याय तथा मावन अधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले संविधान अनुकुल कानुन बनाउन बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको हो । संविधान अनुकुल कानुन बनाउन तयार पारिएको विधेयक परिमार्जनसहित पारित गरिएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनु भयो ।
विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगलगायत अन्य आयोगसम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकूलका प्रावधानहरु संशोधन गर्ने उल्लेख गरिएको छ । शिक्षा ऐन, विदेशी विनियम ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत प्राधिकरण ऐनलगायतका ऐनहरुलाई संघीयता अनुकुल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ ।
विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले संविधानसँग बाझिएका सबै कानुन तत्काल निर्माण गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य देवप्रसाद गुरुङले राज्यप्रति उत्तरदायी हुनेगरी निजी क्षेत्रलाई अघि बढाउन कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संविधानको मर्म रहेकाले निजी क्षेत्र पनि राज्यप्रति उत्तरदायी हुनेगरी कानुन निर्माण गर्न सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।
समितिकी अर्का सदस्य विमला विश्वकर्माले सबै प्रकारको जातीय विभेद अन्त्य गर्ने संविधानको मूल मर्म अनुसार कानुन निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले संविधान अनुकूलका कानुन निर्माणको काममा सचेत रहन पनि सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा समितिका सदस्यहरुले संविधान अनुकूल हुनेगरी सबै कानुन संशोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।