निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत नियुक्त

 माघ २०, २०७५ आइतबार १६:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लामो समयदेखि रिक्त रहेको दिल्लीस्थित नेपाली दूतावासले राजदूत पाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली आवासीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको छ । 

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो । संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

मन्त्रिपरिषद्ले सिफारिस गरेकाे आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो ।

तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत वर्ष प्रतिनिधिसभामा उम्मेद्वार बन्न राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन थियो ।  

वि.सं.२००० मा सल्यान जिल्लाको खलंगामा जन्मनुभएका आचार्यले कानुनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गर्नुभएको छ । विद्यार्थी छँदा नै २०१९ मा राजनीतिमा लागेका आचार्य २०४२ बाट कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो ।

आचार्य वाममोर्चाको तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री समेत बन्नु भएको थियो । त्यसपछि २०५३ देखि २०५६ सम्म आचार्य श्रीलङ्काकाको लागि नेपाली राजदूत बन्नुभयो ।

पहिलो संविधानसभामा नेपाली कांग्रेसले आचार्यलाई मनोनित कोटाबाट संविधान सभा सदस्य बनाएको थियो । पछिल्लो समय राजनीतिमा निस्कृय रहेका आचार्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।  
 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया