राजनीतिक खेल झुर, क्रिकेट खेलले फुरफुर !

 माघ २१, २०७५ सोमबार १४:२२:८ | मिलन तिमिल्सिना
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामले संसार आश्चर्यचकित भयो भनेर हँसाएकै बेला क्रिकेट खेलाडीले साँच्चै संसारलाई आश्चर्यचकित बनाएका छन् ।

प्रधानमन्त्रीको हाँसो, ठट्टा र अरु नेताहरुका झुर काम र बोलीले दिग्दार भएका नेपाली क्रिकेट खेलाडीले थाम्नै नसक्ने खुशी दिएपछि फुरफुर भएका छन् । 

यूएईविरुद्धको एकदिवसीय र टी–ट्वेन्टी शृङ्खला जितेर नेपालले इतिहास रचेपछि राजनीतिको निराशाबीच खेलको उत्साह थपिएको हो । क्रिकेट खेलाडीको आफ्नै बलबुता र मेहनतले मिलेको यो उत्साह र खुशियालीमा राजनीतिक खेलाडी पनि मख्ख छन् । आफूहरुले केही गर्न नसके पनि खेलाडीले देशको शान बढाउने काम गरे भनेर बधाई दिइरहेका छन् ।

नेताहरुबाट वाक्क मात्रै

क्रिकेट खेलाडीले बेलाबेला नेपालीलाई उत्साह थप्दै गर्दा सत्तारुढ र विपक्षी दलका नेताबाट भने नेपालीले सधैँजसो निराशा मात्र भोग्दै आएका छन् । देशमा दुई तिहाईको बलियो सरकार छ । यसअघि पटक–पटक सरकार चलाएको जिम्मेवार प्रतिपक्ष छ । सरकारको कामलाई खबरदारी र प्रतिपक्षलाई जिम्मेवार बनाउने नागरिक संघसंस्था पनि थुप्रै छन् । तर सरकार, प्रतिपक्ष र नागरिक समाज कसैले पनि नागरिकलाई खुशी र सुखी बनाउने गरी काम नै गर्न सकेका छैनन् ।

भ्रष्टाचारीको मुखै हेर्दिन भनेर प्रधानमन्त्रीले भाषण गरे पनि भ्रष्टाचार, अनियमितता र कालोबजारी हटेको छैन ।

सरकारकै कुरा गर्ने हो भने केपी शर्मा ओली नेतृत्वको सरकारले एकवर्षे कार्यकाल पूरा गर्नै लागेको छ । पोहोर चुनाव सकिएर कम्युनिष्ट नेतृत्वको बलियो सरकार बन्न लागेको बेला आम नागरिकले ओलीबाट धेरै आशा र भरोसा गरेका थिए । पहिलो कार्यकालमा केही गर्न खोजेका ओलीले दोस्रोपटक सत्ता सम्हालेलगत्तै साँच्चै काम गरेर देखाउनेछन् भन्ने सबैलाई लागेको थियो । तर बितेको एक वर्षमा ओली नेतृत्वको सरकारबाट आमन ागरिकले आशाभन्दा धेरै निराशा मात्रै भोगेका छन् । 

नागरिकको दैनिक जीवनयापन सहज बनाउने र देखिनेगरी केही काम नै भएको छैन भन्दा पनि हुन्छ । योजना, प्रतिबद्धता र भाषणमा बाहेक व्यवहारमा नागरिकले महसुस गर्न सक्ने काम यी यी हुन् भनेर छुट्याउनै हम्मेहम्मे पर्छ ।

हो, काठमाण्डौको कलंकी–कोटेश्वर चक्रपथ, मुग्लिन–नारायणघाटलगायतका केही सडक चिल्ला र फराकिला भएका छन् । काठमाण्डौका सडकमा धुलो उड्न केही कम भएको छ । केही स्थानीय तहले केही राम्रा कामको अभ्यास थालेका छन् । यातायातमा सिण्डिकेट हटेको घोषणा भएको छ । तर सडकमा हिँड्दा र गाडीमा यात्रा गर्दा नागरिकले पहिलेकोभन्दा सहज महसुस गर्न पाएका छैनन् ।

बाँझो जमिन राख्नेलाई कारबाही गर्ने, अनि स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर कामै थालेको सरकारले किसान र साना व्यवसायीका ससाना समस्या पनि हल गर्न सकेको छैन । बन्दा र काउली फलाएका किसान आफ्नो पसिनाको मूल्य नपाएपछि उत्पादन बारीमै सडाउन र कुहाउन बाध्य छन् । 

भ्रष्टाचारीको मुखै हेर्दिन भनेर प्रधानमन्त्रीले भाषण गरे पनि भ्रष्टाचार, अनियमितता र कालोबजारी हटेको छैन । मूल्यवृद्धि उस्तै छ । सर्सतीभन्दा आमनागरिकले दैनिक जीवनमा अनुभव गर्न सक्नेगरी राहत र आश भेट्याउनै सकेका छैनन् ।

‘बेला न कुबेला, भेनेजुएला’ प्रकरणले सरकार र सत्तारुढ दल बिनाअर्थको झमेलामा फसेको छ ।

केही ठूला आयोजना र विकास निर्माणका कामले गति लिने संकेत देखिए पनि चुनावको बेला नागरिकलाई आश देखाएअनुसार ओली नेतृत्वको सरकारले केही गर्नै सकेनभन्दा पनि हुन्छ । प्रधानमन्त्री ओली हरेक भाषणमा झटकलाग्दा र उदेकलाग्दा कुरा मात्रै छाँट्नुहुन्छ, कुराअनुसार झटकलाग्दो र उदेकलाग्दो काम थाल्नुहुन्न । अरु मन्त्रीहरुका काम गराइ पनि खासै उत्साह जगाउने खालका छैनन् । के–के न गर्छु भनेर सिंहदरबार छिरेका नेताहरु केमा किन अल्झिए भनेर नागरिकले खुट्याउनै सकेका छैनन् ।

सरकारलाई जिम्मेवार बनाउनुपर्ने सत्तारुढ दल नेकपा आफै आन्तरिक किचलोमा छ । केन्द्रमा एकता भए पनि जिल्ला र स्थानीय तहमा अझै पार्टी एकता भएको छैन । नेतृत्व तहमै पहिलेको एमाले र माओवादीको ‘भूत’ सवार छ । भेनेजुएलाको आन्तरिक मामलामा बोल्न हुने थियो कि थिएन र बोलिसकेपछि अब के गर्ने भन्नेमै नेताहरु अलमलमा छन् । ‘बेला न कुबेला, भेनेजुएला’ प्रकरणले सरकार र सत्तारुढ दल बिनाअर्थको झमेलामा फसेको छ ।

सरकारलाई लयमा हिँडाउनको लागि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी कांग्रेसको हालत पनि उस्तै छ । कांग्रेसका नेताहरु आन्तरिक किचलोबाट माथि उठ्नैसकेका छैनन् ।

डा. गोविन्द केसीको समर्थनमा केही दिन सदन अवरुद्ध गर्दै आएको कांग्रेसले प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका निर्वाह गर्न असफलजस्तै भएको छ । उसका कार्यकर्ता सरकारी गाडी जलाउने काममा रमाउन थालेका छन् । यो काम खराब हो भनेर गगन थापालगायतका केही नेताले भने पनि त्यस्ता खराब काम गर्नेलाई कारबाही गर्न सक्ने आँट कांग्रेसमा छैन । गुटबन्दी र आन्तरिक आरोपप्रत्यारोपबाट माथि उठ्ने खुड्किला नै नभेटेर कांग्रेसका नेताहरु रनभूल्लमा छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलकै हालत यस्तो छ भने अरु साना दलले झन् नागरिकलाई कसरी आश बढाउन सकून् र ! उनीहरु पनि ठूला दलकै पदचिन्ह पछ्याएर रुमल्लिरहेका छन् ।

क्रिकेटको आश र सरकारमाथिको विश्वास

देशमा सरकार र दलहरुका काम गराइले दिक्क बनाइरहेको बेला युवा क्रिकेट खेलाडीले एकाएक नेपालीको मुहारमा चमक ल्याइदिएका छन् । यूएईविरुद्धको एकदिवसीय र टी–ट्वेन्टी शृङ्खला जितेर इतिहास रचेसँगै नेपालीको मुहार धपक्क बलेको हो । 

सरकारले बधाई, सम्मान र पुरस्कार वितरणमा मात्रै आफूलाई सीमित गर्न खोज्यो भने यो उत्साहले निरन्तरता नपाउन सक्छ ।

विदेशमा गएर उसकै भूमिमा शानदार प्रदर्शनसहित दुई दुईवटा सिरिज जित्नुसबै नेपालीका लागि गौरवको विषय हो । रंगशाला लगायतका अरु भौतिक संरचना र आवश्यक सुविधा नभए पनि नेपाली क्रिकेट खेलाडीले मौका पायो भने संसारलाई चकित बनाउन सक्छन् भन्ने यो उदाहरण हो ।

योसँगै नेपाली क्रिकेटमाथि अन्तर्राष्ट्रिय समुदायको ध्यान थप तानिएको छ । नेपाल क्रिकेटमा कमजोर छैन भन्ने सन्देश दिएको छ । तर यसअघि बेलाबेला र अहिले योबेला नेपाली क्रिकेटले दिलाएको यो खुशी कायम राख्न भने धेरै काम गर्न बाँकी छ । 

क्रिकेटको बलिङ र ब्याटिङमा चम्केको लयलाई कायम राख्दै अझै सुधार्न खेलाडीले त ध्यान दिनुपर्छ नै । त्योभन्दा पनि ठूलो कुरा सरकारले बधाई, सम्मान र पुरस्कार वितरणमा मात्रै आफूलाई सीमित गर्न खोज्यो भने यो उत्साहले निरन्तरता नपाउन सक्छ ।

नेपाली क्रिकेट ठूला देशहरुको बाटोमा त अघि बढ्यो । तर अरु देशले क्रिकेट र खेल क्षेत्रलाई लगानी र हौसला थपेजस्तै नेपाल सरकारले खेलाडी र खेल क्षेत्रमा काम गर्न र योजना बनाउन सकेको छैन । देशको शान बढाएका क्रिकेट खेलाडीको बारेमा सरकारले सोचेन भने अहिलेको सफलता क्षणिक मात्र हुनसक्छ । 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनसमेत कलाकारको भर पर्ने र उनीहरुलाई नै अगाडि सारेर रमितेजस्तो बनेको सरकारले खेलाडी र खेलप्रेमीको मन जित्ने गरी काम गर्न सक्ला र ?
 

अन्तिम अपडेट: असोज १८, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया