नेकपाकाे पार्टी एकीकरणसम्बन्धी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन

 माघ २१, २०७५ सोमबार १५:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको एकीकरणसम्बन्धी सुझाव दिन गठित कार्यदललाई मंगलबार आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 

सचिवालयको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धी सुझाव दिन गठित कार्य दलको  कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।

पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धी थाँति काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको नौ सदस्यीय कार्य दल गठन गरेको थियो । 

त्यही कार्य दललाई आफ्नो प्रतिवेदन मंगलबारसम्म बुझाउन निर्देशन दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले प्रतिवेदनले दिएको सुझावको आधारमा पार्टीको सांगठानिक एकीकरणसम्बन्धी आवश्यक निर्णय सचिवालय बैठकले गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकले गर्ने त्यससम्बन्धी निर्णय पार्टी स्थायी समिति बैठकले अनुमोदन गर्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

पुस महिनाभित्र पार्टीको एकीकरणसम्बन्धी बाँकी काम पूरा हुने गरी सुझाव दिन गठित कार्य दलभित्रै विवाद भएपछि सचिवालय बैठकले सो सम्बन्धमा आफै निर्णय लिने गरी कार्य दललाई हालसम्मको कामको प्रगति विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।  

सचिवालय बैठकले पार्टी स्थायी समिति बैठकले दिएको निर्देशन तथा पार्टीको आवश्यक्ता अनुसार पार्टीको राजनीतिक प्रतिवेदन तत्काल प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता श्रेष्ठले पार्टी स्थायी समिति बैठकले दिएको सुझावलाई समेत समेटेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनलाई पनि छिट्टै अन्तिम रुप दिने निर्णय गरिएको समेत बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया