यूएईमा मन्त्री पण्डितलाई प्रश्न : तस्करको क्विन्टल सुन पास हुने, कामदारको झिटी झाम्टोमा आँखा गाड्ने ?

 माघ २७, २०७५ आइतबार ११:५६:२८ | उज्यालो सहकर्मी

यूएई – यूएईमा कार्यरत नेपालीहरुले कामदारले ल्याएका स–साना सामानमा सरकारले किन आँखा गाडेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई प्रश्न गरेका छन् । 

यूएईमा रहेको नेपाली दूतावासले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले विदेशबाट फर्किएका नेपालीले ल्याएको सामानमा त्रिभुवन विमानस्थलको भन्सारमा भइरहेको कडाइका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तस्करको क्विन्टल सुन पास हुने तर विदेशमा काम नेपालीले भित्र्याएको सामानमा सरकारले  आँखा किन गाडेको भन्दै प्रश्न गरेका हुन् । सरकारले लचकता अपनाएर तत्काल समस्या समाधान गर्न मन्त्री पण्डितमार्फत सरकारलाई आग्रह पनि गरेका छन् ।

सहभागीको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले भन्सारमा भइरहेको कडाइका बारेमा सरकारले सम्बोधन गर्ने आश्वासन दिनुभयो । ‘अहिले पुरानो ऐन मात्रै कार्यान्वयन गरिएकोले समस्या देखिएको छ, यस विषयलाई सरकारले सम्बोधन गर्नेछ,’ उहाँले भन्नुभयो । 

आफू मन्त्री भएपछि अध्यागमनको सेटिङ हटाउन पुराना कर्मचारी हटाएर ६० प्रतिशत नयाँ कर्मचारी अध्यागमन विभागमा ल्याएको पनि उहाँले स्मरण गर्नुभयो ।

मन्त्री पण्डितलाई भिजिट भिसामा भइरहेको मानव तस्करी नियन्त्रण, घरेलु महिला तथा पुरुष कामदारको श्रम नविकरण गरिदिन माग गर्दै दूतावासले पटक–पटक मानव तस्करीमा संलग्नहरुको सूची सरकारलाई बुझाउँदा समेत कानुनी कारवाही नहुनुको कारण सोधेका थिए । 

सरकारको कामको समीक्षासमेत गर्दै मन्त्री पण्डितले सरकारबाट सोचे अनुसार काम हुन नसकेको स्वीकार गर्नुभयो । तर सुधारका प्रयास भइरहेको भन्दै आजको भोलि नै ठूला परिवर्तन सम्भव नहुने बताउनुभयो । नयाँ संरचनागत अवस्थामा कर्मचारी व्यवस्थापन गरेर समस्या समाधान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री पण्डित दुबईमा आइतबारदेखि सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति यूएई आउनुभएको हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया