वायु प्रदूषण नियन्त्रणमा सरकार र नागरिकस्तरबाट गर्न सकिने काम पनि हुन सकेन

 चैत ३१, २०८१ आइतबार १२:१९:२३ | विकाश चापागाईँ
unn.prixa.net

फाइल फाेटाे

ललितपुरको नख्खुदोबाटोमा सडक खनेर ढुङ्गा माटो र बालुवा गिट्टी असरल्ल छरिएको छ । बाटो खन्दै र बनाउँदै गरेको ठाउँमा बुङ्बुड्ती धुलो उडिरहेको छ । चर्को घाममा यही धुलो उडेको सडक छेउमा नाकमुख थुनेर हिंडिरहनुभएको छ, तिलकबहादुर रिजाल ।

‘विगत एक वर्षदेखि यो एक सय मिटर बाटो कालोपत्र हुन सकेको छैन । बाटोमा धुलो उडेको छ । यसलाई पन्छाउनेतर्फ कुनै तहका सरकारले अग्रसरता देखाएका छैनन्,’ उहाँ भन्नुहुन्छ, ‘बाटो निर्माणका लागि थुपारिएका गिट्टी, बालुवा यत्तिकै छाडिएका छन् । जसले गर्दा झन् बढी धुलो उडिरहेको छ । यसले वायु प्रदूषणमा पनि असर पुर्‍याएको छ ।’

काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा यसैगरी बुङबुङ्ती धुलो उड्ने गरी बाटो बनाउने र खन्ने काम चलिरहेको छ । देशका अरू सडकको अवस्था पनि यस्तै छ । अहिले प्रदूषण बढ्नुको एउटा कारण सडक खन्ने र बनाउने क्रममा निस्केको धुलो पनि हो । अर्को कारण हो, धुवाँ । खेतबारीमा गहुँको छ्वाली लगायतका कृषि अवशेष जलाउने काम पनि यही बेला हुन्छ । घाँस पलाउँछ भनेर वनपाखामा डढेलो लगाउनेहरु पनि छन् । अहिले हावाहुरीको सिजनमा डढेलो झनै फैलने गरेको छ ।

यस्तै इँटाभट्टा, फोहोर जलाउँदा निस्कने धूवाँ तथा सीमापारिबाट प्रदूषण बोकेर आउने हावाले पनि प्रदूषण बढाएको छ । सडकमा गुड्ने गाडी र कलकारखानाबाट निस्कने धुवाँले पनि प्रदूषण बढाएको ललितपुरको धापाखेल बस्ने गणेश तिमिल्सिना बताउनुहुन्छ । ‘वायु प्रदूषण मुख्यगरी गाडीबाट निस्कने धुँवा, कलकारखानाको धुँवा, डढेलोले गर्दा त हुने हो,’ उहाँ भन्नुहुन्छ, ‘यसलाई कम गर्न आवश्यक कदम चाल्नका लागि हामीले धेरै पटक पालिकालाई भन्यौं तर कसैलाई वास्ता छैन ।’

हरेक वर्षको हिउँदमा जस्तै यस वर्ष पनि वायु प्रदूषण बढेपछि जनस्वास्थ्यमा असर गरेको  छ । नख्खु दोबाटोमा होटल चलाउने देवती तामाङ वायू प्रदूषणकै कारण व्यापार व्यवसायमा समेत मर्का परेको उहाँ सुनाउनुहुन्छ । ‘धुलोले गर्दा पसलमा एकछिन नाकमुख नछोपी बस्न सकिंदैन, ग्राहक पसलमा आउनै खोज्दैनन् । व्यापार नभएपछि गरीखानका लागि पनि हम्मेहम्मे परेको छ,’ देवतीले दुःखेसो पोख्नुभयो । 

प्रदूषणको बेलामा घर बाहिर निस्किंदा आँखा–नाक पोल्ने, श्वास फेर्न असजिलो हुने समस्या धेरैलाई  छ । आकाश खैरो तुवाँलोले डम्म ढाकिएको छ, जसका कारण परसम्म देख्न मुश्किल हुने गरेको छ । नागरिक स्तरबाट पनि वायु प्रदूषणलाई कम गर्न सकिने वातावरणविद् भुषण तुलाधर भन्नुहुन्छ ।

‘नागरिक आफैंले प्रदूषण नगर्ने, फोहोर नजालाइकन व्यवस्थापन गर्ने, प्रदूषणबाट बच्न मास्कको प्रयाग गर्ने, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बढी ख्याल गनुपर्छ’ उहाँ भन्नुहुन्छ, ‘अब नागरिकले प्रदूषणविरुद्ध आवाज उठाउनुपर्छ ।’ कसैले आगो बालिरहेको छ भनि निभाउन आग्रह गर्ने र नमाने सम्बन्धित निकायमा खबर गर्नुपर्ने वातावरणविद् तुलाधरको सुझाव छ ।

सरकारी नीतिमा व्यवस्था छ, कार्यान्वयन हुँदैन 

केही दिनदेखिको वर्षाले वायू प्रदूषण केही घटाए पनि जोखिम कायमै छ । त्यसो त हरेक वर्ष योबेला काठमाण्डौ उपत्यकासहित देशभर वायू प्रदूषण बढ्ने गरेको छ । वन डढेलो, धुवाँ, धुलो र कृषि अवशेष जलाउने गर्दा वायू प्रदूषण बढ्ने गरेको छ । वायू प्रदूषण नियन्त्रण गर्न सरकारसँग थुप्रै नीति र कार्ययोजना छन् । तर यी कागजमा मात्रै सीमित भएकाले वायु प्रदूषण नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन ।

काठमाण्डौमा वायू प्रदूषण बढाउने एउटा कारण इँटा भट्टाबाट निस्कने धुवाँ पनि हो । यो तथ्यलाई ख्याल गर्दै वन तथा वातावरण मन्त्रालयले ७ वर्षअघि इँटा उद्योगबाट निस्किने धूवाँ र चिम्नीको उचाइसम्बन्धी मापदण्ड बनायो । इँटाभट्टा सञ्चालन अनुमतिसम्बन्धी मापदण्डमा बस्ती र जङ्गलको एक किलोमिटरभित्र चलाउन नपाइने, वरपर धूलोरहित सडक र हरियाली बनाउनुपर्ने व्यवस्था भए पनि यो लागू भएको छैन । यस्तै ५ वर्षअघि २०७६ सालको माघ महिनामा काठमाण्डौ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना मन्त्रिपरिषद्बाट पारित भएको थियो । त्यसमा यातायात क्षेत्र तथा निर्माण गतिविधिबाट हुने प्रदूषण न्यूनिकरण गर्ने, उद्योग प्रतिष्ठानबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने र घरभिको वायु प्रदूषण कम गर्ने व्यवस्था भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

पाँच वर्षअघि नै गाडीमा ‘यूरो–४’ मापदण्ड लागू गर्ने भनियो, तर अहिलेसम्म ‘यूरो ३’ नै कायम छ । वातावरणमैत्री पेट्रोलियम गाडीहरु ल्याउने विषय पनि ओझेल परेको छ । अर्कातिर, कालो धूवाँ फाल्दै अनियन्त्रित रूपमा दौडने बस तथा ट्रकमा लगाम लागेको छैन । २० वर्ष पुराना गाडी हटाउने सात वर्षअघिको निर्णय पनि कार्यान्वयन भएको छैन । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ले फोहोरमैला व्यवस्थापन र यसबाट हुने वायु प्रदूषण नियन्त्रणका प्रावधानहरू समेटेको छ । राष्ट्रिय वायु गुणस्तर मापदण्ड, २०६९ र नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ मा पनि वायू प्रदूषण नियन्त्रणको व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पालिकालाई वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका अधिकारहरू दिएको छ ।

यस्तै सरकारले प्रदूषण नियन्त्रण शुल्क भनेर पेट्रोल र डिजेलबाट प्रतिलिटर १ रुपैयाँ ५० पैसा उठाउँदै आएको छ । २०६६ सालयता यस्तो शुल्कवापत साढे १६ अर्ब रुपैयाँ सङ्कलन भइसकेको छ । तर, यो रकम प्रदूषण नियन्त्रणमा खर्च हुन सकेको छैन । प्रदूषण नियन्त्रण गर्ने सरकारका यी सबै नीति नियम कागजमा मात्रै सीमित रहेको वातावरणविद् भुषण तुलाधर बताउनुहुन्छ । ‘सरकारले प्रदूषण कर लिइरहेको दशकौँ भइसकेको छ, यसमा सर्वोच्च अदालतले पनि करको प्रयोग गर्न आदेश दिएको छ’ उहाँ भन्नुहुन्छ, ‘यत्तिका पैसा सरकारको ढुकुटीमा बसेको छ तर कुनै प्रयोगमा आएको छैन । धेरै काम गर्न सकिन्छ तर कुनै काम गरेको देखिंदैन ।’

अघिल्लो दुई हप्ता काठमाण्डौ उपत्यकासहित देशभरको वायू प्रदूषण निकै अस्वस्थकर अवस्थामा पुग्यो । यस्तो बेला सरकारले भएका नीति नियम कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवाज उठे पनि सरकारले खासै वास्ता गरेको देखिएन । प्रदूषण कम गर्न बनाइएका नीतिलाई कार्यान्वयन गर्न सरकारले सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरिरहेको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली बताउनुहुन्छ ।

अहिले वायू प्रदूषण केही कम भए पनि जोखिम उस्तै छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले तत्काल र दीर्घकालीन रूपमा काम गर्नुपर्ने वातावरणविद भुषण तुलाधरको सुझाव छ ।

तत्काल गर्नुपर्ने काम : 

प्रदूषण स्रोतको निगरानी र नियन्त्रणअन्तर्गत ढुसी धूलो, धुँवा फाल्ने गाडीको तत्काल जाँच र नियन्त्रण गर्ने, इँटाभट्टा, उद्योगहरूमा फिल्टर वा धुवाँ नियन्त्रण यन्त्र अनिवार्य गर्ने र सडकमा पानी छर्कने, झार झार्ने र सफाइ गर्ने कार्यलाई नियमित बनाउनुपर्छ । यस्तै सार्वजनिक गाडी सुधार र प्रवद्र्धनअन्तर्गत सार्वजनिक यातायातको सङ्ख्या वृद्धि र गुणस्तर सुधारमा ध्यान दिने, जोर–बिजोर प्रणाली, कर्पूलिङ अथात् गाडी साझा गर्ने अभियान शुरु गर्ने र इन्धन गुणस्तरको परीक्षण तथा सुधार गर्नुपर्छ । सचेतना र नियम कार्यान्वयनअन्गर्त प्रदूषणको असरबारे आमनागरिकमा चेतना फैलाउने अभियान थाल्ने र वातावरण संरक्षणका नियमको कडाइका साथ कार्यान्वयन गुर्नपर्ने देखिन्छ । 

दीर्घकालीन रूपमा गर्नुपर्ने काम : 

हरित ऊर्जा र प्रविधिको विकासअन्तर्गत विद्युतीय गाडी प्रवर्द्धन गर्ने नीति अपनाउने, नवीकरणीय ऊर्जा स्रोतहरूको विकास गर्ने र इन्धनमैत्री प्रविधिमा लगानी गर्नुपर्छ । यस्तै  पूर्वाधार विकासअन्तर्गत हरित शहर योजना लागू गर्ने, सडक र यातायात प्रणालीलाई वैज्ञानिक र वातावरणमैत्री बनाउने र शहर योजना गर्दा हरियाली क्षेत्रको सुनिश्चितता गर्नुपर्छ । यसैगरी कानूनी र नीतिगत सुधार अन्तर्गत प्रदूषण नियन्त्रण ऐनलाई समयानुकूल परिमार्जन, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अनिवार्य बनाउने र प्रदूषणकर्तामाथि दण्डको व्यवस्था कडाइका साथ लागू गनुपर्छ । वृक्षारोपण र हरियाली प्रवर्द्धनअन्तर्गत शहरी क्षेत्रमा हरियाली विस्तार र वृक्षारोपण अभियानलाई नियमित र जनसहभागितामूलक बनाउनुपर्ने वातावरणविद् भुषण तुलाधरको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया