चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – डाेटी जिल्लाको दिपायल सिलगढी नगरपालिका-३. बाँफीगाउँका बासिन्दालाई आफनै गाउँमा आवतजावत गर्न नदीमाथि ज्यान जोखिममा राख्नुपर्ने बाध्यता छ ।
केही महिना पहिले जिल्ला समन्वय समिति डोटीले बाँफीगाउँ जानका लागि भनेर समुहा गाढको गेरुपानी नजिक झोलुङ्गे पुल निर्माण गरेको थियो । तर उद्घाटन हुन नपाउँदै त्यो पुल भत्कियो । पुल निर्माण हुने भएपछि खुसी बनेका गाउँवासीहरु बनिसकेको पुल भत्किदा दुःखी बने ।
अहिले नदीमाथि कुनै पनि पुल नभएपछि त्यहाँका स्थानीयहरुलाई आवतजावत गर्न कठिनाइ मात्र भएको छैन, ज्यानै जोखिममा राख्नुपरेको छ । ‘पुल उद्घाटन हुन नपाउँदै भत्किएपछि हामीहरु पहिलेको जस्तै ट्युबको भरमा यात्रा गर्न र सरसामान बोक्न बाध्य भएका छौँ’, बाँफी गाउँका कलिभान साउदले भन्नुभयो, ‘गरिब जनतालाई जहाँबाट पनि दशा मात्र लाग्छ ।’
असार साउनको भेलमा अन्तैबाट यात्रा गरे पनि स्थानीयहरु हिउँद महिनामा सधैँ ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । सेती नदीमा ज्यान जोखिममा राखेर टयुबमा यात्रा गर्ने गरेको नजिकैको केआईसिंह राजमार्गमा हिँड्ने नेता तथा मन्त्रीहरुले देखे पनि यसबारे कसैले चासो नदिएको स्थानीयको आरोप छ ।
सेती नदीमा जोखिम मोलेर यात्रा गर्दा सर्वसाधारणहरुले बर्सेनि ज्यान गुमाइरहेका छन् । ‘ट्यूबमा चढेर नदी तर्दा पल्टिएर कति त सेतीनदीमा डुबेर मरिसके’, स्थानीय महानन्द साउदले भन्नुभयो, ‘पुल नबने अझै कतिले ज्यान गुमाउनुपर्ने हो थाहा छैन ।’
चुनावका बेला नेताहरुले बाँफीगाउँका स्थानीयलाई पुल बनाउने आश्वासन दिएर भोट त मागेर गए तर पनि चुनाव सकिएपछि कोही पनि फर्किएर आएनन्, स्थानीयहरु आरोप लगाउँछन् ।
स्थानीय नागरिक दैनिक उपभोग्य सामान खरिदबिक्री गर्न नजिकैको कालागाढ बजारसम्म पुग्नुपर्छ । बजारमा आउनका लागि स्थानीय महिला,केटाकेटी लगायतकाले टयूबको भरमा यात्रा गर्नुपरिरहेको छ ।
पुल नहुँदा बाँफीगाउँका स्थानीयलाई निकै समस्या भएको शिखर नगरपालिका-१, कालागाढका चेत बोगटी बताउनुहुन्छ । ‘दिउँसो केही भइहाले त पत्ता लागिहाल्छ तर कतिपय त राति पनि घर जान्छन्, उनीहरु कसरी घर पुग्छन पत्तो हुदैन्’, बाेगटीले बताउनुभयाे ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी भने बाँफीगाउँका स्थानीयलाई आवत जावतमा सहजताका लागि पुल निर्माणको कार्य अगाडि बढाइएको बताउनुहुन्छ ।
‘बाँफी गाउँवासीहरुको लागि गएको वर्ष निर्माण भएको पुल भत्किएपछि मैले अनुगमन गरेर तत्काल पुल बनाउन ठेकेदारसँग आग्रह गरेको छु’, प्रमुख मलासीले विश्वास दिलाउँदै भन्नुभयो, ‘निकट भविष्यमै पुल बन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।