पैसा नहुँदा दुबई अस्पतालमा १० दिनदेखि अचेत कमलाको उपचारमा समस्या

 फागुन १०, २०७५ शुक्रबार ८:१०:९ | उमाकान्त पाण्डे

यूएई – युएईको दुबई अस्पतालमा एक नेपाली महिलाको अचेत अवस्थामा उपचार भइरहेको छ । 

१२ वर्ष पहिले युएई आउनु भएकी माझीफेदी–७, काभ्रेकी कमला गिरीको पैसा अभावामा उपचारमा समस्या भएको छ । फागुन १ बाट अचेत हुनुभएकी कमलाको १० दिनसम्म होस खुलेको छैन ।

ल्यकेमिया ब्लड क्यान्सरका कारण रक्तकोशिकामा ल्यूकेमिया बढ्दै गएको र रकम अभाव भएका कारण उपचारमा समस्या भएको हो । 

उहाँलाई १२ दिन पहिले ज्वरो आएपछि सामान्य औषधि गरिएको र साँझमा खुट्टा दुख्न थालेपछि अल रफा अस्पताल लगिएको थियो । अल रफा अस्पतालमा परीक्षण गर्दा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो । प्राइभेट अस्पतालको उपचार खर्च महंगो हुने भएकाले कमलाका श्रीमान विमल गीरीले कमलालाई रशिद हस्पिटल पुर्‍याउनुभयो । 

रशिद अस्पतालमा क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा रिफर गरिएको हो । अहिले डेरा दुबईमा रहेको दुबई हस्पिटलको १०औँ तल्लामा रहेको सघन उपचार कक्षको मेडिकल युनिटभित्र पूर्ण रुपमा अचेत अवस्थामा कमलाको उपचार भैरहेको छ । 

आमा खोज्दै चार वर्षीया छोरी, सहयोग खोज्दै कमलाका श्रीमान 

कमलाको उपचारमा दैनिक ३ हजार दिर्राम झण्डै एक लाख रुपैयाँ खर्च हुन्छ । सामान्य सेल्सम्यानको रुपमा कार्यरत विमलको मासिक एक लाख आम्दानी हुन्छ ।

‘महिनाको तलब एकै दिनमा खर्च हुँदा अहिलेसम्म जोगाइराखेको १२ हजार दिर्राम पनि सक्कियो । ४ वर्षीया छोरीको स्कुल भर्नाका लागि भनेर जोगाएको रकम उपचारमा सकियो’, बिमलले उज्यालोसँग भन्नुभयो, ‘मामू खै ? भन्दै छोरीले आमा खोज्छे, अचेत आमालाई भेट्न छोरीलाई लैजान सकेको छैन ।’

श्रीमतीलाई अस्पतालमा, र छोरीलै घरमा स्याहारसुसार गर्ने अरु कोही छैन । बिमलले आफूले गर्दै आएको काम पनि अपर्झट बिदा लिएर बस्नु भएको छ । ‘कम्पनीले काममा नआउने भए जागिरबाट निकाल्दिने भन्दै दैनिक फोन गरेर हकार्छ । श्रीमतीको समस्याबारे बताएर भोलि–भोलि भन्दै टारिरहेको छु । पैसा पनि छैन, जागिर पनि जाँदैछ । यता श्रीमतीको होससमेत खुलेको छैन’, विमलले भन्नुभयो । 

पहिले कमलाले पनि दुबईमा काम गर्दै आउनु भएको थियो । तर ४ वर्ष पहिले छोरी जन्मिएपछि भने कमलाले जागिर छोड्नु भएको थियो । अहिले अचानक थलिएपछि परिवार नै समस्यामा छ । ४ वर्षकी छोरीलाई समेत स्कुल पठाउन सक्नुभएको छैन ।

विमलले श्रीमती कमलाको उपाचारमा सहयोग जुटाइदिन यूएईमा रहेका नेपाली संघ–सस्था तथा व्यक्तिलाई आग्रहसमेत गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया