उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?
मंसिर ७, २०८१ शुक्रबार
नवलपरासी – नवलपरासी पूर्व नवलपुरको देवचुलीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेको पाइएको छ ।
देवचुली नगरपालिकाअन्तर्गत पर्ने नारायणी नदी किनारको क्षेत्रमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी पार्क र रिसोर्ट सञ्चालन गरिएको पाइएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी मेगा पिकनिक पार्क सञ्चालन गरिएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नम्बर १ र १७ अन्र्तगत निर्माणाधीन अवस्थामा रहेको मेगा पार्कले झण्डै १० बिगाहा क्षेत्रफल बराबर सार्वजनिक जग्गा अतिक्रमण गरी संरचनाहरु निर्माण गरिएको स्थानीयको आरोप रहेको छ ।
सिद्ध कुमार एण्ड सन्स कम्पनीको नाममा निर्माणाधीन अवस्थामा रहेको उक्त पार्कले देवचुलीको मुकुण्डे खोला र नारायणी नदी किनारको सार्वजनिक जग्गा अतिक्रमण गरेको जनाइएको छ । पार्क सञ्चालनमा आएपछि शान्ति सिर्जना युवा क्लबले वर्षौंबाट प्रयोग गर्दै आइरहेको दिव्यपुरीको सबैभन्दा पुरानो खेल मैदानसमेत मासिएको छ ।
यहाँ फनपार्क र पिकनिक स्पट सञ्चालनमा आइसकेको छ भने भव्य रिर्सोट र एक हजार जना अट्ने सभाहल निर्माणाधीन अवस्थामा छ । अन्य विभिन्न संरचनासमेत बनिरहेका छन ।
सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेको विषयमा अख्तियारमा समेत उजुरी समेत परेको छ । अख्तियारबाट नगरपालिकालाई यस विषयमा पत्रसमेत काटिएको छ ।
अख्तियारबाट पत्र आएको र स्थानीयबाट समेत विरोध आएपछि देवचुली नगरपालिकाले पार्क सञ्चालकलाई संरचना निर्माण रोक्न पटक–पटक ताकेता गरे पनि अटेर गरेको नगर प्रमुख पूणकुमार श्रेष्ठको भनाइ छ ।
पार्क निर्माण भइरहेको स्थानमा के कति जग्गा छ भन्ने समेत यकिन हुन नसक्दा समस्या भएको श्रेष्ठले बताउनुभयो । नारायणी नदी किनार भएको र नदीले कटान गरेको जग्गासमेत पार्क सञ्चालकको नाममा रहेकाले अहिले त्यस स्थानमा सञ्चालकको जग्गा के कति छ र सार्वजनिक जग्गा कति छ भनेर यकिन गर्न नाप नक्सा गर्ने काम नगरपालिकाका इञ्जिनियरबाट भैरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पार्क सञ्चालनका लागि नगरपालिकाबाट अनुमतिसमेत लिइएको छैन । साविकको रजहर गाविस हुँदा एकतले घर भनी दर्ता गरेर सामान्य रेष्टुरेष्ट सञ्चालन गरेको तर अहिले ठूलो रिसोर्ट र पिकनिक पार्क संचालन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी उपमेयर पार्वता तिवारीले नगरपालिकासहित विभिन्न निकायले पत्र काटेर संरचना निर्माण नगर्नभन्दा समेत अटेर गरेको बताउनुभयो ।
रिसोर्ट र पार्क सञ्चालनका लागि निर्माण भइरहेको भवनसमेत मापदण्ड विपरीत रहेको र एकतले घर भनी दर्ता गरेर तीन तलासम्म निमार्ण गरेको र नारायणी नदी किनारमै घरटहरा निर्माण गरिएको उपमेयर तिवारीले बताउनुभयो ।
नदी किनारमा मापदण्ड विपरीत संरचनाहरु निर्माण गर्दा भोलि कुनै विपद आउन सक्नेतर्फ समेत सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सार्वजनिक जग्गामा निर्माणाधीन अवस्थामा रहेको संरचना निर्माणमा रोक लगाउँदासमेत अटेर गरेपछि नगरपालिका आफै अन्योलमा परेको छ ।
जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको तर अब सार्वजनिक जग्गामा निर्माण भएका संरचनाहरु कसरी हटाउने भन्ने बारेमा आफूहरु अन्योलमा रहेको मेयर श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।