चुहानडाँडामा मन्त्री अधिकारीको त्यो अन्तिम सम्बोधन !

 फागुन १५, २०७५ बुधबार १८:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न काठमाण्डौबाट बिहानै त्यसतर्फ लाग्नुभएको थियो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ।

बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर डाइनेस्टीको हेलिकप्टरबाट चुहानडाँडा पुग्नुभएका अधिकारीले त्याहाँ झण्डै डेढ घण्टा समय बिताउनुभएको थियो । 

मन्त्री अधिकारी आउने भएपछि गाउँपालिकाले चुहानडाँडामा स्टेज बनाएर कार्यक्रमस्थल तयार पारेको थियो । बिहान १० बजेतिर चुहानडाँडा पुग्नुभएका मन्त्री अधिकारीसहितको टोलीलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए । 

आफ्नै गाउँमा विमानस्थल बन्न लागेको खुशीमा गाउँपालिकाले स्वागतको कार्यक्रम नै राखेको थियो । 

पर्यटनमार्फत देशको कायापलट गर्ने योजना बनाउँदै अघि बढ्नुभएका मन्त्री अधिकारीले आफ्नो कार्यकालमा वर्षौँदेखि बन्द अवस्थामा रहेका केही विमानस्थल सञ्चालनमा ल्याउने काम गर्नुभएको थियो भने केही विमानस्थलहरु सञ्चालनमा आउने क्रममा छन् । 

केही नयाँ विमानस्थल निर्माण गर्ने कामलाई अघि बढाउँदै पर्यटकीय स्थानको पहिचान गर्दै त्यस्ता ठाउँमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको कामलाई पनि अघि बढाइरहनुभएको थियो । 

लामो समयदेखि बन्द रहेको खोटाङको थामखर्क विमानस्थल दुई साताअघि मात्रै मन्त्री अधिकारीकै पहलमा सञ्चालनमा ल्याइएको थियो । त्यसै क्रममा नयाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नै मन्त्री अधिकारी चुहानडाँडा पुग्नुभएको थियो । 

गाउँपालिकाले स्वागत गर्दै आयोजना गरेको कार्यक्रममा अधिकारीले १०/१२ मिनेट मात्रै बोल्नुभएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू सम्झनुहुन्छ । 

राष्ट्रिय राजनीतिका विषयक कम बोल्नुभएका मन्त्री अधिकारीले नयाँ विमानस्थल निर्माण र बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालनमा आफू सम्वेदनशील रहेको बताउनुभएको अध्यक्ष लिम्बू सम्झनुहुन्छ । 

‘बाहिर चर्चा गरिएजस्तो सरकारले कामै नगरेको भन्ने प्रचार गलत रहेको मन्त्री अधिकारीले बताउनुभएको थियो’, लिम्बू सम्झनुहुन्छ, ‘सरकारले विकास र समृद्धि हासिल गर्ने गरि काम अघि बढाएको उहाँले बताउनुभएको थियो ।’ 

‘म यहाँ एयरपोर्टको सन्दर्भ चलाउन होइन कि एयरपोर्ट बनाउने हिसाबमा हेर्न आएको र बुझ्न आएको हूँ’, उहाँले भन्नुभएको थियो, मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, डिजाइन र स्टमेट सबै छ ।’ 

पहिले २९ करोड भनिएको भए पनि अहिले ८७ करोड लागतमा विमानस्थल निर्माण गर्ने गरी सरकार अघि बढेको मन्त्री अधिकारीले त्यहाँ सुनाउनुभएको थियो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नै यहाँ बन्न लागेको एयरपोर्टको स्थलगत अध्ययन गर्न हामी आएका हौँ’, उहाँले भन्नुभएको थियो, ‘यो एयरपोर्ट बनाउन उपयुक्त ठाउँ रहेछ ।’ 

गाउँपालिका अध्यक्ष लिम्बू सम्झनुहुन्छ, ‘मन्त्री अधिकारीले सरकार यहाँ एयरपोर्ट बनाउन प्रतिबद्ध छ भन्ने सम्माननीय प्रधानमन्त्रीको सन्देश दिन पनि आफू आएको बताउनुभएको थियो ।’  

मन्त्री अधिकारीले स्थानीयले राखेका समस्याका बारेमा पनि गम्भीर भएर सुन्नुभएको थियो । कार्यक्रमपछि गाउँपालिकाले नै व्यवस्था गरेको खाना खाएर मन्त्रीसहितको टोली ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेको थियो ।

पाथिभारा मन्दिर दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहित ७ जनाको निधन हुन पुग्यो । मन्त्री अधिकारीको यही सम्बोधन नै जीवनको अन्तिम सम्बोधन बन्न पुग्यो ।    

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया