एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
नारायणप्रसाद घिमिरे /रासस ।
काठमाण्डाै - काठमाण्डाै उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ?
खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय: समस्या यिनै हुन् ।
तर आज काठमाण्डाै भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाण्डाै बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना/प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद”
यति भन्दै गर्दा यात्रु भित्र पसेपछि गाडीको ढोका आफै बन्द हुन्छ । बसमा सहचालक छैन । हँसिलो मुहार सहितको उनको यो स्वागत तथा जानकारी सुन्दा लाग्छ यो यात्रुलाई विशेष सुविधा सहितको डिलक्स बस हो र कतै कुनै पर्यटकीय क्षेत्रमा घुम्न लाँदैछ । तर तेसो होइन । यो त सामान्य मिनिबस हो –बा ४ ख २७२४ नम्बरको, जुन काठमाडौ बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटल हुँदै ब्यासी रुटमा चल्दै आएको छ ।
यी बस चालक भक्तपुरका गंगाराम खाइजु हुन् । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन् । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जो कोही यात्रुले किनेर खान सक्छन् । तर प्लास्टिकका बोतल, चाउचाउको खोल भने बसभित्र फ्याँक्न मनाही छ ।
उनको बसको अघिल्तिर भित्ताको प्लेकार्डमा लेखिएको छ – ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लाष्टिकजस्ता फोहोर वस्तु डष्टविनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊ ।’ ‘पानी प्रति बोतल रु २० तथा चाउचाउ प्रति प्याकेट रु २० मा उपलब्ध छ ।’ यो बसमा चाउचाउको खोल, बदामको बोक्रा, प्रयोग गरेको पानीको बोतल राख्न चालक खाइजुले ढोकाको छेउमा डस्टबिन पनि राखेका छन् ।
तपाईँकोमा सहचालक छैन नि भन्ने प्रश्नमा उनले भने– गाडीको ढोका अटोमेटिक खुल्छ, बन्द हुन्छ । नौ महिना भयो मैले सहचालक राख्न छोडेको । सहचालक राख्दा यात्रु ढोकामा झुण्डिने, ढोकानिर बढी भिड हुने र दुर्घटना पनि हुनसक्ने भएकोले मैले स्वचालित ढोका प्रयोगमा ल्याएँ ।
यो बसका अरु सन्देशमूलक प्लेकार्डहरु यस्ता छन् –‘गाडीबाट निस्कने फोहोर धुलोलाई जथाभावी नफालौँ, प्रत्येक गाडीमा डस्टबिनको प्रयोग गरौँ, व्यवसायी चालक सहचालकज्यूहरुलाई अनुरोध गर्दछु । धन्यवाद’ । ‘गाडी भाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला ।’ रु एक हजार तथा रु ५०० को रकम भए खुद्राको लागि पहिले नै चालकलाई भन्नुहोला ।’
उनको यो जानकारी तथा सन्देशले यात्रुलाई रमाइलो नलाग्ने कुरै भएन । बसका यात्रु सुजन सुवेदी भन्छन्– “म यो बसमा दोश्रो पटक यात्रा गर्दैछु । म यी प्लेकार्डमा लेखिएका सन्देशबाट निक्कै प्रभावित भएँ ।” त्यसैगरी अर्की यात्रु निशा मगर भन्छिन्, “मलाई यी सन्देश पढ्दा निक्कै रमाइलो लाग्यो । वास्तवमा सबै वसमा यस्तै हुनु पर्ने हो । यसबाट हामी यात्रु पनि सुध्रनु पर्छ जस्तो लाग्छ ।”
चालक खाइजू आफू काठमाण्डाै उपत्यकाको फोहोर देखेर दिक्क लागेको बताउछन् । उनी थप्छन्, “यदि हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट सरसफाइका लागि सानो प्रयास गरे पनि राम्रो हुन्छ जस्तो लाग्छ ।”
तस्बिर - गीता बख्याद्याेकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।