चरिकोटका दुई कुकुर जसले प्रहरी कार्यालयमा थुर्पाछन् सर्वसाधारणका चप्पल !

 फागुन १७, २०७५ शुक्रबार १९:५:३८ | उषा तामाङ
unn.prixa.net

दोलखा – घरबाहिर राखिएका जुत्ता चप्पल बिहान उठ्दा गायब ! ढोकाअघि फुकालेर राखिएका आफ्ना जुत्ता चप्पल एकाएक हराउन थालेपछि सदरमुकाम चरिकोटमा बसोबास गर्ने सर्वसाधारणले प्रहरीलाई जानकारीसमेत गराए । 

झण्डै एक साता अघिबाट जिल्ला प्रहरी कार्यालय परिषरमा अनौठो गतिविधि हुन थाल्यो, कार्यालय अघि पुराना तथा नयाँ जुत्ता चप्पल एकाएक थुप्रिन थाले । जुत्ता हराइरहेको सर्वसाधारणबाट गुनासो आइरहेका बेला आफ्नै कार्यालय अघि जुत्ता थुप्रिन थालेपछि प्रहरीले निगरानी बढायो । 

निगरानी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दोलखाले नयाँ तथ्य फेला पार्‍यो । ती पुराना तथा नयाँ जुत्ता चप्पल थुपार्ने मानिस थिएनन्। पुराना जुत्ता चप्पल संकलन गर्ने कार्य गरिरहेका थिए २ वटा कुकुरले । रातको समयमा एक जोडी कुकुरले विभिन्न घरबाट उठाइ ल्याएका जुत्ता चप्पल प्रहरी कार्यालय अघि छोड्ने गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय तथा आसपासको क्षेत्रमा घुमिरहने ती कुकुरहरु रातको समयमा सदरमुकामका विभिन्न ठाउँबाट जुत्ता चप्पल संकलन गरी जम्मा गर्छन् । ती कुकुरले पुराना तथा नयाँ जुत्ता चप्पल कार्यालय अघि ल्याएर राख्ने गरेको दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभयो । 

झण्डै एक साता अघिदेखि त्यसरी संकलन गरिएका जुत्ता चप्पल २ बोरा भइसकेको छ । बच्चा–बच्चीले प्रयोग गर्नेदेखि खेलाडीले लगाउने बुट, स्पोर्ट्स सुज र लेडिज जुत्ता चप्पल गरि झण्डै ४० जोर रहेका छन् । 

ती जुत्ता चप्पल सुरक्षित राखिएकोले आफ्नो जुत्ता चप्पल हराएको भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया