पर्यटकीय गन्तव्य बन्दै पाल्पाकाे तालपोखरा

 फागुन २१, २०७५ मंगलबार १७:५२:४१ | रासस
unn.prixa.net

सुशीला रेग्मी /रासस ।

पाल्पा - पर्यटकीय क्षेत्र रामपुरको तालपोखरामा डुङ्गाबाट एकै दिनमा ८० हजार रुपैयाँ बराबरको आम्दानी भएको छ । महाशिवरात्रि पर्वका दिन सोमबार डुङ्गा सञ्चालनबाट यो आम्दानी भएको हो । 

सोमबार एक हजारभन्दा बढी टिकट बिक्री भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो । यही फागुन १६ देखि २० गतेसम्म चलेको विशेष मेलामा डुङ्गाबाट एक लाख ६० हजार आम्दानी भएको उहाँले बताउनुभयो । 'डुङ्गाबाट नसोचेको आम्दानी भएको छ',उहाँले भन्नुभयो । दानपेटिका र उद्यानबाट दुई लाख रुपैयाँ आम्दानी भएको छ ।  

पाेखराको फेवातालको स्वरुपमा निर्माण गरिएको तालपोखरामा तीन र्‍याफ्टिङसहित ६ डुङ्गा सञ्चालन गरिएको थियो । तालको बीचमा जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने र अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । 'डुङ्गामा एकै पटकमा १५ देखि २० जनासम्म राख्न सकिन्छ', डुङ्गा चालक भगवान् देवकोटाले भन्नुभयो । 

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तालपोखरामा पहिलो पटक डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको स्थानीयवासी ओमप्रकाश रेग्मी बताउनुहुन्छ । त्यस प्रतियोगितामा ११ समूहले भाग लिएको थियो । किशोर देवकोटाको समूह दुई मिनेट २३ सेकेण्डमा तालपोखरामा डुङ्गा घुमाएर पहिलो भयो । हरि भण्डारीको समूह द्वितीय तथा अमृत भण्डारीको समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दश हजार, पाँच हजार र दुई हजार ५०० पुरस्कार प्रदान गरिएको थियो । 

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रतियोगिताबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको बताउनुहुन्छ । 'नगरपालिकाले प्राथमिकतामा राखेर प्रवर्द्धनमा सहयोग गरिरहेको छ', उहाँले भन्नुभयो । 

नेपालकै उत्कृष्ट १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो । 

वर्षायामको पानी जम्मा हुने त्यस पोखरीलाई स्थानीयवासीले तालको रुपमा विकास गरेका हुन् । झण्डै ६५ रोपनी क्षेत्रफलमा फैलिएको यस ताललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन २०६६ सालमा संस्था गठन गरी निर्माण अगाडि बढाइएको हो ।

श्रीमद्भागवत् धनधान्यान्चल ज्ञान महायज्ञ सञ्चालन गरी यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको परिकल्पनाकार देवराज देवकोटा बताउनुहुन्छ । 'अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ', उहाँले भन्नुभयो । अहिले दैनिक झण्डै २०० जनाले डुङ्गा चढ्ने गरेका छन् । कुलो र नहरको पानीबाट तालपोखरामा डुङ्गा सञ्चालन गरिँदै आएको छ । नजिकै रहेको कालीगण्डकीबाट समेत लिफ्टिङ गरी तालमा पानी ल्याइएको छ । 

कृत्रिम तालले पर्यटकलाई लोभ्याउन सफल भएको छ । कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । तालपोखराको पूर्वाधार निर्माण गर्न हालसम्म एक करोड ९८ लाख ६८ हजार खर्च भएको र बाँकी पूर्वाधार निर्माणमा एक करोड बराबर खर्च हुने लेखा समिति संयोजक पुरुषोत्तम ढकालले बताउनुभयो ।

रामपुर नगरपालिकाले आव २०७३/७४ मा  एक लाख २५ हजार रुपैयाँ, आव २०७४/७५ मा २८ लाख रुपैयाँ तथा चालू आव २०७५/७६ मा  २० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया