पात्रोले झुक्कायो :  हचुवाको भरमा राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीको शुभकामना !

 फागुन २३, २०७५ बिहिबार १३:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पात्रोमा भएको गल्तीले आज सर्वसाधारण मात्रै होइन, मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म पनि झुक्किएका छन् ।

अधिकांश पात्रोमा आज ग्याल्पो ल्होसार परेको उल्लेख छ ।  त्यति मात्र होइन, ग्याल्पो ल्होसार मनाउनेलाई आज सार्वजनिक बिदा भएको समेत उल्लेख गरिएको छ । ग्याल्पो ल्होसार शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउने पर्व हो । पात्रोलाई आधार मानेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिवसको शुभकामना दिए । 

प्रधानमन्त्रीको ट्वीट 

तर, यसपटक माघ २२ गते नै ग्याल्पो ल्होसार मनाइएको हेक्का कसैलाई भएन । यसपटक सोनाम र ग्याल्पो ल्होसार एकैसाथ मनाइएको थियो । पात्रोले झुक्यायो ।

धेरै ल्होसार मनाउँदा कुन ल्होसार कहिले भन्नेमा अरु समुदायका व्यक्ति मात्र होइन राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीसम्म पनि झुक्किए । मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मले शुभकामना दिएपछि सञ्चार माध्यमले पनि आज ग्याल्पो ल्होसार भनेर समाचार प्रकाशित गरेका छन् । 

तोल, तमु, सोनाम र ग्याल्पो गरी नेपालमा विभिन्न ल्होसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ । ग्याल्पो ल्होसार नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छेटु शेर्पाले संसारभरका बौद्ध धर्मावलम्बीले तिब्बती पात्रो (दतु) लाई आधार मानेर ल्होसार मनाउने गरेको बताउनुभयो ।

तीन–तीन वर्षमा सोनाम र ग्याल्पो ल्होसार एकैसाथ पर्ने र यसपटक पनि दुवै ल्होसार एकैदिन मनाइएको बताउनुभयो । दशैँ, तिहारजस्ता पर्व सधैँ एकै महिनामा नपर्ने, कहिले एउटै महिनामा पनि पर्ने भएजस्तै ल्होसार मनाउने तिथिमिति पनि फरक पर्ने उहाँको भनाइ छ ।

तर, नेपाल पञ्चाङग निर्णायक समितिले ग्याल्पो ल्होसारमा पटक–पटक समस्या आउने गरेको तर्क गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङगेलले चीनको पात्रो या तिब्बती पात्रोलाई आधार मानेर पर्व मान्दा समस्या आएको बताउनुभयो । हरेक २-३ वर्षमा यो समस्या दोहोरिने गरेको भन्दै उहाँले पात्रोमा गल्ती भए सच्चाउन सकिने तर बेलैमा जानकारी गराउनुपर्ने बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • मुकेश लामा

    March 7, 2019, 2:15 p.m.

    २०७५ सालको ज्येष्ठ महिनामा २ वटा प्रतिपदा परेको थियो २ गते र ३१ गते । यसो हुँदा असार महिनाको प्रतिप्रदा ज्येष्ठमा पर्यो साउनको असारमा पर्यो । एवं रितले यस वर्षको माघ शुक्ल प्रतिप्रदा पुसमा पर्यो फागुणनको माघमा पर्यो यस कारणले सामान्यत फागुनमा मनाइने ग्याल्पो लोसार माघ महिनामा मनाइयो । नियम अनुसारले माघमा मनाइने सोनाम लोसार पुसमा मनाइनु पर्ने थियो तर त्यसो गरिएन । २०७५ सालको ज्येष्ठ महिनामा २ वटा प्रतिपदा परेको कुरालाई हेक्का नराख्दा राष्ट्रपति प्रधान मन्त्री सबै कार्यालयहरू झुक्किन पुगे । राष्ट्रपति प्रधान मन्त्री कार्यलयले सम्बन्धित विषयको विज्ञ नराख्दा यस्तो गल्ति पटक पटक दोहोरिने गरेको ंछ जुन लज्जास्पद र हास्यास्पद पनि हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया