अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद मल्ल प्रहरीको सम्पर्कमा

 फागुन २४, २०७५ शुक्रबार १६:२७:४ | डीबी बिष्ट
unn.prixa.net

फाइल फाेटाे

बझाङ – नचिनेका मान्छेको समूहको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आउनु भएको छ । 

बझाङका प्रहरी नायव उपरीक्षक प्रविण धितालले प्रदेश सांसद मल्ल अहिले आफूहरुको सम्पर्कमा आएको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको बताइएको छ । शुक्रबार बिहान सांसद देवकी मल्लको सैसुबाट अपहरण भएको थियो ।

केही दिन अघि मात्रै विप्लव समर्थक अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनमा राज्यले अवरोध पुर्याएको, महिला सांसद भएर पनि निर्मला हत्या प्रकरणमा आवाज नउठाएको र नेकपाकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई गिरफ्तार गरेको र उनलाई तत्काल रिहाइ गर्नु पर्ने भन्दै सांसद मल्ललाई अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ । 

तर सांसद मल्ललाई कसले र किन अपहरण गर्यो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको  प्रहरी नायव उपरीक्षक धितालले बताउनुभयो । 

मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा उहाँ अपहरणमा पर्नु भएको हो । 

मल्ल बझाङ (ख) बाट गएको प्रदेशसभा चुनावमा तत्कालीन माओवादीबाट विजयी भएकी हुनु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया