नागरिकका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्रीसँग नियमित छलफल भइरहेकाे छ : अध्यक्ष दाहाल

 फागुन २८, २०७५ मंगलबार ६:४९:४४ | रासस

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नागरिकका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग नियमित छलफल भइरहेको बताउनुभएको छ । राष्ट्रिय कृषि आयोगले साेमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उहाँले विकासका काममा प्राथमिकता छुट्याएर गर्नका लागि छलफल भइरहेको बताउनुभएको हो । 

सरकार गठनको पहिलो वर्षमा कतिपय महत्वपूर्ण काम भएको उहाँले औँलाउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवातसँगै संविधानको कार्यान्वयनका लागि विभिन्न कानून निर्माण र छिमेकीसँगको सम्बन्ध सुधारका काम यो एक वर्षमा भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सरकारले किसानका जीवनमा प्रत्यक्ष असर गर्ने के भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेको छ । उहाँले भन्नुभयो, “आगामी बजेटमा जनताका गुनासो सम्बोधन गरेर अघि बढ्न छलफल भइरहेको छ ।” 

प्रधानमन्त्री ओलीले सरकारले कृषि क्षेत्रका सुधारका लागि सबैभन्दा पहिले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँलाउनुभयो । शिक्षामा आमूल परिवर्तनले मात्रै कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि र रोजगारी बढ्ने उहाँले बताउनुभयो । 

सरकारले शिक्षा, विज्ञान र प्रविधिका क्षेत्रमार्फत कृषिको विकास गर्न सक्छ । उहाँले भन्नुभयो, “कृषिमा आधारित उद्योगले मात्रै आर्थिक विकास सम्भव छ ।” पूर्वमन्त्री हरिबोल गजुरेलले कृषिलाई कसरी सम्मानित पेशाका रुपमा स्थापित गर्ने चुनौतीका रुपमा रहेको औँलाउनुभयो । 

पूर्वमन्त्री गणेश साहले एउटा किसानको आम्दानी बढ्दा त्यसको बहुआयामिक प्रभाव परिवार र समुदायमा पर्ने बताउनुभयोे । पूर्वमन्त्री हरिप्रसाद पराजुलीले खाद्य सुरक्षा किसानको अधिकारसँगै उपभोक्ताको अधिकारसँग जोडिएको बताउनुभयो । 

पूर्वमन्त्री शान्ता मानवीले निजामती कर्मचारी राजनीतिक परिवर्तनसँगै बदलिन खाँचो रहेकामा जोड दिनुभयोे । आयोगका अध्यक्ष चित्रबहादुर केसीले आयोगले खाद्य सम्प्रभूता र किसान अधिकारको विषयमा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्नका लागि सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा ११ देशका झण्डै २०० सहभागी रहेको आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया