एर्दोआन दोस्रो पटक टर्कीको राष्ट्रपतिमा निर्वाचित

 असार ११, २०७५ सोमबार १४:२७:५ | एजेन्सी

रेजेप तय्यीप एर्दोआन टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको पहिलो चरणमा ने एर्दोआन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

टर्कीकाे सरकारी सञ्चारमाध्यमका अनुसार ९९ प्रतिशत मतगणना भैसकेको छ । जसमध्ये ५३ प्रतिशत मत एर्दोआनले प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत प्राप्त गरेका छन् । 

टर्कीमा राष्ट्रपति तथा संसदीय चुनाव एकैपटक भएको थियो । चुनावको अन्तिम नतिजा शुक्रबार घोषणा हुनेछ ।  विपक्षी दलले आधिकारिक रुपमा हार स्वीकार नगरे पनि आफूले लोकतन्त्रका लागि लडाईँ जारी राख्ने बताएको छ । 

राष्ट्रपति एर्दोआनले यसपल्ट समय आउनुभन्दा पहिले नै चुनाव गराएका हुन् । टर्कीमा लगत्तै नयाँ संविधान लागू हुँदैछ जसले राष्ट्रपतिलाई अधिकारसम्पन्न बनाएको छ । आलोचकहरुले यसले टर्कीमा लोकतन्त्र कमजोर हुने बताएका छन् । 

एर्दोआन सन् २०१४ मा टर्कीको राष्ट्रपति बन्नुभन्दा पहिले ११ वर्ष टर्कीको प्रधानमन्त्री बनेका थिए । 

नयाँ राजनैतिक व्यवस्थामा टर्कीमा प्रधानमन्त्रीको पद कायम रहने छैन । बीबीसी संवाददाता मार्क लोवेनका अनुसार रणनीतिक रुपमा निकै नै महत्वपूर्ण मानिएको देश टर्की हालका केही वर्षमा राजनीतिक रुपमा निकै नै विभाजित भएको बताएका छन् । साथै एर्दोआनले पनि चुनावमा कडा प्रतिस्पर्धा गर्नु परेको उनले बताएका छन् । आधुनिक टर्कीका संस्थापक कमाल अतातुर्कपछि एर्दोआन टर्कीका सबैभन्दा शक्तिशाली नेताका रुपमा उदाएका छन् । 

राष्ट्रपति पदका लागि ६ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । कुनै पनि उम्मेदवारले आधाभन्दा बढी अर्थात ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको अवस्थामा सिधै राष्ट्रपति बन्ने थिए । यदि कसैले पनि ५० प्रतिशत मत हासिल नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनः चुनाव हुने थियो । साथै ६०० सदस्य रहने संसदमा राष्ट्रपति एर्दोआनको सत्ताधारी पार्टी एकेपीलाई विपक्षी गठबन्धनले कडा टक्कर दिएको थियो । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया