सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न कठिनाइ

 फागुन २८, २०७५ मंगलबार २२:७:२७ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ  - योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न कठिनाइ देखिएको छ । 

नयाँ युगको सुरुवात भन्दै घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनमा भने कठिनाइ देखिएको हो । गएकाे मंसिर ११ गते तामझामका साथ घोषणा गरिएको कार्यक्रममा सूचीकृत हुन रोजगारदाताले अनिच्छा देखाएपछि कार्यान्वयनमा कठिनाइ देखिएको हो । अहिलेसम्म देशभरिबाट जम्मा २ हजार १ सय ३० रोजगारदाता मात्रै सूचीकृत भएका छन् । यसमा सबैभन्दा बढी प्रदेश नम्बर ३ को काठमाण्डौ उपत्यकाबाट मात्रै एक हजार ६ सय २९ रोजगारदाता सूचीकृत भएका छन् । 

काठमाण्डौ उपत्यकामा कम्तीमा पनि ५० हजार भन्दा बढी रोजगारदाताहरु रहे पनि कार्यक्रममा दर्ता न्यून भएपछि कार्यान्वयन प्रकृया जटिल देखिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रम जसरी पनि कार्यान्वयनमा लैजाने भन्दै त्यसका लागि कसैले शंका नगर्न आग्रह गर्नुभयो । 

कार्यक्रम कार्यान्वयनमा जटिलता देखिएपछि मन्त्रालयले कार्यान्वयन सहजीकरणका लागि समिति गठन गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी रोजगारदाता र श्रमिकले एक अर्काका कारण योजना कार्यान्वयनमा समस्या आएको भनेर आरोप प्रत्यारोप गरेपछि समस्या समाधान गर्न सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि संयोजक रहने समितिमा बोर्डका एक जना, रोजगारदाता र श्रमिकका तर्फबाट विभिन्न ट्रेड युनियनमध्येका ३-३ जना, संचयकोषका एक जना र १ जना विज्ञ गरी ११ जना रहनेछन् । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया