साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउने नेपालको यस्तो योजना

 चैत २, २०७५ शनिबार ९:१२:५३ | सुमन तिमल्सिना
unn.prixa.net

तस्बिर - एन्फा

मोरङ – विराटनगरको शहीद रंगशालामा  नेपाली महिला खेलाडीहरु शनिबार हुने बंगलादेशसँगको खेलको पूर्व तयारीमा थिए । गुरुले खेलाडीलाई  सिकाउँदै थिए भने खेलाडीहरु उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै  गरेका देखिन्थे । 

नेपाली महिला टिमकी क्याप्टेन निरु थापा प्रशिक्षकले सिकाएअनुसारको खेल प्रदर्शन गरेर समूह विजेता  बन्दै सेमिफाइनलमा पुग्ने आशामा छिन् ।  बंगलादेशको खेल पनि राम्रो रहेकोले  उनीहरुसँग केही टेक्निकल रुपमा खेल्नु पर्ने अवस्था रहेको उनले बताइन् ।

नेपाली महिला टिमकी क्याप्टेन बंगलादेशको भन्दा नेपाली टिम राम्रो भएकोले सहजै जित हात लाग्नेमा ढुक्क छिन् । भुटानसँग खेलेको भन्दा  केही डराएर खेल्नु पर्ने अवस्था भने रहेको नेपाली टोलीको भनाइ छ । नेपाली टोलीमा देखिएको आक्रमण र डिपफेन्सलाई ध्यान दिएर खेल्नु पर्ने  निरु बताउँछिन् ।  भुटानसँगको केही त्रुटीलाई औल्याउँदैतयारीमा रहेको नेपाली महिला टोली बंगलादेशलाई हराउने दाउमा छ ।

बंगलादेशसँगको खेलको लागि नेपाली टिम पूर्ण तयारी अवस्थामा छ । जितका लागि खेल खेल्ने भएकोले बंगलादेशसँगको खेलमा  क्लिन चिट लिएर निस्कने दाउमा नेपाली प्रशिक्षक हरि खड्का छन् ।  भुटानसँग केही समस्या भएको महसुस गरेका नेपाली कोेच  बंगलादेशसँगको खेल आक्रामक खेलाउने दाउमा छन् । प्रशिक्षक खड्का  बंगलादेशलाई जितेर समूह विजेता हुँदै सेमिफाइनलमा पुग्ने दाबी गर्छन् । ‘बंगलादेश, भारत र नेपाल दक्षिण एसियामा  स्थापित टिम हुन्’, खड्काले भने, ‘बंगलादेशभन्दा बलियो टोली नेपाल हो, हामी निश्चित जित्छौँ ।’  

भुटानसँग पहिलो खेल जितेको नेपालले  भुटानलाई नै हराएको बंगलादेशसँग खेल्दैछ ।  दुवै देशले भुटानलाई हराएकोले दुवै देशले कुन खेलाडी कस्तो भनेर आँकलन गरिसकेका छन्  ।  भुटानलाई हराएर आएको बंगलादेशको खेललाई हेरेर नेपालले योजना बनाइसकेको छ  ।  बंगलादेशका केही खेलाडीलाई नेपालले राम्रा खेलाडीका रुपमा लिएकोले केही योजना परिवर्तन गर्ने सोचमा नेपाली कोच छन्  ।

अहिलेसम्म देखाएको खेलहरुबाट स्ट्राइकरमा नेपाल  दक्षिण एसियामै  राम्रो रहेकोले स्ट्राइकरले आफ्नो क्वालिटीअनुसार खेल्ने आशा गरिएको छ

यस्तो छ इतिहास

बंगलादेशबाट सुरु भएको साफको पाँचौँ संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुई पटक भेट भएको छ । जसमा गोर्खाली टोलीले बंगाल टाइगरलाई दुवैपटक हराउन सफल भएको छ ।

फिफा महिला वरीयताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कुल १६ वटा खेलमा सहभागिता जनाएको छ । जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ । त्यसैगरी, नेपाली टोलीले कुल २० खेलमा १६ मा जित र ४ मा हार व्यहोरेको छ ।

त्यसैगरी नेपालले पछिल्लो पाँचवटा अन्तर्राष्ट्रिय खेलमा ३ मा जित २ मा हार व्यहोरेको छ । नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३–०, भारतलाई २–१ र साफमा भुटानलाई तीन–शून्यले पराजित गरेको छ ।

त्यसैगरी, वुमन्स गोल्डकपमै म्यानमारसँग भने पहिलो खेलमा ३–० र फाइनलमा भने ३–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी बंगलादेशले पछिल्लो पाँच अन्तर्राष्ट्रिय खेलमा ३ मा जित र २ मा हार व्यहोरेको छ।

निरु र सावित्राको भर

नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ । ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकी छिन् । 

त्यसैगरी, टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारी पनि महत्वपूर्ण हतियारका रुपमा रहनेछिन्। भण्डारीले अन्तर्राष्ट्रिय खेलमा २६ क्याप जितेकी छिन् भने टोलीमै सर्वाधिक २५ गोल गरेकी छिन् । त्यसैगरी नेपाली टोलीमा युवा गोलकिपर अन्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्नेछ । पहिलो रोजाइकी किपर तुम्बाफोले १६ क्याप जितेकी छिन् ।

विराटनगरको शहीद रंगशालामा दिउँसो ३ बजेबाट नेपाल र बंगलादेशबीचको खेल सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया