च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – वसन्त ऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढेको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिने यो याममा साहसिक पर्यटनका गतिविधि बढी हुन्छन् । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।
त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । यतिखेर धेरै सङ्ख्यामा आरोही पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । औषत आरोही सगरमाथा नै रोज्छन् ।
अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्य चुम्ने तर्खरमा छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेराझैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ ।
पर्यटकीय मौसम शुरु भएसँगै धेरै आरोहीको चहलपहल बढेको ट्रेकिङ् एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले बताउनुभयो । उहाँले पर्यटन उद्योगलाई थप गति दिन सरकार र निजी क्षेत्रले राष्ट्रिय सङ्कल्पका साथ रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो । टानका अनुसार पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव कुलबहादुर गुरुङले अनुकूल मौसम भएकाले वसन्त ऋतुमा साहसिक पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो । उहाँले विगतको तुलनामा यस वर्षको वसन्त ऋतुमा मौसमको अनुकूलताले आरोहण राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म १५ भन्दा बढी आरोहण समूहले सगरमाथालगायत हिमाल आरोहण अनुमतिका लागि निवेदन दिएका छन् । वैशाखसम्म आरोही दलले दर्ता गराउने भएकाले यसपटक आरोही सङ्ख्या बढ्ने विभागको अनुमान छ ।
विभागका निर्देशक मीरा आचार्यले पर्वतारोहणका लागि मुख्य याम भएकाले अहिले धमाधम आरोही आउन थालेका बताउनुभयो । आरोहणका प्राप्त निवेदनमध्ये आइतबारदेखि आरोहण अनुमति दिन शुरु गरिने र दैनिक पाँचदेखि सात समूहलाई अनुमति दिइने निर्देशक आचार्यको भनाइ छ ।
विभागकै पर्वतारोहण शाखाको विवरणमा सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहण योग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।
एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रूपमा मात्रै पाँच हजारको हाराहारीमा आरोहण गरेका छन् । सबैभन्दा बढी आपा शेर्पाले २१ पटक र कामीरिता शेर्पाले २२ पटक सगरमाथा आरोहणको रेकर्ड छ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले पर्यटकीय याम शुरु भएसँगै उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का महासचिव भवि शर्माले मुख्य पर्यटकीय सिजन शुरु भएसँगै ठमेल, वसन्तपुर, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लिएको बताउनुभयो । “स्वभाविक रुपले यो सिजनमा धेरै पर्यटक आउँछन् अहिले ठमेलका सडक गल्लीमा पर्यटकको भीड लागेको छ”, उहाँले भन्नुभयो ।
नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन् । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बु, लाङ्टाङ र मनास्लु क्षेत्रमा धेरै सङ्ख्यामा पर्यटक जान्छन् । पर्यटन विभागका अनुसार तीन हजार ५४५ ट्राभल र दुई हजार ६७५ टे«किङ कम्पनी दर्ता छन् ।
होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले ६० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । सामान्य अवस्थामा यो याममा ८० प्रतिशत होटल बुकिङ हुने गरेका थिए । हानका महासचिव विनय शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप छ ।
हानका अनुसार मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुअरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औषत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।