मेस्सीको तुलना मुसासँग, यस्तो छ इतिहास

 असार १२, २०७५ मंगलबार १९:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसल्याण्डविरुद्धको शानदार जितमा नाइजेरियाका लागि २ गोल गरेका मुसा आफूलाई मेस्सीसँग तुलना गर्छन् ।

आइसल्याण्डविरुद्धको खेलमा जस्तै लय अर्जेन्टिनाविरुद्ध पनि देखाउने अपेक्षा गरिन्छ । मुसाका लागि पनि यो प्रमाणित गर्ने समय हो । सन् २०१४ मा अर्जेन्टिनाविरुद्ध २ गोल गरेका मुसाले आफूलाई अर्जेन्टिनाविरुद्ध खेल्न सहज हुने बताएका छन् । तर पाँच पटकका बालोन दो’र अवार्ड विजेता मेस्सीलाई रोक्नु मुसाका लागि ठूलो चुनौती हुनेछ । 

अब पनि नभए कहिले । पहिलो खेलमा आफैले पेनाल्टी मिस गरेर खेल बराबरीमा रोकियो, दोस्रो खेलमा गोलरक्षकको कमजोरीले डुबायो, आफूले पनि खास केही गर्न सकेनन् । बार्सिलोनाबाट दर्जनौं उपाधि दिलाउन अहम् भूमिका खेल्ने मेस्सी लगातार आकाशे सेतो रंगको जर्सीमा चुकिरहेका छन् । विश्वस्तरीय मञ्चमा उनले आफूलाई प्रमाणित गर्ने यो अन्तिम अवसर पनि हुनसक्छ ।

यस्तो छ इतिहास

–नाइजेरिया र अर्जेन्टिना अहिलेसम्म ८ पटक आमने सामने भएका छन्, जसमध्ये ४ पटक विश्वकपमै भिडेका छन् । चारै भेटमा अर्जेन्टिना विजयी भएको छ । नाइजेरिया र अर्जेन्टिना पछिल्लो पटक गएको वर्ष मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा नाइजेरियाले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो । 

– पछिल्ला ४ वटा विश्वकपमा संयोग नै भन्नुपर्छ अर्जेन्टिना र नाइजेरिया एउटै समूह चरणमा परेका छन् । सन् २००२, २०१० र २०१४ तथा २०१८ को विश्वकप प्रतियोगितामा अर्जेन्टिना र नाइजेरिया समूह चरणमै भिडेका छन् । तर यसअघिका खेलमा अर्जेन्टिनाको पक्षमा नतिजा आएको थियो । 

-सन् २००२ को विश्वकपको समूहचरणमा अर्जेन्टिनाले नाइजेरियालाई १–० ले हराएको थियो । खेलको ६३ औँ मिनेटमा अर्जेन्टिनाका लागि ग्याब्रियल बाटिस्टुटाले निर्णायक गोल गरेका थिए । 

-त्यस्तै सन् २०१० को विश्वकपमा अर्जेन्टिनाले नाइजेरियालाई १–० ले नै हराएको थियो । त्यसबेला अर्जेन्टिनाका लागि छैटौँ मिनेटमा ग्याब्रियल हिन्जले निर्णायक गोल गरेका थिए । 

-सन् २०१४ को विश्वकपमा पनि अर्जेन्टिना र नाइजेरियाको खेल निकै नै रोमाञ्चक भएको थियो । खेलको तेस्रो मिनेटमै गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेटमै अहमद मुसाले गोल गर्दै नाइजेरियाका लागि बराबरी गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । तर त्यो अग्रतालाई दोस्रो हाफ सुरु भएको दुई मिनेटमै मुसाले गोल गर्दै बराबरीमा ल्याए । तर मार्कस रोकोले ५० औँ मिनेटमा गरेको गोलले अर्जेन्टिना विजयी भयो । 

 – अर्जेन्टिना विश्वकप इतिहासमै लामो समयसम्म जितविहीन भएको छ । विश्वकपको पछिल्ला तीन खेलमा उसले १ बराबरी र २ हारको नतिजा आत्मसाथ गरेको छ ।

 – नाइजेरिया सन् १९९८ पछि पहिलो पटक विश्कपको नकआउट चरणमा पुग्ने सम्भावना छ । अर्जेन्टिनाविरुद्ध ३ अंक हासिल गरेको अवस्थामा उसले चौथो पटक नकआउट चरणमा स्थान बनाउनेछ ।

 – जारी विश्वकपमा अर्जेन्टिना सुपरस्टार लियोनल मेस्सीले १२ शट प्रहार गर्दा एक गोल पनि गर्न सकेका छैनन् ।

 – नाइजेरियाका स्ट्राइकर अहमद मुसा विश्वकपका खेलमा सबैभन्दा धेरै ४ गोल गर्ने नाइजेरियाली खेलाडी बनेका छन् । आइसल्याण्डविरुद्ध उनले २ गोल गरेका थिए ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया