वन्यजन्तुको आहरा व्यवस्थापन गर्न राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन

 चैत ११, २०७५ सोमबार १८:५३:३३ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन - चितवन राष्ट्रिय निकुञ्जले जंगलमा रहेका दुर्लभ वन्यजन्तुको आहारमा समस्या आउन नदिन घाँसे मैदान व्यवस्थापनलाई थप प्रभावकारी रुपमा गर्ने भएको छ ।

पहिलो पटक ठेक्कामा लगाएर निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको हो । पछिल्लो समय निकुञ्जमा शाकाहारी जनावर बढेका कारण घाँसे मैदान पनि बढाउनुपर्ने अवस्था देखिएको छ । शाकाहारी जनावर बढ्दै जाने र घाँसे मैदान घट्दै जाने क्रमले निकुञ्जमा रहेका वन्यजन्तुको आहारामा समस्या देखिन थालेको छ । 

निकुञ्ज स्थापनाको समयमा २० प्रतिशत घाँसे मैदान रहेकामा अहिले ९ दशमलब ६ प्रतिशत मात्र घाँसे मैदान रहेको छ । निकुञ्जभित्र ४२५ वटा घाँसे मैदान छन् । निकुञ्जको कुल १० हजार ४९७ दशमलब २ हेक्टर क्षेत्रफलमध्ये भित्री भागमा आठ हजार ९५५ दशमलब २ हेक्टर र मध्यवर्ती क्षेत्रमा एक हजार ५४१ दशमबल ९ हेक्टर रहेको छ । 

निकुञ्जले यस वर्ष करिब २०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो । निकुञ्जले पहिलो पटक ठेक्का प्रणालीवाट घाँसे मैदन व्यवस्थापन गर्न लागेको जानकारी दिँदैै उहाँले ५० हेक्टर क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न ठेक्का दिन लागेको बताउनुभयो ।

८० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन निकुञ्ज आफैले गरेको बताउदै घिमिरेले दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका संरक्षित जनावरका लागि घाँसे मैदान व्यवस्थापन गर्न लागिएको बताउनुभयो । 

विभिन्न साझेदार संस्थासँगको सहकार्यमा निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको घिमिरेले जानकारी दिनुभयो । ९५२ वर्गकिमी क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र करिब १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान रहेको छ । 

शाकाहारी जनावर बढे

चितवन राष्ट्रिय निकुञ्जभित्र शाकाहारी जनावर बढेका छन् । शाकाहारी जनाबर बढेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र आवश्यक घाँसे मैदान व्यवस्थापन चुनौती बनेको छ । निकुञ्ज भित्र घाँसे मैदान क्षेत्र घट्दै जानु र शाकाहारी जनावर बढ्दै जानुले चुनौती देखिएको थियो । निकुञ्जमा गैँडा, चित्तल, जरायोजस्ता जनावरको संख्या थपिँदै जाँदा घाँसे मैदान व्यवस्थापन गर्दै बढाउनुपर्ने देखिएको छ ।

घाँसे मैदानमा थेमेडा, नर्कट, दुबो, सिरु, काँस, कुशजस्ता घाँसका जात पाइन्छन् । हरेक वर्ष घाँस काट्ने, आगो लगाउने, घाँसे मैदानमा उम्रिएका रुखका पोथ्राहरु हटाउनेजस्ता कार्य गर्नुपर्छ । ठूलो क्षेत्रमा यी सबै काम व्यक्तिमार्फत गरिँदै आएकाले निकै खर्चिलो र समय लाग्ने गरेको छ ।

माइकेनिया झार समस्या

निकुञ्ज र आसपासमा क्षेत्रमा फैलीदै गएको माइकेनिया नामक मिचाहा प्रजातिको झारले पनि घाँसे मैदानलाई घटाउँदै आएको छ । त्यसैगरी खयर, सिमलजस्ता रुखहरु फैलिएर पनि घाँसे मैदान साँघुरिने गर्दछ । 

मुख्यगरी वन्यजन्तुको बासस्थान तथा उनीहरूको आहारामा असर गरिरहेको छ । वन्यजन्तुले खाने घाँसेमैदान समेत माइकेनिया माइक्रान्था नामको मिचाहा प्रजातिको झारले सखाप पारिरहेको छ । माइकेनिया नामको वनमारा प्रजातिको झारले रूख बिरुवामा चढेर मार्ने गरिएको छ, जसका कारण वन्यजन्तुहरू आहारा प्रजाति खोज्नका लागि बासस्थानसमेत परिवर्तन हुदै आएको छ । 

संरक्षणका लागि चुनौती मानिएको चितवन निकुञ्जको वनमारा प्रजातिको मिचाहा वनस्पति माइकेनिया माइक्रान्थालाई जैविक मलका रूपमा प्रयोग गर्न सकिने विभिन्न अनुसन्धानले देखाए पनि सफल प्रयोग हुन नसकेको घिमिरेले बताउनुभयो । 

आहारा अभावले बस्ती पस्छन् जनावर

निकुञ्जभित्र घाँसको पर्याप्त व्यवस्थापन हुन सकेको अवस्थामा एकसिङ्गे गैँडा, हरिण, जरायो लगायतका जनावर बस्ती प्रवेश गर्ने भएकाले निकुञ्जले हरेक बर्ष घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ ।

निकुञ्जभित्र राम्रो घाँसे मैदान नहुँदा जङ्गली जनावर बस्ती पस्ने समस्यासमेत देखापर्दै आएको छ । जंगलमा आहराको अभाव हुने गरेका कारण जंगली जनावर मानव वस्तीमा प्रवेश गर्ने गरेकाछन् । मानव वन्यजन्तुको द्धन्द्ध बढ्दै जानुको कारण मध्यको एक घाँसे मैदानको अभाव पनि हो । 

वन्यजन्तु संरक्षणको प्रयासले वन्यजन्तुको संख्या बढ्दै गएको तर आहराको लागि पानीका श्रोत र घाँसे मैदानको अभावका कारण वन्यजन्तु मानववस्तीमा प्रवेश गर्दछन् । जलवायु परिवर्तन, बाढीपहिरो, डढेलो र मानव अतिक्रमणले आहारामा कमी आउँदा वन्यजन्तु आहाराको खोजी गर्नेक्रममा मानव बस्ती प्रवेश गर्छन् । 

वन्यजन्तु मानववस्तीमा प्रवेश पछि हुने गरेको मानवीय क्षती र अन्य भौतीक क्षती कम गराउनका लागि पनि निकुञ्ज र आसपासका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनमा गम्भिर हुनुपर्ने सूचना अधिकारी घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया